शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:४५
वासिङटन डिसी 11:00

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट

इनेप्लिज २०७५ कार्तिक १७ गते ११:३८ मा प्रकाशित

गुल्मी १६ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही वर्षमा श्रम बेच्न विदेश भौतारिनु नपर्ने बताउनुभएको छ । गुल्मी मालिका गाउँपालिका–८ मरभुङ सिमलटारीस्थित स्वास्थ्यचौकी भवनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान र सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन, त्यसको व्यवस्थापन तथा कानून निर्माणलगायतका काम भएको र अबको निकास समृद्धि र विकास भएको बताउनुभयो ।

मन्त्री विष्टले देशमा धेरै योजना ठेकेदारको लापर्वाहीले अलपत्र भएको बताउँदै समयमै काम नसक्ने निर्माण व्यवसायीलाई सरकारले कानून परिवर्तन गरेर भए पनि कारवाही गर्ने धारणा व्यक्त गर्नुभयो ।

तम्घास–सिमलटारी–प्यूठान सडक र धुर्कोट सव स्टेशनको काम सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै मरभुङ सिमलटारी स्वास्थ्यचौकी जस्ता धेरै स्वास्थ्यचौकी आफ्नो क्षेत्रमा निर्माण भइरहेको बताउनुभयो । उक्त स्वास्थ्यचौकी रु दुई करोड ४२ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । यसैगरी मन्त्री विष्टले मालिका गाउँपालिका–७ घमिरस्थित स्वाथ्यचौकी भवनको पनि आजै उद्घाटन गर्नुभयो । उक्त भवन पनि रु दुई करोड ४२ लाखको लागतमा निर्माण भएको जनाइएको छ ।

प्रतिक्रिया