दार्जिलिङपछि काठमाडौंमा लभ स्टेशन

इनेप्लिज २०७५ कार्तिक १८ गते १३:४१ मा प्रकाशित

चलचित्र लिली विलीबाट लोकप्रियता हाँसिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो चलचित्रको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सकिँदैछ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर चलचित्र चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आएको हो ।


काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतीबेला भईरहेको छ । तीहारसम्ममा काठमाडौंको छायाँकनसम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । चलचित्रको १२ आसोजबाट दर्जिलिङ देखि छायाँकन सुरु गरिएको थियो ।

‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं । अब तिहार पछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं ।’ निर्माता शाहीले भने,‘हामीले तोकेको निर्धारित ४५ दिन भित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्नेछौं ।’

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्र भित्र ‘लभ स्टेन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रसँसनीय भएको यी अभिनेताको भनाई छ ।

यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया