सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन : रवीन्द्र मिश्र

इनेप्लिज २०७५ कार्तिक ११ गते २२:२६ मा प्रकाशित

कास्की, ११ कार्तिक । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शक्तिशाली सरकारले पनि जनचाहना अनुरुप काम गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । पार्टीले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक मिश्रले दुईतिहाई बहुमतको अधिकार सम्पन्न शक्तिशाली सरकार अरुलाई दोष दिएर जिम्मेवारीबाट पञ्छिन नमिल्ने उहाँको तर्क छ ।

सरकार र प्रतिपक्ष दुबैले जनताका समस्याहरु समाधानमा ध्यान नदिएकाले अब जनताले वैकल्पिक शक्ति रोज्ने दावी उहाँको छ । ‘‘सरकार र प्रतिपक्षीको लाचारीपनले जनता निराश छन् । अबको विकल्प वैकल्पिक शक्ति मात्र हो,’’ मिश्रले भन्नुभयो ।

पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले जिल्लादेखि स्थानीय तहसम्म पार्टीको सङ्गठन विस्तारमा जोड दिँदै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले पर्यटनसम्बन्धी एजेण्डालाई महत्वका साथ उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । –रासस

प्रतिक्रिया