जलवायु परिवर्तनको प्रभाव रोक्न वैकल्पिक ऊर्जा

इनेप्लिज २०७५ कार्तिक १८ गते ११:४० मा प्रकाशित

काठमाडौँ, १७ कात्तिक : विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण वातावरणीय समस्या उत्पन्न भएको भन्दै त्यसको निराकरणका लागि स्वच्छ वैकिल्पक ऊर्जालाई बढावा दिनुपर्नेमा जोड दिइएको छ ।

पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगका कारण मानव एवं जलवायुमा समेत नकारात्मक प्रभाव परेको र त्यसले अल्पविकसित एवं तेस्रो विश्वका देशमा ठूलो प्रभाव परेकाले स्वच्छ ऊर्जा नै उपयुक्त विकल्प रहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले ‘स्वच्छ ऊर्जा सबैका लागि’ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।

जलवायु परिवर्तनको प्रभावलाई रोक्नका लागि समेत स्वच्छ वैकल्पिक ऊर्जा जरुरी रहेकाले १५औँ योजनामा त्यसलाई विशेष प्राथमिकताका साथ सम्बोधन गरिने उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा सौर्य र वायु ऊर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको र नेपालमा समेत लामो समयदेखि यस क्षेत्रमा सघन प्रयास भइरहेको ओलीको भनाइ थियो । “सङ्घीय प्रणाली अवलम्बन गरिसकेकाले नेपालमा वैकिल्पक ऊर्जाका लागि अवसर र चुनौती दुवै थपिएको छ,” ओलीले भन्नुभयो, “लगानीको मात्रा, प्रविधिको प्रयोग तथा सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट सफलता प्राप्त हुन्छ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले प्रदेश र स्थानीय तहको क्षमता विकास गर्दै वैकल्पिक ऊर्जाको प्रवद्र्धनमा सहयोग पु¥याउन लागिपर्ने बताउनुभयो । मन्त्रालयले वैशाख २५ गते सार्वजनिक गरेको श्वेतपत्रमा समेत वैकल्पिक ऊर्जालाई विशेष स्थान दिइएको, हरेक घरमा ऊर्जाको अवधारणा लागू गरिएको उहाँको भनाइ थियो । कार्बनको व्यापारबाट फाइदा लिने गरी काम गर्न सरकार लागिपरेको घिमिरेले बताउनुभयो । ग्रामीण क्षेत्रमा उज्यालोका लागि वैकल्पिक ऊर्जाको महत्वपूर्ण भूमिका रहेको र नेपालको सफल प्रयोगलाई अन्य राष्ट्रले समेत सघन रुपमा अबलम्बन गरेको उहाँले बताउनुभयो ।

बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग(डिएफआइडी)का टोलीनेता साइमन लुकासले नेपालमा वैकल्पिक ऊर्जाको क्षेत्रमा ठूलो अवसर आएको र त्यसमा आफूहरुले पनि सार्थक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ग्रामीण क्षेत्रको गरिबी निवारण, रोजगारीको खोजी तथा स्वास्थ्य र शिक्षाको प्रवद्र्धनमा समेत वैकल्पिक ऊर्जाको प्रयोग भइरहेको र नेपालले पछिल्लो समयमा गरेको विकास अनुकरणीय रहेको उहाँको भनाइ थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक साना तथा लघु आयोजनाबाट ७५ मेगावाट विद्युत् उत्पादन गरिएको र १८ प्रतिशत भूभागमा स्वच्छ ऊर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यस्तै केन्द्रले १८ लाख घरमा सुधारिएको चुलो जडान भएको र त्यसले विद्यालय तथा स्वास्थ्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको ढकालले तथ्याङ्क पेश गर्नुभयो । सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प तथा दिगो विकास लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जालाई प्रमुख साधान बनाइएको भन्दै आगामी दिनमा ग्रामीण क्षेत्रमा मात्रै नभई शहरी क्षेत्रमा समेत स्वच्छ ऊर्जा प्रवद्र्धन गरिने उहाँले बताउनुभयो । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सरकारी र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्र स्वच्छ ऊर्जाको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । कार्यक्रममा ‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’बाट नेपाल यन्त्रशाला प्रालि, एमके पेपर मिल्स र पेरुङ कालिका प्रालिलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया