शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

मध्यावधी निर्वाचन २०१८

हाउसमा डेमोक्र्याटको बहुमत अनुमान, एकसय ५० मुद्धामा जनमतसंग्रह

यादवराज जोशी २०७५ कार्तिक २१ गते ०:०० मा प्रकाशित

अमेरिकामा मंगलबार मध्यावधी निर्वाचन भैरहेको छ । मतदान गर्न अमेरिकी नागरिकको ओइरो लागेको छ । पूर्वी तटीय समयमा साँझको ७ बज्दा पनि मतदान चलिरहेको छ । यसपटक उत्साहजनक मतदान हुने अनुमान अमेरिकी मिडियाले गरेका छन् ।

यो निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभको सबै चारसय ३५ सीट, सिनेटको एकसय मध्ये ३५ सीट र ५० मध्ये ३९ राज्यका गर्भनरका लागि निर्वाचन हुदैछ । सिबिएस न्यूज ब्याटलग्राउण्ड ट्रयाकरले हाउसमा डेमोक्र्याटको बहुमत हुने प्रक्षेपण गरेको छ । डेमोक्र्याटले चारसय ३५ मा दुईसय २५ सिटमा विजय हुने अनुमान छ भने रिपव्लिकनले दुईसय १० सिटमा विजयप्राप्त गर्ने छन् । सिबिएस न्यूज ब्याटलग्राउण्ड ट्रयाकरको अनुमानमा दुवै दलको १३ सिट तलमाथि हुनसक्ने छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ डेमोक्रेटको हातमा गएपनि सिनेटमा रिपव्लिकनको बहुमत रहने छ । निर्वाचनको अन्तिम परिणामको लागि अझै केही घन्टा कुर्नु पर्नेछ ।

यो निर्वाचनमा एकसय ५० विभिन्न मुद्धामा जनमत लिने काम पनि सगै भएको छ । विभिन्न राज्यले जनचासोका विभिन्न विषयमा जनमतसंग्रह गरेका छन् । आईदाओ, नेब्रस्का र उताहका मतदाताले एर्फोडेबल हेल्थ केयर स्वास्थ्य बिमा समावेस गर्ने नगर्ने विषयमा जनमत दिदैछन् । यो प्रस्ताव पास भएमा तीनलाख २५ हजार निम्न आय हुनेले सहज स्वास्थ्य बिमा पाउनेछन् । रिपव्लिकनले यो बिमाको बिरोध गर्दै आएको छ ।

नर्थ डकोटा र मिचिगनका मतदाताले गाँजालाई मनोरञ्जनकारुपमा प्रयोग गर्न पाउने नपाउने विषयमा मतदान गर्दैछन भने उताह र मिचिगनका मतदाताले गाँजालाई औषधीकोरुपमा प्रयोग गर्ने नगर्ने विषयमा आफ्नो निर्णय दिदै छन् ।

वासिंडटन राज्यले बिवादित बन्दुक नियन्त्रण ऐनमा जनमतसंग्रह गराउदै छ । प्रस्तावित नयाँ व्यवस्था अनुसार, बन्दुक किन्न पाउने उमेर १८ वर्षबाट बढाएर २१ बनाईएको छ । यस्तै बन्दुक किन्न चाहनेले पृष्ठभुमी परिक्षणका लागि १० दिन पर्खनु पर्नेछ ।

सन फ्रानसिस्कोमा वर्षमा ५० मिलियन डलरभन्दा बढी कमाउनेमाथि थप कर लगाउने प्रस्तावमा जनमतसंग्रह हुदैछ । थप करबाट आएको पैसा घरबारविहिनमा खर्च गर्ने बताईएको छ । धनाढ्यहरुले यसको बिरोध गर्दै आएका छन् । सेल्स्फोर्सका प्रमुख कार्यकारी मार्क बेनिअफले प्रस्तावको विपक्षमा प्रचारप्रसार गर्न आठ मिलियन डलर खर्च गरेका छन् । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सी पनि प्रस्तावको विपक्षमा छन् ।

प्रतिक्रिया