चितवनको इच्छाकामनामा जाडोका कपडा सहयोग

इनेप्लिज २०७५ कार्तिक ६ गते ११:०६ मा प्रकाशित

भरतपुर, चितवन, ६ कार्तिक ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ खेतबारी स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने कपडा सहयोग गरिएको छ । काठमाडौं लाजिम्पाट स्थित सेवा अहिले नेपाल नामक संस्थाको सहयोगमा सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ७ सम्मका १ सय ८३ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने ज्याकेट, ट्राउजर र टोपी वितरण गरिएको हो । त्यसैगरी सोही वडाको सिमलढाप, स्याङदी, सुन्दरवस्ती, पिपलटारका विपन्नहरुलाई पनि जाडोका लागि ब्ल्याङकेट सहयोग गरिएको छ । सो विपन्न वस्तीका २ सय घरपरिवारलाई ब्ल्याङकेट सहयोग गरिएको सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालले जानकारी दिए ।

जाडोमा लगाउने कपडा एवम् ब्ल्याङकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका वडा नं. ७ का वडा सदस्य एवम् राष्ट्रिय आधारभूत विद्यालय खेतबारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर गुरुङ्ग, विशिष्ट अतिथि अमेरिकी नागरिक वेन फेली, रब सेफर, विद्यालयका शिक्षक राजकुमार गुरुङ्ग, संस्थाका चितवन को–अर्डिनेटर इश्वर कुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । संस्थाका कार्यक्रम संयोजक जगदिश पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सेवा अहिले नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । सो संस्थाले यस अगाडि पनि इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका विपन्न वस्तीहरुमा निशुल्क सिलाइ कटाइ तालिम, विद्यार्थीहरुलाई स्टेशनरी, जाडोमा लगाउने कपडा, झुल, खाद्यान्न लगायतका सामग्रीहरु समेत सहयोग गर्दै आएको संस्थाका चितवन को–अर्डिनेटर इश्वर कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया