शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

नेपालमा भाईटीका

इनेप्लिज २०७५ कार्तिक २३ गते १४:२१ मा प्रकाशित

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका नेपालमा सम्पन्न भएको छ । उक्त पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाएका छन् ।

नेपालमा भाई टीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अधिकांशले उक्त समयमा नै टीका लगाएका छन् ।

साथै टीका आज दिनभर लगाउन कुनै बाधा नरहेकोले आआफ्नो समय अनुसार पनि लगाईएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले उक्त समय उत्तम रहेको जानकारी दिएका थिए ।

नेपाल अधिराज्यभर भाई टीका मनाईएको छ भने बिश्वमा छरिएर रहेका नेपालीहरुले पनि मनाउने क्रम जारी छ । अमेरिकामा आज नोभेम्बर ९ तारिखको नेपाल कै शुभ साइत तथा अमेरिकामा कामको दिन परेकोले साँझमा पनि समय मिलाएर भाईटीका मनाउने छन् ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

प्रतिक्रिया