बडादसैँ

रणेन्द्र बराली २०७५ कार्तिक ८ गते २३:२० मा प्रकाशित

महासागरको पिँधभन्दा अझै गहिरोसँग नेपाली समाजमा जरो गाडेको कुनै पर्व छ भने हिन्दूहरूको महान् चाड मानिने बडादसैँ नै छ । बालकदेखि बृद्धसम्म, घरदेखि परदेशसम्म सबैमा वर्षको एकचोटी यो “विजया दशमी”ले हलचल मच्चाउँछ । सिङ्गो समाजमा नै खैलाबैला पार्दछ ।

दसैँका बेला कसैलाई सम्पत्तिको शान देखाउने धोको हुन्छ त कसैलाई आफूले पाएको मानसम्मान प्रदर्शन गर्ने रहर हुन्छ । कतिले आशामुखी आफन्तलाई भेटेर सन्तोष मान्छन् त कतिले दुःखजिलो गरेर किन नहोस्, नयाँ चाचा–नाना र मीठो खानाको तिर्सना मेट्छन् । कतिले टन्न मासु, जाँड खाएर शत्रुसँग मौका छोपी ईवी साध्ने काम गर्लान् । कतिले दसैँकै दिन पारेर विवाह, अन्नपासनी आदि शुभ मूहूर्त जुराउने कार्य पनि गर्दछन् । आदि इत्यादि कार्ययोजना बनाएर आ–आफ्ना कर्म–धर्म र मर्मअनुसारका आशा इच्छा पूरा गर्न सबै तम्सेका हुन्छन् । खासमा हिन्दुहरूको खुसी, सन्तुष्टि, हर्ष, र उल्लासको अर्को नाउँ हो दसैँ । प्रत्येक वर्षको आश्विन शुक्लपक्ष जमरा राख्ने औँसीदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको रौनक हुन्छ ।

देवी भागवतमा वर्णन गरिएअनुसार घटस्थापनको दिनदेखि नवमीको दिनसम्म नवदुर्गा पूजा गरिन्छ । यिनमा १. शैलपुत्री २. ब्रह्माचारिणी, ३. चन्द्रघन्टा, ४. कुष्माण्डा, ५. स्कन्दमाता, ६. कात्यायनी, ७. कालरात्री, ८. महागौरी र ९. सिद्धिदात्री यी नौ नामका नारीहरूलार्ई देशका विभिन्न शक्तिपीठहरूमा राँगा, बोका, हाँस, कुखुरा आदि र कुभिन्डो, घिरौला, काँक्रा, करेला आदि समेत नौ बस्तु काटेर पूजा गरिन्छ । घरघरै पनि नवदुर्गाको एकरूप सिंहवाहिनी भगवती, महाकाली, महासरस्वतीको पूजा पनि गरिन्छ । दशमीको दिन यिनै नवदुर्गाको शक्तिले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ, रक्तबीज आदि असुरहरूलाई परास्त गरी देवताहरुले विजय हासिल गरेको तथा अद्भूत असुर रावणमाथि विजय प्राप्त गर्न रामले नवरात्रका नौ दिनसम्म भगवती दुर्गाको आराधना गरी शक्तिसञ्चय गरेर दशमीको दिन रावणको बध गरेको उपलक्ष्यमा विजया दशमीको टीका, अक्षता, जमरा आदि लगाउने चलन गरेको बयान छ । (निर्णय सिन्धु, पृ.१२९) अक्षता भनेको क्षत नहुने, कहिल्यै नटुक्रीने मानिने हुनाले यो लगाउने चलन रहेको पाईन्छ । रातो रङलाई पराक्रमको रुपमा लिईने हुनाले यो लगाउँदा सांसरिक शत्रुबाट मुक्ति पाईने धार्मिक धारणा छ । आ–आफ्ना मान्यजनबाट यस्ता श्लोक सुनाएर विजया दशमीको टिका जमरा लगाइदिँदै आशीर्वाद प्रदान गर्ने गरिन्छ :

“आयूद्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानंच दुर्योधने ।।
सौर्यं सान्तवे, बलं हलधरे, सत्यंस्च कुन्ती सुते ।
विज्ञानं विदुरे, भवति भवतां किर्तीश्च नारायणे ।।” ? हो

यो श्लोकको सार हो– दोर्णाचार्यको छोरा अस्वत्थामा जस्तो दीर्घजीवी हुनू, दशरथको जस्तो चन्चलाश्री, राघवे (राम) को जस्तो शत्रुमास्ने शक्ति, राजा नहुषको जस्तो रजगज, हावाको जस्तो तेज गति, दुर्योधनको जस्तो सम्मान, पाण्डव पिता सन्तनु जस्तो शूरो, बलराम जस्तो बलबान, युधिष्ठिर जस्तो सत्यवादी तथा विदुर जस्तो बुद्धिमानी र नारायण जस्तो कीर्तिमानी हुनु ।

दसैँको सन्दर्भमा आद्योेपान्त केलाउन श्री दुर्गा सप्तशती (चण्डी), देवी भागवत महापुराणको ठेली उतार्नु पर्छ । अपितु सारमा सोझै भन्नुपर्दा बर्बर शासनको विरोध गर्नेलाई प्रजातन्त्र भनिने व्यवस्थामा आतङ्ककारी भनिन्छ भने पञ्चायती व्यवस्थामा उग्रवादी, राणाकालमा देशद्रोही भनिन्थ्यो र मध्ययुगीन सामन्ती समाजमा राक्षस, दैंत्य, दानव (अशुर) भनेर प्रतिकार गरिन्थ्यो । आपूmलाई देव तथा विष्णुको अवतार भन्ने तत्कालीन शासकहरूको दमनलाई प्रतिरोध गर्दै जनता जगाएर उनीहरूको चौधै भुवन थर्काइदिने र तिनका राजमा हलचल मच्चाइदिने शुम्भ, निशुम्भ, महिसासुुर लगायत विभिन्न नामका शूरवीरहरूलाई दैंत्य भनी शत्रु सावित गरिन्छ । अर्कोतर्फ “शिव शक्ति वाहिनी भगवती” भन्दै नवदुर्गा अवतारको बहानामा केही सुरवीर–सक्षम नारीहरूलाई षडयन्त्रपूर्वक उद्वेलित बनाएर रणमैदानमा उतार्दै शौर्य (देव) गनिएकाहरूले अशौर्य (दैत्य) मानिएकाहरूलाई मार्न लगाएको कामको जिम्मेवारी सिद्ध गर्न नवदुर्गा सफल भएको दिनलाई नै विजया दशमी मानिएकोे परम्परावादी इतिहासकारहरूको ठहर छ ।

धार्मिक ग्रन्थअनुसार देव र असुर बीच सयवर्ष युद्ध भयो । देवताहरूको नायक इन्द्रसमेत असुरको स्वामी महिसासुरबाट पराजीत भएर भागे । सारा स्वर्गमा रुवाबासी भयो । इन्द्र र विष्णु रुँदै ब्रह्माको बासमा गएर स्वर्ग समेत महिषासुरले कब्जा गरेको वृतान्त सुनाए । आफ्नै आसन समेत हल्लिने अवस्थाको खवर पाएपछि ब्रह्मा विण्णु र शिवको रिसले चारैतर्फ अग्नी ज्वाला निस्क्यो । त्यो अग्नी ज्वाला र सबै देवताहरू क्रोधितभएर निस्केको तेजले एकथुप्रो शक्ति देखियो त्यहि शक्तिले नारीको रूप लियो तिनै नारी दुर्गा भगवती को रूपमा प्रकट भई असुर सेनापति चिक्षुर, चामर, उद्दत, रक्तविजहरूलाई परजित गरेता पनि महिषासुरलाई मार्न नसके पछि मधुपान (मधिरापान) गरी अन्तमा महिषासुर बध गरेको वर्णन छ । (श्री दुर्गा सप्तशती (चण्डी) दोस्रो र तेस्रो अध्यय पृ १११, २१६)

सकारात्मक पक्ष :

अव आयो कुरा विजया दशमीले मानवहितका लागि के गर्छ वा के ग¥यो भन्ने कुरा । निश्चय नै यति महत्वपूर्ण मानिएको चाडका थुप्रै सकारात्मक पक्षहरू हुनु स्वभाविकै हो र केही हुने नै भयो । यसमध्ये कुनै पनि कामविशेषले परदेश भएका मानिस यो चाडको अवसरमा जन्मथलो वा मातृभूमि सम्झेर घर आउँछन् । नाता, आफन्त, छरछिमेकसँग भेटघाट हुने अवसर मिल्छ । यसले भातृभाव, मित्रभाव, सामाजिक एकता सहिष्णुताको सिर्जना र विकास गर्छ, यो एउटा पक्ष हो । अर्को कुरा, मानव जाति हर्षोल्लासित हुन, हाँस्न, रमाउँन, नाच्न, खेल्न, विविध किसिमले मनोरञ्जन गर्न चाहन्छन् । यो आवश्यकता हो र नैसर्गिक अधिकार पनि । यसो गर्न जान्ने भएर नै मानिस सबैभन्दा उच्च विकसित प्राणी सावित भएको हो । जुन तहमा रमाउन अन्य प्राणीले जान्दैनन् । त्यसकारण रमाइलो गर्नुु मानवीय आवश्यकता भएको हुनाले चाडपर्व सिर्जना गरिएकोमा रामै्र प्रथा मान्नुपर्दछ । गर्मी गइसकेको, जाडो नलागिसकेको शरद ऋतुको सुन्दर मौसम, मकै, छरुवा धान, सामा, काउनो जस्ता नयाँ अन्नबाली भित्र्याएको बेला भएका हुनाले रमाइलो मान्ने उत्तम याम आश्विन शुक्लपक्ष नै बन्यो । गरीब, मागीखाने, कंगाल नै किन नहोस्, जतिसुकै दुःख गरेर भए पनि वर्षको एकपटक राम्रो लाऊँ, मिठो खाऊँ भन्ने सोच पनि राम्रै कुरा हो । मानव जाति आ–आफ्नो संस्कृतिमा रम्ने गर्छन् । त्यो कति विज्ञानसम्मत छ, समग्रमा कति हितकर छ, कतिघातक छ भनेर तुलना गर्नु भन्दा पनि त्यसलाई परम्पराको रूपमा थेग्न चाहन्छन् सनातनीहरू । जस्तै कोतघरमा फूलपाति, बली चढाउनु, नगरा बजाउनु, ख्याली, सोरठी नाच, ढाल नाच, सराई (तरबार खेलाउने) नाच, आदि देखाउनु र यो अवसरमा असंख्य मानिस जुटेर आनन्द लिनु, लिङ्गेपिङ्ग, राँटेपिङ्ग, जाँतेपिङ्ग खेलेर रमाइलो गर्नु नेपालीपनको पहिचान पनि मान्न सकिन्छ । दसैँ पर्वका कतिपय प्रचलन निरपेक्षतामा भए पनि सकारात्मक पक्षमा नै गन्न सकिन्छ ।

दसैँ पर्वका कतिपय प्रचलन निरपेक्षतामा भए पनि सकारात्मक पक्षमा नै गन्न सकिन्छ ।

अहिले आएर नेपाली समाजमा केही बुद्धिजीवीहरूले, खासमा कम्युनिष्ट क्रान्तिकारीहरूले संस्कार सुधार र परिवर्तनका लागि केही नयाँ कदम चाल्ने चेष्टा गरेको पाइन्छ । जस्तै ः दसैंजस्ता चाडपर्वका बेला संस्कृति रूपान्तरणका विषयमा बहस चलाउने, विचारगोष्ठी राख्ने, परिवार तथा समाजका बीच छलफल गर्ने, समाजमा प्रचलित सबै संस्कृतिको निर्माण तथा संस्कारको उत्पत्ति र विकासको बारेमा प्रशिक्षण चलाउने आदि कामहरू पनि हुँदै आएका छन् । अहिले आएर समाजमा त्यसको विकास र प्रभाव राम्रै परेको छ । यो सकरात्मक पाटो हो । यसमा अझै ध्यान दिन र परिमार्जन गर्न जरुरी हुन्छ ।

नकारात्मक पक्षः

नेपालमा मनाइने अत्याधिक चाडपर्व हिन्दू धर्ममा आधारित भएका हुुनाले गंभिरतापूर्वक हेर्ने हो भने तिनमा सामन्ती शोषणको हरक ह्वास्सै आउँछ । हिन्दु धर्म अन्तरगतका पर्वहरू साच्चै भन्ने हो भने यो हिन्दुराज्य ब्यवस्थाभित्रको शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो भन्दा हुन्छ । महान चाड, बडा दसैँ, बडा मान्छे, बडा साइनो भनेर ठूलाको हातको टीका लगाउने, उनीहरूलाई भेटीकोशेली चढाउने र सभक्ति मान्नु पर्ने हुन्छ । उमेरको, योग्यताको, ज्ञानगुनको आधारमा मात्र होइन, परम्परागत मान्यताअनुसार बाहुन, पुरोहित, राजा, राष्ट्रपति, हाकिम आदि जाति, धर्म, वंश, ओहोदा लगायतको आडमा समेत ठूलोबडो मान्नुपर्ने प्रथा भएको हुनाले नै सामन्ती निरंकुशतन्त्रमा आधारित छ यो पर्व । सबैभन्दा ठूला भनेका शासक हुन्, शासकले अशीर्वाद दिने भनेको कुनै पनि हालतमा उनको दासत्व स्वीकार्न लगाउनु हो । अस्वीकार गर्नेलाई वध गर्नेसम्मको चेतावनी दिनु हो । एकपछि अर्को विजय हासिल गर्ने मार्ग प्रसस्त गर्नु हो । त्यसैले अग्रगामी परिवर्तनकारीहरूको लागि सँधैभर उही शासकको आशीर्वाद समयसापेक्षित हँुदैन । गैरआर्य तथा आर्यभित्रका पनि श्रमजीवी र निरंकुश शासनका विरोधीहरूलाई असुर भनेर हत्या, हिंसा गरेर, पराजित गरेर आफ्नो विजयको प्रतीकको रूपमा मनाइने यो पर्व जित्ने हिन्दू शासकले त माने माने, तिनै पराजित श्रमजीवी समेतले मान्नुपर्ने नीतिविधि जे छ, त्यो गम्भीर सोचनीय कुरा छ । धर्मसास्त्रकै मान्यता अनुसार भनौभने पनि पुत्रीलाई पाप नसम्झने ब्रह्मा, आमालाई साइनो नसम्झने विष्णु, बहिनीलाई बाँकि नराख्ने महादेव, दोजियाकि सितालाई बनमा खेद्ने, रावणकि बहिनी सुपर्णाखाको नाक काटिदिने र शुद्रले तपस्या गरेकोमा असह्य भएर सम्बुक ऋषीको बध गर्ने राम जस्ता देवहरू चाहिँ धार्मिक मात्र हुने, मञ्जुरी बेगर सिताको ज्यानसम्म नछुने रावण, नारीहत्या गर्न हुन्न भनेर दुर्गालाई तरवार प्रहार नगर्ने महिषासुरहरू जस्ता असुरहरू चाहिँ पापी मात्र हुने कस्तो अचम्म छ । यस्ता असोभनिय कुराको सास्त्रार्थ गर्नुपर्ने अलग्गै पाटो छ ।

अर्को कुरा, कथित इज्जतकै लागि, अरूको देखासिकीले गर्दा देखाउनका निम्ति ऋणै गरेर पनि दसैँमा तामझाम् गर्नुपर्ने वाध्यताले नेपाली समाजमा कतिका घरवास उठेका छन्, कतिले विदेशिनु परेको छ । ऋण पनि नपाएर अरूसरह दसैँको रमझम्मा रम्ने पारिवारिक आकांक्षा पूरा गर्न नसक्दा कतिले त आत्महत्या गरेको पनि वर्षेनी खवर सुन्नमा आउँछ । जनताले जवर्जजस्त बेहोर्नुपर्ने दसैँको यस्तो दशा कुनचाँहिं सज्जनको लागि मान्य होला ? तसर्थ कम्तिमा पनि दसैंका धेरै नकारात्मक पक्षलाई केलाएर पन्छाउन आवश्यक देखिन्छ ।

टीका, जमरा र जाँडको निम्ति दसैँको अवसरमा खाद्यान्नको जति विनाश गरिन्छ, त्यो कदापि मनासिप कुरा हुन सक्दैन । सानो प्रयोगको लागि हेरौँ– दसैंको टीका चामल निधारमा लगाउनको सट्टा अन्य रङ्गीन पदार्थ प्रयोग गर्ने हो भने मात्र तीन करोड नेपालीको (प्रतिव्यक्ति २० ग्रामको दरले ६०० टन चामल) करिब ५–६ करोडको खाद्यान्न जोगिन्छ । दसैंको संस्कृतिसम्बन्धी लेखमा मैले तथ्यांक समेत दिएको थिएँ, जो कि जाँडपानी तथा अस्वस्थकर पदार्थ नखाने, खाद्यान्नलाई सही सदुपयोग गर्ने, लुगा–गहनामा सरलीकरण गरेर दशैं चाड मनाउने हो भने मात्र नेपालीले एउटा दसैँमा गर्ने खर्च (प्रति व्यक्ति १० हजारका दरले पनि ३ अर्ब)

केही वर्ष अघिसम्मको हाम्रो देशको झण्डै सिंगो बार्षिक बजेटको हिस्साजतिको बचत हुने देखिन्छ । कति बेलाको सामाजिक रीतिस्थितिले कुन अवस्थाको समाजलाई ठोस प्रभाव पार्छ तथा तत्कालीन अवस्थामा त्यही नीति, प्रथाभन्दा सर्वोत्कृष्ट अर्को थिएन कि ? अथवा त्यतिबेलाको चेतनाले निर्धारण गरेका सामाजिक संस्कार त्यतिबेलाकै लागि ठीक मान्न उचित थियो कि ? यो सोचनीय कुरा हो । तर आज समाज कहाँ पुग्यो ? प्रकृतिकै कुरा गरौं भने पनि त्यस वखत (उत्तर वैदिककाल) तिर हाम्रो देशका नदीहरू कहाँबाट बग्दा हुन् ? यी नदीले छाडेका विशाल मैदानहरू थिए कि थिएनन् होला ? काठमाडौं उपत्यकाभित्र माछा थिए कि मान्छे थिए होलान् ? पहाडका पाखामा गोला ढुङ्गा, बालुवाको खानी कहाँबाट आयो, सो ठाउँमा पानी बगेको निसाना हो कि होइन त्यो ? विज्ञानसम्मत दृष्टिकोणले हेरौं । पा्रकृतिक संरचनामा त यति धेरै उथलपुथल आएछ भने सामाजिक संस्कार कति उन्नतिशील, परिवर्तनशील हुनुपर्ने हो ? हामी कहाँ छौ ? अब पनि सामाजिक संस्कार मुठ्ठीभर शासक र शोषक वर्गको स्वार्थरक्षाका पक्षमा मात्र बन्ने कि वहुसंख्यक श्रमजीवी जनता तथा आमउत्पीडित जनसमुदायको पक्षमा बन्ने ? यो कुरा सम्पूर्ण परिवर्तनकारी तप्काका लागि एवं सिँगो मानव सरोकारको टड्कारो विषय हो ।

सानो उदाहरण हेरौ, बडादशैंको टीका लगाउँदा मान्यजन्ले आशीर्वाद दिने चलन थियो – ‘तिम्रो १२ भाइ छोरा, १०० भाइ नाति होऊन्, सन्तानले डांडाकाँडा ढाकून् ।’ हो, त्यति बेला त्यो ठीक थियो । जसका भैँसी उसका बन, जसका छोरा उसका धन भनिन्थे, त्यो हुन्थ्यो पनि । सानो परिवार सुखी परिवार भनेर परिवार नियोजन गर्ने जमानामा लौ त आज त्यो आशीर्वाद लागोस् र सबैको १२ भाइ छोरा जन्मिउन् त नेपालीको कुन दशा हुन्छ ? यस्तै ‘तिम्रो गतिमति राजाकै जस्तो होस्’ भनिन्थ्यो । लौ त त्यही आशीष लागेर बिरेन्द्र राजपरिवारको २०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डको घटनाजस्तै एकै छिनमा १२ जनाको चिहान भयो भने राजाको जस्तै गति होस् भन्ने त्यो आशीष; आशीर्वाद हुन्छ कि सराप ?

भारतको कलकत्ता शहरको एउटा उदाहरण हेरौ भने, दसैँको अवसरमा अरबौंँ रूपैयाँको त माटाको मूर्तिमात्र बन्छ । दुर्गा र महिषासुर, राम र रावणको युद्धाकारको एउटा मूर्तिलाई हजारौं, लाखौंसम्म मूल्य पर्दछ, जो पूजापछि नदीमा लगेर सेलाइन्छ । यस्ता भारतीय संस्कृति नेपालमा पनि तीव्रतर रूपले घुसेका छन् र झनै उपलब्धिहीन संस्कारले घर गराउन जग खनिरहेको छ । तर यस्ता र योभन्दा सारगर्भित किसिमले विसङ्गतिलाई केलाएर कुसंस्कारलाई निस्तेज पार्दैं सुसंस्कारको सिर्जना गर्ने कसले ?

प्रगतिवादी भन्नेहरूमा पनि धेरै नकारपक्ष छन् । समाजको गाल मेट्न हो भन्दै आफूचाँहि कुसंस्कारको भुमरीमा टुप्पीसम्म डुब्ने, अनि कसको पालामा होला प्रगतिशील समाजको सिर्जना ? प्रगतिशीलको मुकुण्डो लगाएर दसैँमा टिका नलगाउने तर जाँड खाएर हिलामा मुन्टो जोत्ने, उच्च प्रगतिशील संस्कृतिको धाक लगाउने अनि बन्दी, बिरामी, घाइते, बेपत्ता, सहिदपरिवार जस्ताका नाममा आएका पैसा अनियमित गरेर हिड्ने, दाइजोरहित विवाह लेखेर, निमन्त्रणा पत्र बाँड्दै प्रगतिशील विवाहको ढ्वाङ रच्ने तर पछि खालिहात आएकी भन्दै स्वास्नी कुट्ने जस्ता जनविरोधी संस्कृति पनि भेटिन्छन् । प्रगतिशीलताको नाममा भाषण गर्नेहरूको समेत कताकति त्यस्तो पाइन्छ । यस्ता क्रियाकलापलाई प्रगतिशील होइन, अधोगतिशील भन्नैपर्ने हुन्छ । अर्को कुरा, पुरानो संस्कार छाड्न र नयाँ प्रचलन अँगाल्नको लागि जोरजबरजस्ति गर्ने, डरत्रास धाकधम्की देखाउने, प्रशासनको बलमा विकृति लाद्न खोज्ने जस्ता काम ज्यादै गलत हुन् । करकापले सामाजिक संस्कार फेर्न चाहनु साम्प्रदायिक शान्तिमा खलल पैदा गर्नु मात्र हुन्छ । सांस्कृतिक परिवर्तनका लागि चेतनामूलक प्रयत्न पहिलो प्राथमिकताको विषय हो भन्ने कुरा भुल्नु मनाशिव हुँदैन ।

हुन पर्ने :

त्यसो भए दसैँ तथा चाडपर्व कसरी मान्ने भन्ने प्रश्न उठ्दछ । मानव समाजको अनिवार्यताभित्र पर्ने कर्महरू, जन्म अघिदेखि मृत्युपछिसम्म तथा विवाह, व्रतबन्ध, मृत्युदेखि चाँडपर्वसम्मका सवै अवसरमा मानिने रूढीग्रस्त परम्पराको सट्टा सारा जनतालाई सुपाच्य हुने सहज, सुलभ र आत्मविस्वस्त एवं ठोस वैज्ञानिक विकल्प दिनुपर्ने हुन्छ, जुन कुरा वर्तमान समाजमा पनि अपरिहार्य छ । त्यसको अभाव अति नै खड्केको छ । तथापि यो बिर्सन हुन्न– लेनिनले भनेजस्तै ‘पानी गन्हाउने पुरानो घडा फोर्नैपर्दछ तर नयाँ घडा तयार पारेर मात्र ।’

तथापि यो बिर्सन हुन्न– लेनिनले भनेजस्तै ‘पानी गन्हाउने पुरानो घडा फोर्नैपर्दछ तर नयाँ घडा तयार पारेर मात्र ।’

हुन त सामन्ती जर्जर समाजभित्रै वैज्ञानिक संस्कृतिको समग्र संरचना र विकास खोज्नु बालुवामा माछा खोज्नु जस्तै हो । आमूल परिवर्तनकारी आन्दोलनबाट अलग रहेर अथवा न्यायिक उत्पादन प्रणाली र जनवादी सांस्कृतिक संरचानाको सूत्रपात नभएसम्म पूणर््ा जनसंस्कृति निर्माणको वकालत गर्नु भनेको विशाल सभामा भाषण सुन्दा घतमानेर एक्लै ताली बजाउने मान्छेको जस्तै चाल हो । आम देशवासीले अवलम्वन गर्दै आएका पर्व वा प्रथाहरूलाई त्योभन्दा प्रभावकारी रचनात्मक वा सिर्जनात्मक विकल्प नदिंँदा जनताको मन जित्न सकिँंदैन । कुनैबेला नेता गणेशमानसिंहले भने जस्तो “नेपाली जनता भेंडा हुन्” भनेर मात्र पनि भएन ।

कुनैबेला नेता गणेशमानसिंहले भने जस्तो “नेपाली जनता भेंडा हुन्” भनेर मात्र पनि भएन ।

जनतालाई सचेत बनाएर मात्राको परिवर्तनबाट गुणमा फड्को मार्ने अभियान भने चलाउनै पर्ने हुन्छ । पौराणिक कालका ऋषि–महर्षि, योगी, तपस्वीहरू एवं कतिपय राजारजौटत हरूकै कुरा गरौँ भने उनीहरू आ–आफ्नो क्षेत्रमा कति कर्मठ थिए, कति त्यागी थिए र कति कर्तव्यनिष्ठ थिए, तिनले कति वीरता साधेका थिए, त्यस बखतको चेतनाको आधारमा ती कति न्यायप्रेमी थिए, त्यो अतितलाई केलाउन जरुरी हुन्छ । गौतम बुद्धले बुद्धित्वप्राप्तिका लागि गरेको त्याग, तपस्या तथा राजगद्दी त्यागेर त्यो जमानामा संसार घुमेर गरेको संघर्ष हेरौं, वीर बलभद्र कुँवरले नालापानीको लडाइँमा देखाएको अदम्य शाहसलाई सम्झौँ । अरनिकोले ऊ जमानामा चीनको राजधानीसम्म पुगेर स्वेत चैत्य निर्माण गरेर प्रदर्शन गरेको शिल्पकलाको मिहनेतलाई मूल्याङ्कन गरौँ । हाम्रा पुर्खाले प्रकृतिसँग कठोर सँघर्ष गरेर मात्र आजको समाज यहाँसम्म आइपुगेको हो । यी आदि कुराहरूको चिन्तन र मनन गर्दै अहिले हाम्रो समाजका सवै मानिस आ–आफ्ना काम कर्तव्यमा निष्ठावान भयाँंै भने समाजका हित र अहितका कुरा केलाउन सजिलै सक्छौं र समाज फेर्ने काममा जो कोहीले पनि ठूलो योगदान पु¥याउन सकिनेछ । तर मुखले आधुनिक समाजको सिर्जना गर्ने भनेर गुड्डी हाँक्न,े व्यबहारमा भने उही पुरातन् संस्कारलाई नै छेपराको घोँचो बनाउने हो भने

त्यसको के अर्थ भयो र ?

चाडपर्वको सवालमा मूलतः कुन पर्वलाई आमजनताको चाड मान्ने ? नयाँ वर्ष, गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च), मजदुर दिवस (१ मई), जातिभेद विरुद्धको दिवस (२१ मार्च) तथा महान् मानवहरूको जन्मदिन आदिलाई प्राथमिकताका आधारमा निर्धारण गरेर राष्ट्रिय पर्व घोषणा गर्न सकिन्छ । विकल्प दिनु पर्दा राष्ट्रिय पर्व कुनै एकल जाति, धर्म, वर्गले लादेको हुनु हुँदैन । हालसम्म नेपाली समाजमा मानिने पर्वहरू प्रायः सवै हिन्दू धर्ममा आधारित छन् । यो सामन्ती शोषणमा आधारित भएकाले यसलाई विकल्पसहित त्याग्नु अनिवार्य छ । चाडको नाममा लादिएको ब्राह्माणवादको विरोध गर्दै नेपालका जनजाति समुदायले दसैँ पर्व त्याग्ने अभियानै चलाएको पनि पाइन्छ । एक हिसावले यो सकरात्मक पनि हो । तथापि सापेक्षित रूपमा विकल्पसहित सिर्जनात्मक एवं रचनात्मक किसिमले परम्परा त्याग्न जरुरी हुन्छ ।

प्रतिक्रिया