नेकपाको नाम विवाद : बिहीबार पनि निर्णय भएन, शुक्रबार थप छलफल गरिने

इनेप्लिज २०७५ कार्तिक ८ गते १३:५५ मा प्रकाशित

काठमाडौँ, ८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको विवादबारे निर्वाचन आयोगले बिहीबार पनि निर्णय गर्न सकेन ।

विवाद समाधानबारे शुक्रबार थप छलफल गरी नेकपाको नामबारे आयोगले निकास आयोगको तयारी छ । बिहीबार बसेको बैठकमा नामका विषयमा विद्यमान कानुनी व्यवस्थाको बारेमा मात्र छलफल भएकाले निष्कर्ष निकाल्न नसकिएको आयोग स्रोतले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको नामका बारेमा बुधबार सम्बन्धित दलबीच भएको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भनिएको थियो ।

यसअघि नै नेकपाको नाममा पार्टी भएकाले सोही नाममा पुनः दिदा विवाद आउनसक्ने र सर्वोच्च अदालतसम्म विवाद जाने भएकाले विचार गरेर निर्णय गर्ने कुरा पदाधिकारी छलफलमा आएकाले शुक्रबारलाई सारिएको आयुक्त ईश्वरी पौडेलले बताए ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठन भई आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगले बुधबार छलफल गरेको थियो ।

नामको बारेमा अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया