शनिबार, मंसिर १ २०७५
काठमाडौं ०९:५५
वासिङटन डिसी 23:10

हर्नडन नगर परिषदमा ढकाल विजयी

इनेप्लिज २०७५ कार्तिक २२ गते १२:३३ मा प्रकाशित


भर्जिनियाको हर्नडन नगर परिषदको निर्वाचनमा नेपाली मूलका प्रदीप ढकाल विजयी हुनु भएको छ । यही नोभेम्बर ६ तारिक सम्पन्न अमेरिकाको मध्यावधि निर्वाचनमा ६ जना काउन्सील सदस्यको लागि चुनाव भएको थियो । यसमा ढकालले पाँचौं स्थान हाशिल गरी विजयी हुनु भएको हो । बार हजारभन्दा माथि मतदाता संख्या रहेको उहाँको निर्बाचन क्षेत्रमा ७ हजार ४ मत खसेको थियो । यस मध्ये ढकालले ३ हजार ८३ मत प्राप्त गर्नु भएको थियो । ६ जना परिषद सदस्यका लागि १० जना चुनावी मैदानमा थिए । यी मध्ये एसीयाली अमेरिकी मूलका ढकाल मात्र उमेदवार हुुनुहुन्थ्यो भने मतदातामा आप्रवासी समुदायबाट धेरै कम संख्या थियो । त्यसमा पनि नेपाली मूलका मतदाताको संख्या त केवल ७० जना मात्र थियो । विजेतामध्ये ढकाल बाहेक सबैले यहाँका राजनीतिक दलको समर्थन लिएका थिए भने ढकालले स्वतन्त्र हैसियतमा चुनावमा भाग लिनु भएको थियो ।

१२ बर्ष अघि नेपालको झापाबाट अमेरिका आउनु भएका ढकाल ६बर्षदेखि भर्जिनियाको हर्नडनमा स्थायी रुपमा बस्दै आउनु भएको छ । हर्नडन नगरलाई आर्थिक रुपले दीगो र सम्पन्न बनाउन आफूसँग नयाँ सोच र धारणा भएकाले मतदाताले विश्वास गरी विजयी बनाएको ढकालको भनाइ छ । उहाँले समावेसीकरण,सशक्तिकरण र बृद्धिलाई आफ्नो चुनावी सन्देश बनाउनु भएको थियो । साना ब्यावसाय प्रबद्र्धनका लागि पनि आफूसँग योजना भएको र ती योजनाहरुको बारेमा मतदातासँग छलफल गरिएको हुँदा यसको विश्वासमा आफूलाई जिताइएको ढकालको धारणा छ । यो मध्यावधि निर्वाचनमा अमेरिकी माथिल्लो सदन(सीनेट)का ३५ तल्लो सदन हाउस अफ रिप्रीजेन्टेटिभका ४ सय ३५ जना, ३६ राज्य प्रमुख(गभर्नर) र हजारौको संख्यामा स्थानीय निकायका पदाधिकारिको निर्वाचन सम्पन्न भएको छ । यस क्रममा मेरिल्याण्ड राज्यबाट नेपाली मूलका हरि भण्डारी राज्य सभासद पदमा निकै राम्रो मत ल्याएर विजयी भइसक्नु भएको छ । अमेरिकाको राजनीतिको मूल प्रवाहमा नेपाली मूलका अमेरिकीहरुको निकै सानदार विजय हुन थालेको छ । यस अघि मेरिल्याण्डको इण्डियन हेड नगरमा किरण सीटौला उपमेयरमा र भर्जिनियाको प्रीन्सवीलियमको हेमार्केट नगर परिषद सदस्यमा मधु पन्थीले विजय हासिल गर्नु भएको थियो ।

प्रतिक्रिया