शुक्रबार, माघ १४ २०७८
काठमाडौं ०८:०५
वासिङटन डिसी 21:20

नेपाली साहित्यको बिकासमा महाकबि देबकोटाको अन्तर्राष्ट्रिय अभ्यास

बसन्त श्रेष्ठ २०७५ कार्तिक १६ गते १०:०७ मा प्रकाशित

पृष्ठभूमी

बहुआयामिक प्रतिभाका धनी महाकबि लक्ष्मी प्रसाद देबकोटाको भाषा तथा साहित्यको योगदानले नेपाल बाहिर नेपाली साहित्यलाई बिकास गर्ने तथा प्रबर्धन गर्नमा कस्तो भूमिका रहेकोछ भन्ने कुराको लागि यो संक्षिप्त लेख तयार गरिएको हो । यस लेखमा बिशेष गरि महाकबि देबकोटाले नेपाल बाहिर गएर बिभिन्न सम्मेलनमा बोलेका, अन्तराष्ट्रिय भाषामा लेखेका अनि देबकोटा लाई अन्तराष्ट्रिय जगतका उल्लेखनीय व्यक्तित्व हरुले कसरी मुल्यांकन गरेका थिए भन्ने कुरा यस संक्षिप्त लेखमा समाबेश गरिएका छन् । त्यसैले यो संक्षिप्त लेखको शिर्षक “नेपाली साहित्यको बिकासमा महाकबि देबकोटाको अन्तराष्ट्रिय अभ्यास” भन्ने राखेको छुं ।

देबकोटाको संक्षिप्त चिनारी

बि.स. १९६६ साल कार्तिक २७ गते लक्ष्मी जयन्तिको दिन काठमान्डूको डिल्लीबजार धोबीधारामा बुबा तिल माधब देबकोटा र मुमा अमरराज लक्ष्मी देबीको कोख बाट जन्मेका लक्ष्मी प्रसाद देबकोटाको चिनाको नाम तिर्थ माधब देबकोटा थियो  । बिए बीएल सम्मको अध्ययन गरेका देबकोटाले १९७६ सालमा दश बर्षको उमेरमानै “घनघोर दुख सागर जान भाई, नगरे घमण्ड कहिले मर्नुछ हामीलाई” भन्ने कविता कोरेको थिए ।  १६ बर्षको उमेरमा संस्कृतमा कविता कोरेका देवकोटाका १९९१ साल मंगसिर १५ गते गोरखापत्रमा प्रकाशित भएको थियो । उनको प्रथम निबन्ध “आषाढको पन्ध्र” १९९३ सालको शारदा पत्रिकामा र प्रथम कथा “मने” १९९६ सालमा शारदा पत्रिकाको ज्येष्ठ अंकमा छापिएको थियो २००२।  सालमा तिन महिनामै ५५७ पृष्ठको शाकुन्तल महाकाव्य लेखेर नेपाली भाषाको पहिलो महाकाव्य रचेर कबि लक्ष्मी प्रसाद देबकोटा महाकबि बन्न सफल भएका थिए । उनि आँशु कबि थिए उनले दश दिनमानै सुलोचना महाकाव्यको रचना गरे, एकै रातमा कुन्जिनी खण्ड काब्य र एक घण्टा बिस मिनेटमा मुखले भन्दै सार्न लगाएको बयानब्बे श्लोकको “आँशु” खण्ड काब्य लेखे | उनि सबै बर्ग, सबै जाति, सबै भाषा र सबै क्षेत्रका प्रतिनिधित्व हुने गरि आफ्नो रचना सिर्जना गर्दथे ।  जस्तै – मुनामदन काठमान्डूको पुरानो लोक संस्कृतिमा चलेको कथा लाई झ्याउरे लयमा तयार गरि सिर्जिएको रचना हो भने उनको “कुन्जिनी” खण्डकाव्यले राउटे समाजको झलक दर्शाउछ । “म्हेंदु” तामांग समाजको रचना हो भने “लुनी” शेर्पा समाजको दर्पण हो | त्यसरी नै “तिप्लिंगा” पिपा समाजको गाथा भएको खण्ड काब्य हो ।  त्यसरीनै उनी त्यस समयका प्रतिष्ठित बरिष्ठ नेपाली साहित्यकारहरुका संगम स्थल पनि थिए | जस अनुसार उनी भित्र लेखनाथ पौडेलको शाश्त्रीयता, बालकृष्ण समको दार्शनिकता, गोपाल प्रसाद रिमालको क्रान्तिकारिता, शिद्धिचरणको प्रकृतिबादिता र भवानी भिक्षुका रोमान्टिकबदिता सबै नै उनी भित्र समाहित थियो ।

देवकोटाका जीबनमा उनि के बनेनन – लेखक, वकिल, सरकारी सलाहकार, प्रतिष्ठानका सदश्य देखि लिएर मन्त्रि सम्म बन्न सफल भए | उनी परम्पराबादी बन्दै प्रगतिवादी, मार्क्सबादका समर्थक र नास्तिक पनी बने।  साहित्यका बिद्ध्या मा त उनी कबि, गीतकार, पत्रकार, समालोचक, निबन्धकार, नाटककार, उपन्यासकार, कथाकार, सम्पादक र अनुवादक पनी भए । हाल सम्म ८४ वटा कृति लेखि सकेका महाकबि देवकोटाका छ वटा महाकाव्य र ३६ वटा खण्ड काब्य छन् | त्यस मध्ये उनका अझ ४५ वटा कृति अप्रकाशित नै छन्  । यस्ता अति विलक्षण प्रतिभाका धनी महाकबि लक्ष्मी प्रसाद देबकोटाको बि सं २०१६ साल भाद्र २९ गते काठमान्डौको आर्यघाटमा ५१ बर्षको उमेरमा क्यान्सर रोग बाट असामयिक निधन भयो ।

बहुभाषी देबकोटा र उनका अंग्रेजी साहित्य

बिभिन्न तेर्ह भाषामा साहित्य रचना गर्न सक्ने र पांच वटा भाषा फरर बोल्न सक्ने खुबी भएका महाकबि देबकोटाले अंग्रेजीमा धेरै पहिला देखिनै रचना सिर्जना गरेको पाईन्छ । भाषालाई अन्तराष्ट्रिय भाषामा नलेखीकन या अनुबाद नगरिकन हाम्रो साहित्य देश वाहिर जान सक्दैन र अन्तराष्ट्रियकरण गर्न पनि सकिन्न भन्ने विश्वास भएर नै अंग्रेजीमा रचना गर्न र अनुबाद गर्न थालेको पाइन्छ । अझ भने हो भने देबकोटा लाइ अंग्रेजी भाषाको लचकता ( Flexibility) प्रति मोह नै थियो ।

२००६ साल तिर महात्मा गान्धीलाई बिषय बस्तु बनाएर ३८ र २१ वटा गरि जम्मा ५९ वटा साना साना कविता (sonnet) “Bapu and other sonnet” तयार पारेका थिए  । देबकोटाले त्यसमा गान्धी प्रति समर्पण, देशभक्ति, त्याग र सरलता दर्शाएर उच्च सम्मान देखाएकाछन्  । सत्याग्रह र अहिंसा पद्धती प्रयोग गरेर भारतलाई उपनिवेश बाट मुक्त बनाउने युगपुरुष गान्धीलाई त्यसमा बापू र महात्मा भनेर सम्बोधन गरेका छन् | तर यो सोनेट देशमा भएको त्यसबेलाको आन्दोलनले गर्दा प्रकाशित हुन् पाएन ।

बि.स.२००७ तिर देबकोटाले पृथ्बीमा आएको प्रथम पुरुषको स्वतन्त्रता लाई लिएर “Prometheus Unbound” भन्ने कविता कोरेका थिए  ।आठ आठ पंक्तिमा एक एक भर्स र साथै फ्री भर्समा त्यसको नेपालीकरण  । पङ्क्तिको पङ्क्तिमै । त्यसमा अनौठो प्रयोग थियो त्यो हो नेपालीकरण पनि आठै पंक्तिमा । अंग्रेजीमा आठ लाईन फेरी नेपालीमा आठ लाईन | अग्रेजीको जुन सुकै लाईन संग नेपालीको उही नम्बरको लाईन मिलाउनु फेरी उही रुपमा । बडो कठिनको अनि गजबको प्रयोग थियो त्यो | उस्तै मिठासपूर्ण र भाबपूर्ण सिर्जना देबकोटा बाहेक कसले पो सिर्जना गर्न सक्थे र ? यस प्रसंगलाई नेपालका बरिष्ठ समालोचक तथा मदन पुरस्कार बिजेता शंकर लामिछानेले भनेका थिए “नेपाली साहित्यमा उनको चेतना र भावार्थको कारणले गर्दा देबकोटाको जन्म असमयमै भएको थियो किनकी यो कविता तत्कालिन नेपालको लागि नभै कमसेकम २५ देखि ५० बर्ष पछिको लागि लेखिएको भनेर भनेका थिए” ।  उनको अंग्रेजी भाषाको साहित्यमा देखिएको भाषा, भाब र छन्दले त उनको त्यस भाषामा पनि असाधारण अधिकार थियो भनेर मान्नु पर्ने हुन्छ ।

नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन उनले अंग्रेजीमा मा थुप्रै रचनाहरु सिर्जना गरे | अंग्रेजी भाषामा सर्बप्रथम “शाकुन्तल” महाकाव्य अनुबाद गरिएको हो । २४ सर्ग भएको यो महाकाव्य नेपाली भाषाको एउटा अपुर्ब र अभूतपूर्ब ग्रन्थ हो  । उनका “पच्चीस प्रबन्ध संग्रह” पनि अंग्रेजीमा अनुबाद भएको कृति हो | उनका अंग्रेजीमा लेखिएको निबन्धहरूमा 1. An apology for the child eater 2. Pulling down the leg 3. The necessities of the strongly organized writers union of Nepal 4. The electrical bulb 5. Chicken birth आदि छन् | अरु कविता र गधमा छन् 1. On smoking, 2 Existence of god 3. Indian Summer cloud 4. lord Krishna र 5. God छन्  ।

त्यसपछि उनले आफ्ना दुइटा कथा, तिस भन्दा बढी कविता र त्यस समयका चर्चित बरिष्ठ साहित्यकारहरुका पचास जति कविताहरु पनि अंग्रेजीमा अनुबाद गरेका थिए  । उनका अनुवादित कविताहरु त्यस समयका “इन्द्रेणी”, “शारदा” र “प्रगति” पत्रिकामा छापिएका थिए  ।आफ्नो उपचारको क्रममा सोभियत संघमा रहदा उनले “हिमालय माथि जेट हवाई जहाजमा” भन्ने काब्य लेख्नुका साथै थुप्रै रचनाहरु रुसको पत्रपत्रिका मा छपाएका थिए  । उनका अंग्रेजीमा लेखिएका धेरै रचनाहरु प्रकाशित भएका छैनन तर जे जति प्रकाशित भएकाछन् त्यसको प्रबाह बाट थाहा पाईन्छ कि उनको त्यस भाषामा कतिको राम्रो दखल थियो भनेर ।

बि.सं. २००७ साल तिर हिन्दि भाषी कविता सम्मेलन काठमान्डूमा आयोजना भएको थियो । त्यस सम्मेलनमा महाकबि देबकोटा लाई सभापति चयन गरिएको थियो  । सो गोष्ठीमा बाचित हिन्दि भाषाका कविताहरुलाई त्यहीं नै अंग्रेजीमा अनुबाद गरि सुनाएर सबैलाई चकित बनाएका थिए | त्यस्ता सामर्थ र आँट देखाएर आफ्नो प्रतिभालाई साहित्यको बिश्व बजार सम्म पुग्ने पहुँचको द्दढता देखाएका थिए ।

सात सालको क्रान्तिले पूर्णता नपाएको र देशमा भएको कृतिम प्रजातन्त्र प्रति बितिर्ष्ण भै देशमा लोकतन्त्रको स्थापना गर्न श्रमजीबी जनताका अधिकार लाई सुनिस्चित गर्नु नै आफ्नो कर्तब्य ठानी बिभिन्न देशको भ्रमण गर्दै त्यस अनुसारको लेख रचना र भाषण मार्फत आफ्ना भनाईहरु अघि सार्न थाले ।

२०१० सालमा रोमानियाको बुखारेष्टमा सम्पन्न भएको अन्तराष्ट्रिय युबा महोत्सबको चौथो भेलामा नेपाली प्रमण्डलको नेतृत्व गरि भाग लिन जाँदा तेश्रो बिश्वका मुक्ति आन्दोलनका क्रान्तिकारीहरु संग भएको सम्पर्क बाट देबकोटाको सौन्दर्य चिन्तनको सिमित घेरालाई च्यातेर प्रगतिवादी आन्दोलनमा फड्को मार्न थप मद्दत पुगेको देखिन्छ । सो सम्मेलनको बाताबरण र घटना लाई लिएर देबकोटाले अंग्रेजीमा लेखेको कबिता लाई त्यहाको महोत्सब पत्रिकाको अघिल्लो पृष्ठमा बिशेष महत्वका साथ प्रकाशित गरेको थियो । त्यस कविताको प्रकाशनले अन्तराष्ट्रिय समुदायमा नेपालको ईज्जत र प्रतिष्ठा बढ्न गई ठुलो प्रशंसा समेत प्राप्त भएको थियो ।

त्यस भ्रमण पश्चात महाकबि देबकोटाले चेकोश्लोभाकिया, सोभियत संघ र चीनको पनि भ्रमण गरे  । चीनको भ्रमणको समयमा सांघाई रेडियो बाट भ्रमणको उद्देश्य र औचित्यको बारेमा प्रसारण गरेको उनको अत्यन्त सारगर्भित बिचारले सबैलाई प्रभावित पार्न सफल भएको थियो ।
बि.सं. २०११ सालमा भारतको नया दिल्लीमा भएको एसियाली सम्मेलनमा नेपाली मण्डलको नेतृत्व गर्दै भाग लिन जाँदा त्यस सम्मेलनमा दिएको भाषणमा आफ्नो दृष्टिकोण लाई अझ फारकिलो पार्दै आफुलाई बस्तुबादी र क्रान्तिकारीको रुपमा पेश गरेका थिए ।

आँशु कबि, बिराट कल्पनाशीलता / तिब्र र तीक्ष्ण कवित्व क्षमता / स्वछ्न्दताबादका सुत्रधार तथा प्रणेता, महाकबि देबकोटाले बि.सं. २०१३ सालमा प्रथम एशियाली लेखक सम्मेलनको नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व गरि भारतको नया दिल्लीमा भाग लिएका थिए । नया दिल्लीको बिज्ञान भवनमा भएको सो सम्मेलनमा नेपालका विशिष्ट साहित्यकारहरु केदार मान व्यथित, ईश्वर बराल, शंकर लामिछाने, भिम निधि तिवारी, भवानी भिक्षु, माधब प्रसाद घिमिरे अनि कृष्ण चन्द्र सिंह प्रधान पनि प्रतिनिधि मण्डलमा समाबेश भएका थिए ।

दोश्रो दिनको पूर्ण बैठकलाई आफ्नो सारगर्भित भाषणमा सम्बोधन गर्दै गर्दा उपश्थित भएका नया दिल्लीका तत्कालिन गभर्नर चिदम्बरम गोपालाचार्यले केहि समय देबकोटाको भाषण सुनेर पर्खनु परेको थियो । उक्त सम्बोधनमा देबकोटाले नेपाली साहित्यको बिकाशको कुरालाई मात्र नभै दक्षिण एसिया मै साहित्यको कसरि बिकास गर्न सकिन्छ भन्ने कुरा र नेपाली भाषाले भारतमा मान्यता पाउनु पर्दछ भनेर अत्यन्तै सारगर्भित मन्तब्य राखेका थिए । महाकबि देबकोटाको भाषणको मध्यमा आइपुगेका गभर्नर आफ्नो भाषणको क्रममा राजनीति लाई सौचालय र साहित्य लाई भोजनालय भन्दै देबकोटा जस्तो भाषण गर्न आफु माहिर नभएको र लामो भाषण गर्न पनि आउदैन भनी भनेका थिए ।

बि.स. २०१५ सालमा सोभियत संघको तासकंद मा सम्पन्न भएको अफ्रो एसियाली लेखक संघको सम्मेलनमा नेपालको प्रतिनिधिको प्रतिनिधित्व गरेका थिए । आफ्नो श्रीमती पनि साथै लगेका सो सम्मेलनमा सदश्यको रुपमा राष्ट्र कबि माधब प्रसाद घिमिरे पनि थिए  । महाकबि देबकोटा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदश्य भए तापनी नेपाल लेखक संघको हैसिएत ले सो सम्मेलनमा भाग लिनु परेको थियो  । सो सम्मेलनमा देबकोटाले बेजोड भाषण गरे  । उनले त्यस बखत आफ्नो भाषणमा “जुन साहित्यले समाजको अहित गर्छ त्यो जहर हो जहर, असली साहित्य होइन  । जीवनको निम्ति र विनाशको बिरुद्ध, सह अस्तित्वको निम्ति र सैनिक आक्रमणका बिरुद्ध आधुनिक मानबजातिको महान संघर्षले जागरुक जगतमा शक्तिशाली समर्थन पाउँन थालेको छ  । यस अबश्थामा साहित्य माथिल्लो बर्गको सुखको बिषय बन्न सक्तैन  । अब यो समाज र जनताको हातमा एउटा ठुलो हतियार भएकोछ” भनेर भनेका थिए  । देबकोटाले अंग्रेजी भाषामा दिएको त्यो भाषणले रसियालीहरुले मात्र नभै एसिया र अफ्रिकी महादेशका साहित्यकारहरुले समेत नेपाली साहित्यको प्रथम परिचय प्राप्त गरेका थिए भनेर भन्न सकिन्छ ।

मुनामदन डायस्पोरा को कथा

बहुआयामिक प्रतिभाका धनी महाकबि लक्ष्मी प्रसाद देबकोटा ले आज भन्दा ७५ बर्ष अघि नै आजको हाम्रो परदेशिएको जन जीबन लाई इंगित गरेझैं गरि मुनामदन रचना गरेका थिए ।  मुनामदन – काठमाण्डौ उपत्यकामा बसोबास गर्ने बाहुल्य रहेको नेवार जातीको पुरानो कथा लाई झ्याउरे लयमा लेखिएको एउटा जीवन्त कथा हो । त्यस बखत आफ्नो व्यापार ब्यबसायको प्रबर्धन र कामको लागि ल्हासा जाने प्रचलन थियो त्यहि कथालाई आधार बनाएर सिर्जना गरिएको मुनामदनले आजको नेपाली जन जीवनको देश बाहिर गई अवसर खोज्ने दुरुस्त दृष्टान्त दिएको भान हुन्छ । त्यस समय हिन्दुस्तानमा लाहुरे हुन् जाने र मलायामा गोर्खा राइफलसमा भर्ती हुन् जाने परम्पराको निरन्तरतामा र त्यसपछि जनयुद्धले आक्रान्त बनेको देशमा अशान्ति, असुरक्षा र कामको पीडाले देश छोड्नेको संख्या द्रुततर गतिमा वृद्धि भएको ईतिहास साँक्षी छ  ।

मुलुक बाहिर गै आफ्नो देशमा रेमिट्यान्स पठाउने अहिलेको बिकसित चलन र त्यस समयमा ल्हासा तिब्बत गएर सुनको बाला ल्याउने चलन समय र प्रविधिको हिसाबले नाम भिन्न भए पनी कार्यगत अबश्था एउटानै हो  । त्यसकारण अहिले देशको परिश्थितिलाई आंकलन गरि महाकबि देबकोटाले त्यस बेलामा मुना मदन रचना गरे भन्नु भन्दा पनी मुना मदनको जस्तो नेपाली जनताको दारुण अबश्था अहिले पनि उही नै छ भन्नु उपयुक्त हुन् आउछ  । यसले पनि यो प्रष्ट हुन आउछ कि कबि र लेखकहरु भविष्य द्रष्टा हुन्  । यसमा कुनै सन्देह छैन |

तासकंदको पिडा

नेपाली साहित्यलाई आधुनिक कालमा प्रवेश गराई नया आयाम थप्ने, कल्पनाको शिखर चुम्न सक्ने, सो बेलामा हेला गरिएको भनिएको झ्याउरे भाषालाई नेपाली भाषाको मुलधारमा ल्याई समाहित गराउन सक्ने महाकबि देबकोटाको बिरामी परेर रुसको तासकन्दमा उपचार गराईरहदा नेपाल सरकारबाट भएको असहयोग, पिडा र व्यथालाई पनि हामीले सम्झनु पर्ने म आबश्यक ठान्दछु  । सोभियत संघको तास्कंद सम्मेलनमा भाग लिन पुगेका देबकोटाको पहिलेनै पेटको क्यान्सरको अप्रेसन भारतको कलकत्तामा भई सकेको थियो तर त्यहि रोगले त्यहाँ पुगेपछि च्याप्दै ल्यायो र उपचारको लागि “बोत्किन्सकी” अस्पतालमा भर्ना गरिए । गम्भीर रोगी, सम्मानित महाकबि देबकोटा अस्पताल भर्ना भै उपचार गराईरहदा पनि नेपाल सरकारबाट सहयोग पाउनु पर्ने त कताहो कता उल्टो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बाट पाउने पर्ने आफ्नो तलब पनि नदिइ नौ महिना सम्म रोक्का गरिदिए  । त्यस समयमा महाकबिले जुन प्रकारको दुर्गति र बेथितिको दुर्दान्त पिडा भोग्नु पर्यो त्यो व्यथा कसैले पनि र कहिल्यै पनि भोग्न नपरोस भन्ने म चाहन्छु । पछी स्थानीय पत्रपत्रिकामा लेख छपाएर अस्पतालको रकम चुक्ता गर्नुपरेको साह्रै पीडादायी अबश्था थियो त्यो ।

देबकोटाको मुनामदन नेपाली समाजले अति मनपराएको र अत्यधिक मात्रामा बिक्रि भएको ग्रन्थ हो । यस्ता अति लोकप्रिय व्यक्तिको तासकंदको सम्मेलनमा जाँदा सरकारले जुन असहयोग गर्यो त्यो अति दुखद घटना थियो  । हामीले सर्जक लाई भन्दा सिर्जना लाई बढी महत्व दियौं र अहिले पनि दिई रहेका छौं  । सर्जक लाई जहिले पनि बेवास्ता गरिनै रह्यौं  । जति सिर्जनाको चर्चा र वास्ता हुन्छ त्यति सर्जकको हुने गर्दैन  । आखिर किन ? यदि कला र सिर्जना राष्ट्रिय सम्पदा बन्न सक्छ भने त्यो सिर्जना गर्ने सर्जक किन राष्ट्रिय सम्पदा हुन सक्दैन  । सिर्जना लाई त्यति महत्व दिन्छौ भने सर्जक लाई हामि किन बेवास्ता गर्छौं  । मेरो सम्बन्धित सबैलाई प्रश्न हो यो ? यस प्रति सम्पूर्ण सरोकार संस्था ले सोच्न जरुरि छ ।

विशिष्ट व्यक्तिहरुको नजरमा देबकोटा

पश्चिमी साहित्यको अध्ययन गरि नेपाली साहित्यलाई नबिनता प्रदान गर्ने तीन नेपाली श्रेष्ठ कविहरुमा बालकृष्ण सम, गोपाल प्रसाद रिमाल र लक्ष्मी प्रसाद देबकोटा मध्ये देबकोटा कै कवितात्मक प्रतिभा धेरै उच्च छ  । महाकबि देबकोटा लाई कुनै पनि राष्ट्रीय अन्तराष्ट्रिय लेखक तथा साहित्यकार संग तुलना गर्न सकिन्न  । उनी अतुलनीय नै हुन् । तथापी पश्चिमी कविहरु संग तुलना गर्दा विलियम वर्डस्वर्थ, जोन किट्स, शेली, कलरिज र बायरन हरु संग तुलना गर्ने गरिन्छ । उनको लेखन शैली, भावनात्मक विचार र काल्पनिक क्षमताका प्रबाह हरुलाई तिनै कविहरुको हाराहारीमा तुलना गर्ने गरिन्छ ।

भारतका विद्वान् पण्डित राहुल साकृत्यायनले देबकोटा लाई भारतका बरिष्ठ साहित्यकारहरु सुमित्रा नन्दन पन्त, जय शंकर प्रसाद र सुर्यकान्त त्रिपाठी निराला संग तुलना गर्दै “देबकोटा नेपालीका पन्त-प्रसाद -निराला तीनै हुन्, यसमा अतिशयोक्ति छैन” भनि भनेका छन् । रुसका लेखक एल. अगनिना ले भनेका छन् “देबकोटा एक निर्लिप्त पर्यबेक्षकको रुपमा मात्र नभइ आफ्नो देशको भविष्य प्रति अत्यन्तै चिन्तालु, सम्पूर्ण ग्रहको भविष्यप्रति अत्यन्तै चिन्तालु मानिसको रुपमा देखेकी थिएँ” भनेर भनेका छन् ।

कमला साँकृत्यायनले भारतको पत्रिका “धर्मयुग” मा लेखेकी छिन – महाकबि लक्ष्मी प्रसाद देबकोटा नेपालका ती साहित्यकारमध्ये हुनुहुन्थ्यो, जसको देशमा साँचो अर्थमा मुल्यांकन हुन् सकेन  । यो निश्चित छ, आफ्नो जीवनकालमा वहांको बास्तबिक मुल्यांकन हुन् सकेको भए वहाँ र वहांको देश साहित्य जगतमा बिश्वको कुनै विशिष्ट पंक्तिमा उभिने थियो ।

मानसिक रोग चिकित्सक लेफ्टिनेन्ट कर्नेल डा. बर्कले हिलले ” महाकबि देबकोटाको जन्म नेपालमा हुनु लाई भौगोलिक गलत (Geographical Error) भनी भनेका छन्” ।

नेपाली भाषाको कविता लेखेर शुरु भएको महाकबी देबकोटाको साहित्यिक यात्रा जीवनको अन्तिम पहरमा अर्थात २०१६ साल भाद्र २१ गते शान्त भवन अस्पालमा अंग्रेजी भाषामा निम्न कविता लेखेर साहित्यिक यात्रा अन्त हुन पुग्यो |
कविता यस्तो प्रकारको छ –

Promethean pain I bear
with tear on tear
yet a song of joy must I raise
My god to praise
He doth excruciate
Because I vitiate
He gave all this pain
So that I may turn to him again
Oh god ! My suffering still
fulfill they will
This suffering is a lesion
This basest metal fashion
According to thy will
they will fulfill !
So peace
Torture god’s bless
Why should I cry
Oh why ?
Father in heaven
Women may cry
But still us with thy peace
A man .

नेपालीमा अनुबाद –

बर्बरी आँशु बगाई मैले दुख सबै झेलूंला
सहिष्णु भई प्रमथसरी कष्ट सब सहुँला
खुशीको गीत तैपनि मैले गाउनुनै पर्दछ
तारिफ गर्न देवता लाई हास्नुनै पर्दछ
अत्यन्त कष्ट दिएछन उनले अनुभब हुदैछ
नभुलूंन भनी उनलाई कहिल्ये दुख यो दिदैछ
गर लौ गर मनसुवा आफ्नो पुरा हे देवता
पीडा छ शान्त मनपरी गरि लौ न लौ न अबता
पीडा यो मेरो दण्ड नै भयो जीबन पुस्तकको
निर्माण गर्ने आधारशीला भौतिक जगतको
देबको आशिष यातनाजती बोल्दिन म केहि
स्वर्गका पिता, मानब हामी कराउछौँ यही
शान्त लौ गर, गर लौ म तिम्रै शान्तिले |

निष्कर्ष र सुझावहरु

प्रत्येक बर्ष मनाइने लक्ष्मी जयन्ति कार्यक्रममा संधै हामी दुइटै कुरा दोहोर्याई रहेकाछौं  । त्यो हो देबकोटाको आर्थिक दयनियताको मार्मिकता र उनको विलक्षण प्रतिभाको गुणगान  । तर यहि कुरानै पटक पटक दोहोर्याएर समय खर्च गरिरहनु भन्दा प्रत्येक बर्ष यस जयन्ती लाई साँचो अर्थमा सदुपयोग गरि सार्थक बनाउनको लागि केहि ठोस कार्य गर्नुनै आजको आबश्यकता हो । किनकी देबकोटाले समग्र नेपालीको बिभिन्न क्षेत्रबाट जती ठुलो सेवा, त्याग र तपस्या गरे त्यसको तुलनामा त हामीले उनको ऋण कहिल्ये चुक्ता गर्न सक्तैनौ।  तर उनलाई सम्झन र उनले देखाएको बाटोमा हिड्न कमसेकम निम्न लिखित कुराहरु सम्पन्न गर्न सकिन्छ भनेर मैले सल्लाह र सुझावको रुपमा यहाँ समाबेश गर्न मनासिब ठानेकोछु ।

ति हुन् –

१. देवकोटाका अप्रकाशित कृतिहरुलाई प्रकाशित गरिनु पर्ने ।
२. देवकोटाका साथै अरु विशिष्ट साहित्यकारका कृतिहरु पनी अंग्रेजीमा अनुबाद गरिनु पर्ने ।
३. देबकोटाको जन्मघर लाई ऐतिहासिक जिर्णोद्वार गरि देबकोटा संग्रहालयमा परिबर्तन गरिनु पर्ने ।
४. देबकोटा सम्बन्धि चलचित्रको प्रचार प्रसारमा तिब्र ब्यबस्था गरिनु पर्ने ।
५. देबकोटाको गीतिकाब्य लाई गीती नाटक बनाई प्रदर्शन गरिनु पर्ने ।

अब अन्तमा

\महाकबि देवकोटाका अमुल्य बाणी “मेरो क्षुद्र बिचारमा प्राप्ति भन्दा ध्येय नै ठुलो छ, पुग्नु भन्दा आशा र खोज ठुला छन्” भन्ने मार्मिक भनाईलाई यहाँ राखी यो आलेखलाई यहीं बिट मार्ने अनुमति माग्दछु ।
धन्यबाद |

सन्दर्भसामग्री

देबकोटा शताब्दी अभिलेख – संयोजक खनुपुरुदे, प्रधान सम्पादक – उषा शेरचन त्रिमुर्ति निकेतन

नेपाली भाषा साहित्यको अन्तराष्ट्रिय विस्तार – नरेन्द्र राज प्रसाई / ईन्दिरा प्रसाईं त्रिमुर्ति निकेतन

शताब्दी – सम्पादक लेख नाथ भण्डारी, महाकबि देबकोटा शताब्दी सन्दर्भ २०७० साल

अनेक डायस्पोरामा देबकोटा – अनेसास देबकोटा जयन्ती आयोजक समिति, वाशिंगटन डी सी २०६९ साल

प्रथम अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन – भारती गौतम न्यू योर्क, अमेरिका २०६७ साल

महाकबि देबकोटा – सम्पादक भवानी घिमिरे २०५९ साल, काठमान्डू नेपाल

बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका
११/२१/२०१३

प्रतिक्रिया