ओली स्वास्थ्यका स–साना जोखिमहरू

इनेप्लिज २०७५ कार्तिक ११ गते १४:४१ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । लामो समयदेखि मिर्गौलाको समस्या खेपीरहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सँधै खतरायुक्त रहेको चेतावनी डाक्टरहरूले दिँदै आएका छन् ।

भिडभाड र धपेडी हुने काम सहभागी नहुनका लागि उनलाई सिंगापुर, थाइल्यान्डमा उपचारका क्रममा पनि डाक्टरहरूको सुझाव थियो ।

यस्तै, फलोअप उपचारमा सहभागी विशेषज्ञहरूले पनि प्रधानमन्त्री ओलीलाई काम भन्दा आराम आवश्यक रहेको सुझाउँदै आएका छन् ।

नेकपाको चियापान कार्यक्रममा सहभागी हुन नपुगेका ओलीलाई आराममात्र होइन, सामान्य बिराम लागेका बेला थप जटिल बनाएर सताउने बिराम लाग्न दिन नहुने चिकित्सकहरू बताउँछन् ।

फङ्गल इन्फेक्सनको खतरा जहिल्यै पनि रहेका प्रधानमन्त्री ओलीलाई स–साना संक्रमणको पनि उत्तिकै जोखिम हुन्छ । कमजोर स्वास्थ्य र कठोर धपेडीका कारण उनाई समस्या देखिएको हो । यद्यपि, उनी नियमित काममा भने रोकिएका छैनन् ।

बालुवाटार स्रोतले भन्यो,‘उहाँलाई कम्तिमा एक साता आराम गर्नका लागि डाक्टरले सुझाव दिएका छन् । यस्तो अवस्थामा कुनै बैठक, सभा वा सम्मेलन र भिडभाडमा हिँड्नु स्वास्थ्यका हिसाबले उचिन नहुने सुझाव दिइएको छ ।’

चियापानमा सहभागी हुन नआउनुको कारण रुघा खोकी र ज्वरोको भाइरलको प्रभाव भनिएको थियो । त्यतिमात्र होइन ओलीको स्वास्थ्यमा यस्ता स–साना मानिने तर ठूलो प्रभाव राख्ने संक्रमणका खतरा कायम रहीरहने गरेको छ । उनलाई अघिल्लो बर्ष झाडापखाला लागेको थियो ।

मिर्गौलाको कमजोरीका कारण शरिरको प्रतिरोधात्मक क्षमतामा प्रभाव पर्ने भएकाले जुनसुकै संक्रमण चाँडो हुनसक्ने भएकाले धुलोधुवाँ, वायु चाप, ध्वनीचाप वा भिँडभाडमा प्रधानमन्त्री ओली हिँड्न हुँदैन । मिर्गौलाको समस्या कारणले नै उनको शरिरका विभिन्न अंगहरू सुन्निएका थिए ।

तर नियमित औषधि सेवन, चेकअप र शरिर स्थिर राखेका कारणले स्वास्थ्यमा चाँडो प्रतिकूलता देखिएको थिए । यसैकारण पनि उनलाई तीन महिनामा एक पटक फलोअप जाँचका लागि अस्पतालले बोलाउने गरेको छ । पछिल्लो पटक उनी ६ महिनाको अन्तरालमा अस्पताल पुगेका थिए । बालुवाटार स्रोतले भन्यो,‘अवस्था सुधार हुनसक्छ भएन भने फलोअप जाँचका लागि भए पनि विदेश जानुपर्ने हुनसक्छ ।’

प्रतिक्रिया