चार दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी कतार प्रस्थान

इनेप्लिज २०७५ कार्तिक १२ गते ६:४१ मा प्रकाशित

काठमाडौँ, १२ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

राष्ट्रपति भण्डारीको दोस्रो कार्यकालको यो पहिलो विदेश भ्रमण हो । कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर भ्रमणमा सहभागी हुनेछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ ।

सोमबार राष्ट्रपतिसँगै कतार प्रस्थान गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत रहेका छन् । भ्रमणको बेला मंगलबार राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ ।

बैठक सकिएपछि राष्ट्रपति भण्डारीको सम्मानमा कतारका अमिरले भोजको आयोजना गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका बेला कतार फाउण्डेसनका अध्यक्ष शेख मोजा विन्ट नासिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछिन् । कतारका अन्य उच्चस्तरीय पदाधिकारीले पनि राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार ‘नेपालमा व्यापार र लगानीको अवसर’ विषयक एक अन्तरक्रिया कार्यक्रमलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । कतारमा रहँदा राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दूतावासको अवलोकन गर्नेछिन् भने त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

कतार पुगेकै दिन सोमबार दूतावासले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । राष्ट्रपतिको कतार भ्रमणका बेला नेपाल र कतारबीच भिसा र कृषिसम्बन्धी दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया