हियालोलो : लोप हुँदै तर आकर्षण बढ्दो

इनेप्लिज २०७५ कार्तिक २३ गते ५:१९ मा प्रकाशित

दीपावलीको भोलिपल्ट मधेसमा गाई, गोरु, बाख्रा, भैँसीलगायत घरपालुवा जनावरको लागि नयाँ वर्ष नै हुन्छ । कृषकले पशुलाई सकेसम्म राम्रो र मनपर्ने घाँस, दाना लगायतको खान्गी दिन्छन् । जीउलाई सफा गरेर मुसार्छन् । जीउभरि विभिन्न रंगका छाप लगाउँछन् वा कतिपयले हातैले रंग लगाएर जिउ रंगीविरंगी बनाउँछन् । सबै पशुको सम्पूर्ण डोरी नयाँ लगाइ दिन्छन् । सबैभन्दा बढी आदर सत्कार गोरुलाई गरिन्छ । वर्षभरि रोगबाट जोगिन विभिन्न किसिमका जडीबुटी गोरुलाई खुवाइन्छ जसलाई स्थानीय बज्जिका भाषामा पखेओ भनिन्छ ।

अँध्यारो हुन थालेपछि गाउँभन्दा बाहिर रहेको गाईलाई गाउँमा ल्याउँदा हियालोलो मनाइने चलन छ । यस अवसरमा कतै गोरु जुधाउने चलन पनि छ तर झन्डै लोप भइसकेको छ । गाईलाई गाउँमा भित्र्याउँदा गाई हिँड्ने मूल बाटोमा एक ठाउँमा गाउँका जान्नेले तुलसी रोपेर पूजा गर्दछन् । गाईको शक्ति सबै पशुभन्दा बढी हुन्छ र यस पशुमा धार्मिक क्षमता हुन्छ भन्ने जाँच्न पूजा गरिएको ठाउँमा रोपिएको तुलसीलाई कुनै गाईले कुल्चेमा कसैले पनि त्यस तुलसीलाई उखेल्न सक्दैन भन्ने लोकविश्वास रहेको छ ।
हियालोलो पनि झन्डै लोप भइसकेको छ तर रौतहटको गरुडा नपा ५ महम्मदपुरमा अझै पनि मनाइने गरिएको छ । विहीवार साँझ हजारौँ मानिसको बीचमा हियालोलो मनाइएको छ । नवयुवाहरुले निरन्तर पडाका पडकाइरहँदा हियालोलोका गाईहरु डराएर भागेकाले राम्रोसँग मनाउन नपाएको स्थानीयको गुनासो छ ।

गरुडा नगरपालिकाका मेयर इन्नु राय यादव तथा नगर शिक्षा संयोजक मौजेलाल राय यादवले संस्कृति लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै महम्मदपुरमा अझै पनि भइरहेको हियालोलोप्रति सर्वसाधारणको आकर्षण रहेकोमा खुसी व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया