अमेरिकी मध्यावधी निर्वाचन २०१८

यादवराज जोशी २०७५ कार्तिक १८ गते २:२४ मा प्रकाशित

अमेरिका मध्यावधी निर्वाचनको चहलपहलले तातेको छ । नोभेम्बर ६ मा हुने निर्वाचनमा दुई मुख्य राजनीतिक दल रिपव्लिकन र डेमोक्र्याटबीच कडा प्रतिस्पर्धा हुने पुर्वानुमान गरिएको छ । मतदातालाई आफ्नो पक्षमा तान्न दुवै दल लागेका छन् ।

हाउस अफ रिप्रिजेन्टेटीभको सबै चारसय ३५ सीट
सिनेटको एकसय मध्ये ३५ सीट
५० मध्ये ३९ राज्यका गर्भनर

अमेरिकी सञ्चारमाध्यमले मध्यावधी निर्वाचनका विभिन्न नतिजा प्रक्षेपण गरेका छन् । डेमोक्र्याट र रिपव्लिकन मध्ये कसले हाउस अफ रिप्रिजेन्टेटीभमा बहुमत ल्याउने भन्ने कुरा मिडियाबीच नै बहसको विषय बनेको छ । हाउस अफ रिप्रिजेन्टेटीभमा डेमोक्र्याटको विजयले विद्यमान अमेरिकी राजनीतिमा नै ठूलो प्रभाव पार्ने छ । यसले रिपव्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दुई वर्षमा थप चुनौति थप्नेछ ।

सर्भेक्षण वेवासाईट फाईभ थर्टी एटका अनुसार, हाउस अफ रिप्रिजेन्टिभमा डेमोक्र्याटको बहुमतको सम्भावना ८५.७ प्रतिसत छ । रिपव्लिकनको बहुमतको सम्भावना केवल १४.३ प्रतिसत छ । हाउस अफ रिप्रिजेन्टिभको ठिक उल्टो नतिजा सिनेटको हुने पुर्वानुमान छ । सिनेटका एकसय मध्ये ३५ स्थानमा भएको निर्वाचनमा रिपव्लिकनको कडा पकड रहने छ । रिपव्लिकनको बहुमतको सम्भावना ८३.७ प्रतिसत रहेको फाइभ थर्टी एटले अनुमान गरेको छ ।

यसैगरी, ३३ राज्यका गर्भनरको लागि हुने निर्वाचनमा डेमोक्र्याटले १६ राज्यमा विजयी हुने अनुमान छ ।

हाउस अफ रिप्रिजेन्टिभमा डेमोक्र्याटले जिते राष्ट्रपति ट्रम्पले ल्याउन आनकानी गरेका जलवायु परिवर्तन, बन्दुक नियन्त्रण जस्ता विधेयक हाउसबाट पास हुनेछन् । यस्तै मेक्सिको समिामा बनाउने पर्खालको काम रोकिने छ । आप्रवासी नीति लचिलो हुनेछ ।ल्याटिन अमेरिकाबाट अमेरिका पस्ने र शरण खोज्नेमाथि ट्रम्प प्रशासनले परिचालन गरेको सेना फिर्ता हुन सक्नेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यशैली र वैदेशिक नीतिको चर्को आलोचना हुदै आएको छ । मेक अमेरिका ग्रेट अगेन नाराबाट उदाएका ट्रम्प सुरुदेखि नै आप्रवासीमाथि कडारुपमा प्रस्तुत भए । कैयनपटक कार्यकारी अधिकार प्रयोग गरी आप्रवासीको जीवन कठिन बनाए । युरोपीयन युनियन, चीन, भारतसंगको व्यापारमा कर बढाए । यि कदम कमैले मन पराए । अमेरिकी मिडियामा पनि यि कार्यको चर्को आलोचना भयो ।

यति हुदाँहुदै पनि आम अमेरिकी माझ ट्रम्पको लोकप्रियता घटेको छैन । यसको कारण हो उनको बाई अमेरिकन, हायर अमेरिकन नीति । गत वर्षको तुलनामा यो वर्ष प्रतिघन्टा ज्यालामा ८३ सेन्टको वृद्धि भएको छ । यस्तै बेरोजगारी दर विगत ४९ वर्षकै कम छ । ट्रम्पको योगदानले मध्यावधी निर्वाचनमा रिपव्लिकनलाई विजयी बनाउने छ । राजनीतिज्ञ माझ ढिंड मानिएका ट्रम्पको लोकप्रियता ४० प्रतिसतको हाराहारीमा झरेको छ । यसले रिपव्लिकन पार्टीलाई ठूलो घाटा पुग्ने अनुमान गर्ने पनि छन् ।

ट्रम्पको विरोधी मानिएका वा ट्रम्पले असत्य समाचार प्रवाह गर्ने बताएका न्यूयोर्क टाईम्स, सिएनएनले हाउसमा डेमोक्र्याटको बहुमत हुने बताएका छन् । उता फक्स न्यूजले रिपव्लिकनले हाउस र सिनेट दुवैमा बहुमत ल्याउने जनाएको छ । फक्स न्यूजले ओबामा केयरको कारण मात्र डेमोक्र्याट लोकप्रिय भएको शनिबार बताएको छ ।

मंगलबार हुने मध्यवधी निर्वाचनको खुली सकेको छ । शनिबारसम्म तीन करोड अमेरिकीले भोट हाली सकेको छन् । यो निर्वाचनमा कुन पार्टीले हाउस र सिनेटमा विजय हासील गर्ला भन्ने जान्न मंगलबार सम्म कुर्नै पर्छ ।

साभारः एजेन्सीहरु

प्रतिक्रिया