आइतबार, माघ ९ २०७८
काठमाडौं ०६:१३
वासिङटन डिसी 19:28

चार उत्कृष्ट छात्रालाई पुरस्कृत गरिने पत्रकार मित्रलाई पहिलो अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार दिइने घोषणा

इनेप्लिज २०७५ असोज २९ गते १०:४३ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

पत्रकारिता तथा साहित्यमा अढाई दशकदेखि क्रियाशील रौतहटका सञ्चारकर्मी सञ्जय मित्रलाई दुर्गा–भवानी अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पुरस्कार दिइने भएको छ । दुर्गा–भवानी यादव प्रतिष्ठान गरुडाले गत वर्ष स्थापना गरेको २५ हजार रुपैयाको दुर्गा–भवानी अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पहिलोचोटि पत्रकार मित्रलाई दिइने घोषणा गरिएको हो । प्रतिष्ठानका अध्यक्ष वृजकिशोर यादवले उत्कृष्ट चार छात्रालाई पुरस्कृत गरिने घोषणासँगै अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पुरस्कार मित्रलाई प्रदान गरिने घोषणा पनि गरेका हुन् ।

प्रतिष्ठानले एसइइमा उत्कृष्ट चार छात्रालाई दुर्गा–भवानी उत्कृष्ट छात्रा पुरस्कार दिने घोषणा गरेको छ । गत चैतमा लिइएको एसइइ परीक्षामा सहभागी गरुडा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी नगरका छात्राहरुमध्ये उत्कृष्ट एक छात्रालाई १० हजार रुपैया नगद पुरस्कारको दुर्गा भवानी नगरस्तरीय उत्कृष्ट छात्रा पुरस्कार प्रदान गरिने भएको छ । नगरस्तरीय उत्कृष्ट छात्रा पुरस्कार नमूना मावि गरुडाकी छात्रा अंशुकुमारी रौनियारलाई प्रदान गरिने भएको छ ।

यसैगरी दुर्गा भवानी प्रदेशसभाको क्षेत्रस्तरीय उत्कृष्ट छात्रा पुरस्कारबाट मावि धरहरीकी छात्रा सृजनाकुमारी यादव, मावि पथरा बुधरामकी केतकीकुमारी साह र मावि गरुडाकी नितुकुमारी महतो पुरस्कृत हुने भएका छन् । उत्कृष्ट प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैया नगद पुरस्कारसहित प्रमाणपत्रसमेत दिइने संस्थापक वृजकिशोर यादवले बताएका छन् । दशैँपछि एक कार्यक्रमको आयोजना गरी सबै पुरस्कार प्रदान गरिने संस्थापक यादवले बताएका छन् ।

आफ्ना दिवंगत पिता दुर्गा राय यादव र माता भवानीदेवी यादवको नाममा दुर्गा भवानी यादव प्रतिष्ठान गठन गरेर यादवले विभिन्न समाजसेवा गर्ने उदेश्य राखेको बताएका छन् ।

प्रतिक्रिया