पुनर्मिलनको प्रेरक सत्य कथा

इनेप्लिज २०७५ कार्तिक ८ गते १०:४२ मा प्रकाशित

हरेक मनुष्यलाई उसको कर्म अनुसारको फल प्राप्त हुने गर्छ भन्ने हाम्रो आम मान्यता रहने गरेको छ। यो कुरालाई विभिन्न धर्म ग्रन्थहरुमा पनि उल्लेख गरेको हामीले पाएका छौँ। तर मनुष्यलाई कर्म गर्नका लागि के ले प्रेरित गर्छ भन्ने कुरा भने निक्कै महत्वपूर्ण छ। सामान्यतया मनुष्य भित्र उत्पन्न हुने सोच र त्यस सोच अनुरुप उसले लिने निर्णयले नै उसलाई कुनै कर्म गर्नका लागि प्रेरित गरिराखेको हुन्छ। यसको अर्थ मनुष्यलाई प्राप्त हुने कर्मफल अथवा मनुष्यको भाग्य उसको सोच (मनको स्थिति) र उसले लिने निर्णय संग जोडीएको हुने रहेछ भनेर बुझ्न हामीलाई कठिन भएन।

यो लेखमा यस्तै बिषय संग जोडीएको एउटा सत्य घटना यहाँहरु संग तल शेयर गर्दै छु। यो घटनाले हाम्रो जीवनका विभिन्न मोडहरुमा हामीलाई नयाँ ढंगले सोच्न र प्रस्तुत हुन सहयोग पुर्याउने मैले आशा गरेको छु। (स्रोत ‘वान इकुएसन टु मेनेज योर फीलिङ्स’ मोटिभेसनल टकिङ प्रोग्राम)।

एक नव विवाहित जोडी अत्यन्त रमाइलो संग जीवन बिताइ राखेका हुन्छन्। विवाह भएको छ महिना सम्म उनिहरुको जीवन उत्तिकै रमाइलो र आनन्दका साथ बितिराखेको हुन्छ। तर उनिहरु बिचको यो खुशी धेरै लामो समय सम्म भने टिक्न सक्दैन। छ महिना बितेको लगत्तै आफ्ना पतिको अफिसमा कुनै विदेशी महिला संग अफेर रहेको कुरा पत्नीले थाहा पाउछिन्। यो थाहापाए संगै उनले आफ्नो पतिलाई ति महिला संगको सम्बन्ध बाट टाढा रहनको लागि सम्झाउने बुझाउने अनेकौं प्रयास गर्छिन तर उनको केही चल्दैन। बरु पतिले आफु ति महिला संगको सम्बन्ध बाट अलग्गिन नसक्ने आफ्नो स्पष्ट धारणा सुनाउछन्।

पतिको यस्तो कुराले उनी एक्दमै आहात हुन्छिन्। यो अवस्थामा उनी आफ्नो आमाबाबु भएकोमा फर्किएर जाने कुरा पनि सोच्न सक्दिन किनकी उनका आमाबाबुले यो कुरालाई सहन गर्न सक्दैनन् भन्ने कुराको उनलाई राम्रो संग ज्ञान थियो। पतिको यस्तो ब्यवहारले गर्दा उनी दुस्ख, पीडा र तिरस्कारको अनुभुतिले दिन प्रतिदिन पूर्णतया निराश बन्दै गएकी हून्छिन्। अब कस्का र केका लागि बाँच्ने? उनका सामु जीवन जिउने कुनै पनि आधार देखिदैन। अन्तत एक दिन उनले आफ्नै घरको छत बाट हाङ्फालेर आफ्नो जीवननै समाप्त पार्ने निर्णय गर्छिन् र घरको छतमा पुग्छिन। हाङ्फाल्ने उदेश्यले छतमा अघी बढ्दै जादा उनका नजरहरु आफ्नो घर बाट अलिक पर रहेको एउटा योग सेन्टरको भवनमा ठोक्किन पूग्छन्।

त्यो योग सेन्टरको भवन देखे संगै उनका कदम केही समयका लागि त्यही रोकिन पुग्छन्। उनलाई त्यो योग सेन्टरमा रहने गरेका आध्यात्मिक गुरुको सम्झना आउछ। ति गुरुले त्यहा जीवन जिउने कलाका बिषयमा पनि चर्चा गर्ने गरेको उनले सुनेकी हुन्छिन्। यि गुरुको सम्झना संगै, उनले आफ्नो दिमागमा उत्पन्न भएको जीवननै समाप्त पार्ने सोचलाई केही समयका लागि भए पनि परिवर्तन गर्छिन र एकपटक गुरुसंग आफ्नो समस्याका बारेमा परामर्श गर्ने सोच बानाउछिन्।

(अहिले सम्मको स्थितिको समिक्षाः पति आफ्नो पत्नी बाट अथाह प्रेम पाइराखेको अवस्थामा पनि उनी देखि टाढा जान खोजी राखेको छ। उता पत्नी आफ्नो पतिको यस्तो वास्तविकताको बारेमा थाहा पाए संगै अनेकौँ भय, पीढा र तिरस्कार बाट ग्रसित छिन् जसका कारणले गर्दा उनी भित्र सकारात्मक नभएर नाकारात्मक ऊर्जा रेडिएट हुन थालेको अवस्था छ। उनको यो व्यवहारले पहिले बाट नै टाढिन खोज्दै गरेको उनका पतिका लागि अझ टाढा जाने थप बहाना मिलेको छ। यो अवस्थामा यहाँहरुलाई कस्तो लाग्छ, के यि महिलाका लागि अरुकुनै विकल्प हुन सक्ला? जसले उनको जीवनमा उत्पन्न परिस्थितिमा कुनै सुखद परिवर्तन ल्याउन सकोस्। के यो सम्भव छ होला?)

खैर, भोली पल्ट आफ्ना पती अफिस गए संगै उनी पनि आध्यात्मिक गुरुलाई भेट्नका लागि योग सेन्टरमा पुग्छिन् र आफ्ना सबै कुराहरु सुनाउछिन्। ति महिलाका सबै कुरा सुने पश्चात गुरु भन्छन्, यदि तिमी आफ्नो पतिलाई माया गर्छौ, आदर गर्छौ तथा पति पत्नी बिचको सम्बन्धलाई पहिलाको जस्तै विश्वसनीय र सुमधुर बनाउन चाहन्छौ भने तिमी अहिलेको अवस्था बाट स्वयम प्रभावित हुने हैन। बलकि यो अवस्थालाई आफ्नो विलपावर (संकलप शक्ति) द्ववारा प्रभावित बनाउन सक्नु पर्छ तब मात्र बिग्रिदै गरेको सम्बन्धमा सुधार आउन सक्छ।

यहाँ महत्वपूर्ण कुरा के छ भने, सबैकुरा नर्मल रहेको अवस्थामा अर्थात तिमी आफ्नो पति प्रति एकदमै सकारात्मक भएको अवस्थामा त उनी तिमी बाट टाढा भाग्न खोजिराखेका छन्। यस्तो अवस्थामा आफ्नो पति प्रती तिम्रो ब्यावहार नकारात्मक हुनथाल्यो भने तिमी बाट ऊ टाढा जाने सम्भावना अझ प्रबल हुनजान्छ। अहिले तिम्रो पति त्यसै पनि यो सबन्धलाई टुटाउने पक्षमा छन्। तर तिमी भने यसलाई कसै गरेर टुट्न नदिने पक्षमा छौ। त्यसैले सबै भन्दा पहिला यो सम्बन्धलाई टुट्न नदिनका लागी मुख्यत तिम्रो भूमिका सकारात्मक हुन एकदमै आवश्यक छ भन्ने कुरालाई गुरुले एकदमै विस्तार संग सम्झाउछन्।

तिम्रो पतिको ब्यावहार अहिले जस्तो सुकै भए पनि तिम्रो ब्यावहारमा भने अझै पनि तिमी उसलाई पहिला जत्तिकै माया र सम्मान गर्छौ भन्ने कुरा झल्कन सक्नु पर्छ। गुरु अगाडि भन्छन्, मलाई थाहा छ यो अभ्यास गर्न तिम्रा लागि अहिले त्यति सहज छैन तर आफ्नो टुट्न लागेको सम्बन्धलाई बचाउनका लागि यो असम्भव पनि छैन। जब तिमी यसो गर्नका लागि मानसिक रूपले तयार हुन्छौ, तिमी बाट नाकारात्मक उर्जा रेडिएट हुने सम्भावना एकदमै न्युन रहने छ। यसले पति पत्नी बिचको सम्बन्धमा सुधार ल्याउनका लागि आधारभूत सूत्रका रुपमा काम गर्ने छ।

गुरु संगको परामर्श पश्चात, अब त्यसै अनुरुप आफुलाई प्रस्तुत गर्ने संकल्पका साथ ति महिला आफ्नो घर फर्कि्न्छिन्। पति पत्नी बिचको सम्बन्धलाई टुट्न नदिनका लागि उनले आफ्नो तर्फ बाट अधिकतम प्रयास गर्छिन्। तर सम्बन्धमा सुधार आउनको बद्लामा उनका पति अझ पहिलाको भन्दा पनि इरिटेटिङ रुपमा प्रस्तुत हुने गर्छन्। पतिको यस्तो ब्यावहारले उनी थकित हुन्छिन् र फेरी एकपटक उनै आध्यात्मिक गुरुलाई भेट्न पुग्छिन्।

गुरुले फेरी सम्झाउछन्, हेर तिम्रो पतिलाई अहिले तिमी बाट अलग हुनका लागि केवल बहाना चाहिएको छ। यो अवस्थामा तिमीमा देखिएको सहनशिल र शान्त स्वभावले तिम्रो पति पहिलाको भन्दा अझ भड्किनु तथा अप्रत्याशित व्यवहारहरु गर्नु स्वभाविक हो। तर यो लभ र हेटको लडाईंमा तिमीले तिम्रो पतीलाई कुनै पनि हालतमा जित्न दिनु हुँदैन। यो कुरा तिमीले सुनिश्चित गर्न सक्नु पर्छ। तिम्रो जीवनमा अहिले यहीं नै सबै भन्दा ठुलो चुनौती हो र यसलाई स्वीकार गरेर अघी बढ्यौ भने मात्र तिमी आफ्नो उदेश्यमा सफल बन्न सक्नेछौ। उनि गुरुको कुरा बाट कन्भीन्स् हुन्छिन्। साथै यो लभ र हेटको लडाईंमा आफ्नो पतिलाई कुनै पनि हालतमा जित्न नदिने प्रतिबद्धताका साथ उनि त्यहा बाट फर्किन्छन्।

उनले आफ्नो तर्फ बाट लाख कोशीस गरे पनि पतिको ब्यावहारमा खासै फरक आएको हुँदैन। पतिको यस्तो ब्यवहारले उनको ठाउँमा अन्य कोही सामान्य महिला हुने हो भने आवेशमा आएर पतिलाई नानाथरी गाली गर्ने, सराप्ने तथा आफुलाई एउटा पीडित अबला नारी ठानेर रात दिन रुँदै बस्ने थिइन होला तर उनी त्यसो गर्दिनन। यसको बद्लामा उनले अफुलाई मानसिक तथा भावनात्मक रुपमा सशक्त तुल्याउदै यो कठिन अवस्थामा पनि आफुलाई निरन्तर शान्त र स्थिर राख्नमा केन्द्रित हुन्छिन्।

तथापि, हुने हार दैब नटार भने जस्तै यि सबै प्रयासहरूको बावजूद पनि अन्ततः एकदिन उनका पति अफिसकी अफेर वाली विदेशी महिला संग आफ्नो मुलुक बाटनै बाहिरिएको खबर उनलाई प्राप्त हुन्छ। जुन खबर उनले फोन मार्फत अफुलाई गाइड (मार्गदर्शन) गर्ने आध्यात्मिक गुरुलाई पनि सुनाउछिन्। प्रतिक्रियामा गुरुले उनको अवस्था÷मनोदशाका बारेमा सोध्छन् र उनले आफु अविचलित र स्थिर रहेको जानकारी गराउछिन्। उनि यसकारण अविचलित र स्थिर थिइन किनकी उनले आफ्नो सम्बन्धलाई बचाउनका लागि कुनै पनि कसर बाकी राखेकी हुन्नन् अर्थात हर सम्भव प्रयास गरेकी हुन्छिन्। यसमा अफसोस गर्नका लागि उनले केहि पनि छोडेकि हुन्नन्।

यहाँ सबै भन्दा मननीय बिषय के हो भने जुन महिलाले केहि महिना पहिला घरको छत बाट जम्प गरेर आफ्नो जीवन नै समाप्त गर्ने निर्णय गरेकी हुन्छिन्। आज तिनै महिला आफ्नो पतिले छोडेर जाँदा पनि म पूर्णतया ठीक छु भनेर भन्दै गरेकी हुन्छिन्। अघिल्लो तीन महिनाको अवधिमा मौजूदा स्थितिमा त कुनै परिवर्तन आउन सकेन तर ति महिला भित्र भने थुप्रै सकारात्मक परिवर्तनहरु आए। यस अवधिमा उनले आफ्नो आन्तरिक शक्तिलाई यति धेरै सशक्त बनाइन जसले उनलाई जीवनमा आइपरेका चुनौतिलाई सहज रुपमा फेस (सामना) गर्न सक्षम बनायो। कठिन परिस्थितिमा पनि विचलित नभैकन एउटा आदर र सम्मान संगको जीवन जिउने कलाको उनी भित्र विकास हुन सक्यो।

ति महिला बौद्धिक रुपमा त पहिला बाटनै सबल थिइन नै तर गुरु संगको परामर्शले उनलाई मानसिक र भावनात्मक रुपमा पनि उत्तिकै सबल बनाएको थियो। पतिले छोडेर गए संगै उनले जब गर्न सुरु गर्छिन्। उनको जीवन सामान्य रूपमा चल्दै गरेको हुन्छ। पतिले छोडेर गएको पनि लगभग छ महिना पुग्न लागेको हुन्छ। एक दिन बिहान अचानक उनको फोनको घण्टी बज्छ। यसो हेर्छिन, फोन मुलुक बाहिर बाट आएको हुन्छ। उनि फोन उठाउछिन् र हेल्लो भन्छिन्। उता बाट आवाज आउछ ‘आइ एम एक्स्ट्रिमली सरी, प्लिज फर्गीभ मी, आइ वान्ट टु कमब्याक होम’। यसो भनेर फोन गर्ने ब्यक्ति अरुकोही नभएर उनकै पति हुन्छन्। अब कल्पना गर्नुस्, उनले के आन्सर दिइन होला? खैर, यो अवस्थामा प्रत्येक व्यक्तिले उसको जीवनको भाग्यको आधारमा आफ्नो आन्सर चयन गर्नेछ।

यो शायद उनका लागि अपेक्षित थियो अथवा यसको अनुमान उनलाई पहिले बाट नै थियो, त्यसैले उनले धेरै समय खर्च नगरिकन पतिको आग्रहलाई स्वीकार गर्छिन् र उसलाई घर फर्कन भन्छिन्। त्यसको केही दिनमा पति घर फर्कन्छन्। यो छोटो समयमा उनका पतिमा यति धेरै सकारात्मक बद्लाब आएको हुन्छ, जुन उनले कल्पना गरे भन्दा पनि अधिक थियो। यो घटनाको आज झन्डै दस वर्ष भन्दा पनि बढी भयो होला। अहिले उनिहरुका दुई जना एकदमै सुन्दर बच्चा छन् र परिवार अत्यन्तै खुसहाल छ।

कल्पना गर्नुस् यो सम्भव हुनका लागि सबै भन्दा मुख्य कारक के रहयो होला? यो केबल यसकारण मात्र सम्भव भयो किनकी उनी स्वयम त्यतिखेरको परिस्थिति बाट प्रभावित हुनुको बद्लामा आफ्नो विलपावर द्ववारा परिस्थितिलाई प्रभावित बनाएर त्यसलाई आफ्नो फेवरमा ल्याउन सफल बनिन्।

जब ति महिलाले आफ्नो पतिलाई माफ गर्छिन् र उनिहरु फेरि पहिलाकै जस्तो संगै सुन्दर जीवन जिउन सुरु गर्छन्। त्यति खेर धेरै मानिसहरुले खास गरेर उनकै आफन्तहरुले उनलाई तिमीले तिम्रो पतिलाई माफ गर्नु हुँदैन थियो, विश्वास गर्नु हुँदैन थियो आदि भनेर सल्लाह नदिएका हैनन्। यदि उनले त्यतिखेर उनिहरुको सल्लाह मानेको भए आज उनको भाग्य शायद अन्तै मोडिएको हुने थियो होला। खैर, कुनै खास परिस्थितिमा हामीलाई मानिसहरु बाट प्राप्त हुने सुझाव तथा सल्लाहहरु उनिहरु भित्र निहित क्षमता तथा सहनशक्तिका आधारमा हुने गर्दछन्। परन्तु निर्णय लिदा भने हामीले सधैं आफु भित्र निहित क्षमता तथा सहनशक्तिका आधारमा लिने गर्नु पर्दछ।

माथि बर्णन गरिएको प्रसङ्गले हाम्रा कतिपय महिला पाठकहरुको मनमा हरेक समय तथा परिस्थितिमा त्याग, सन्धि, सम्झौता आदि जस्ता कुराहरु चै सधैं एउटी नारीले मात्र गर्नु पर्ने? भन्ने खाले प्रश्न पनि उब्जन सक्छ। तर म यहाँहरुलाई त्यसरी नसोचिदिनका लागि अनुरोध गर्दछु। यो प्रसङ्ग त सकारात्मक सोचले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ बन्ने कुराको एउटा उदाहरण मात्र हो। यो प्रसङ्ग बाट हामीले सिक्ने भनेको “त्यो चाहे हाम्रो पारिवारिक सम्बन्धमा होस्, हामीले काम गर्ने कार्यालयमा होस् या हाम्रो आफ्नै घर, गाउँ, देश, पर्देश कहीं पनि होस्। परिस्थितिहरु सधैं हामीले चाहेको जस्तो हुँदैन अथवा नहुन सक्छन्। त्यस्तो अवस्थामा हामी परिस्थिति बाट नियन्त्रित हुनुको बद्लामा आफ्नो सकारात्मक सोच र समझले परिस्थितिलाइ चै नियन्त्रण गर्न सक्नु पर्छ।” अस्तु!

प्रतिक्रिया