क्यानडामा आमाबुवाहरुलाई बोलाउने भिषा खुल्दै

गोविन्द सिंह रावत २०७५ कार्तिक १ गते १७:१९ मा प्रकाशित

क्यानडालाई बहुभाषी साँस्कृतिको देश पनि भनिन्छ । विश्वका प्रायः सबै राष्ट्र तथा प्रान्तबाट आएर क्यानडालाई आफ्नो कर्म भूमि बनाएर बस्नेहरुको संख्या यहाँको रैथानेभन्दा बढी छन् । आफ्नो जन्मथलो छोडेर क्यानडालाई कर्म थालो बनाएका आप्रवासीहरुले आफ्नो परिवारलाई पनि त्यही अनुरुपको जीवन शैली दिएका हुन्छन् । त्यसका अतिरिक्त क्यानडा आएपछि आफुलाई जन्माएर योग्य नागरिक बनाउने आफ्ना आमाबुवासँगै आफ्ना हजुरआमाबुवालाई पनि आफुसँगै परिवारमा राख्ने परम्परागत प्रचलनलाई पनि क्यानडा सरकारले महत्व दिदै आएको छ ।

लिबरल पार्टीबाट शुरु भएको क्यानडाको आप्रवासी नीतिलाई केन्द्रमा लिबरल पार्टीको सरकार आएपछि फेरी निरन्तरता दिदै आएको छ । आठ वर्षको कन्जर्भेटिभ पार्टीको सरकारले रोक लगाएको आमाबुवा तथा हजुरआमा बुवाहरुलाई स्पोन्सर गर्ने प्रक्रिया लिबरल पार्टीको सरकार बन्नै वित्तिकै आमाबुवा तथा हजुरआमा बुवाहरुलाई क्यानडा बोलाएर आफैसँगै राख्न पाउनका लागि स्पोन्सर गर्न प्रक्रिया फेरी शुरु भएको छ ।

तर सन् २००६ मा प्रोग्रेसिव कन्जर्वेटिभ पार्टीले चुनाव जितेर कन्जर्वेटिभ पार्टीले सत्तामा आउनासाथ आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सर गर्ने प्रक्रियाको अन्त्य गर्ने घोषणा गरेपछि आमाबुवा तथा हजुरआमा बुवाहरुलाई बोलाउन सुपरभिषा प्रक्रिया शुरु गरेको थियो । यस प्रक्रिया अनुसार आफ्ना आमाबुवा तथा हजुरआमा बुवाहरुलाई क्यानडा बोलाउनु परे सुपरभिषा अन्तर्गत १० वर्षको भीषा लिएर एकपटकमा दुई वर्षसम्म आफुसँग राख्न पाउने तर क्यानडा आउनअघि उनीहरुको स्वास्थ्य वीमा अनिवार्य हुनु पर्ने हुन्थ्यो । यो प्रक्रिया अहिलेसम्म पनि लागुनै छ ।

यसरी आफुलाई जन्माएर हुर्काई बढाई पढाई यहाँसम्म पुर्याउने आफ्ना प्रियजनलाई आफुसँग स्थाई रुपमा राख्न नपाउने प्रक्रियाको विरोध भई रहेको थियो । सरकारलाई आफुले कमाएको लगभग ४०–४५ प्रतिशत कर दिदै आएका करदाता क्यानेडियनले आफ्नै प्रियजनलाई बुढेसकालमा आफुसँग राखेर सेवा गर्न पाईरहेका थिएनन् । तर सन् २०१५ मा चुनाव जितेर लिबरल पार्टीको सरकार बन्ने वित्तिकै आमाबुवा तथा हजुरआमा बुवाहरुलाई स्पोन्सर गरेर आफैसँग राख्न पाउने व्यवस्था फेरी शुरु भएको छ । सरकारले प्रारम्भका दुई वर्षमा वार्षिक दस हजार आवेदन चिठ्ठा प्रक्रियाबाट आव्हान गरेको थियो ।

यसमा आवेदन बुझाएकाहरुबाट प्रत्येक बर्ष दस हजार आवेदक चिठ्ठाबाट निकालेर स्पोसरका अन्य प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ । यसरी क्यानडा आउने आमाबुवा तथा हजुरआमा बुवाहरुले नियमानुसार यहाँको निशुल्क स्वास्थ्य सेवा पाउने गर्दछन् । यो निसुल्क स्वस्थ सेवा पाउने नै ठुलो सहयोग हो भने आय आर्जन नगरेका जेष्ठ नागरिकलाई सरकारले निशुल्क औषधि पनि उपलब्ध गराउने गर्दछ।

यसलाई आप्रवासीहरुको अधिकारको रुपमा लिने गरिन्छ । तर कन्जर्वेटिभको सरकारले आमाबुवा तथा हजुरआमा बुवाहरुलाई पनि भिजीटर भिषा प्रक्रिया अन्तर्गत राखेरआफैले उनीहरुको स्वास्थ्य उपचारको जिम्मा लिनु पर्ने व्यवस्था बनाएको थियो । तर लिबरल पार्टीले पुनः आमाबुवाहरुलाई स्थाई बासिन्दा (पि.आर) का रुपमा स्पोन्सर गरेर आफुसँगै यहाँका बासिन्दाले पाउदै आएको स्वास्थ्य सेवासहीतको बासिन्दाका रुपमा राख्न सकिने प्रक्रिया शुरु गरेको छ । जसलाई लिबरल पार्टीले पुनः स्थाई बासिन्दाका रुपमा राख्न पाउने गरी आमाबुवा तथा हजुरआमा बुवाहरुको स्पोन्सरसिपलाई अझ सहज बनाउँदै गएको छ ।

यस वर्षदेखि सरकारले चिठ्ठा प्रक्रियाको सट्टा आवेदन जसले पहिला बुझाउछ उसले पहिलो प्राथमिकता पाउने गरी नयाँ प्रक्रिया शुरु गरेको छ । यस वर्ष अर्थात २०१९ मा सरकारले २१,५०० आमाबुवा तथा हजुरआमा बुवाहरुका लागि ढोका खोली दिने भएको छ । गत वर्ष सत्र हजार आवेदकहरुले आफ्ना आमाबुवा तथा हजुरआमाबुवाहरु बोलाउने मौका पाएका थिए । ईच्छुक आवेदकले स्पोन्सरको आवेदन अन लाईन भरेर बुझाउनु पर्छ ।

ईमिग्रेसन विभागले प्राप्त आवेदनबाट स्पोन्सर प्रक्रिया अनुरुप मेल खाने आवेदकलाई स्पोन्सरका अन्य आवेदन प्रक्रियाहरु पुरा गर्न सम्पर्क गर्ने छन् । यसरी आवेदन गर्नका लागि ईमिग्रेसन क्यानडाले २०१८ डिसेम्बर ३१ तारिखको राती १२ बजेपछि आफ्नो आधिकारिक वेभ साईट सिआईसि.जिसि.सिए. मा आवेदन फारम भर्न आव्हान गर्ने छ । यसमा पहिलो आउनेले पहिलो प्राथमिकता पाउने छन् भन्ने जानकारी क्यानडाका आप्रवास तथा नागरिक मन्त्री अहमद हँुसैनले ईमिग्रेसन विभाग मार्फत जानकारी गराएका छन् । त्यसैले यसपटक डिसेम्बर ३१ को राती नयाँ बर्षको आगमनको प्रतिक्षामा रमाउने कि आफ्ना प्रियजनको लागि फारम भरेर उनीहरुको आगमनको प्रतिक्षामा बस्ने, दोधारमा छन् धेरैजना।

(क्यान ईण्डिया न्युज)

प्रतिक्रिया