चार भारतीयसहित ६ जना हतियारसहित पक्राउ

इनेप्लिज २०७५ असोज २८ गते २१:०८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

रौतहट प्रहरीले हतियार र म्याग्जिनसहित चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको छ । गएराति चाडपर्व सुरक्षा गस्ती टोलीले भारतको सीमावर्ती क्षेत्रबाट राति एक बजे चार भारतीय र दुई नेपालीलाई मेड इन चाइना लेखेको अटोमेटिक पेस्तोल तथा त्यसमा लाग्ने एकथान म्याग्जिनसहित पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक कृष्णकुमार बस्नेतको नेतृत्वमा रहेको गस्ती टोलीले परोहा नगरपालिका ८ मोतिपुर नजिक दशगजा क्षेत्रमा गाँजा सेवन गर्दै बसेको अवस्थामा चारैतिरबाट घेरा हाली सबैलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार मोतिहारीको गोकुल ग्राम पञ्चायतका २२ वर्षीय कमल साह, घोडासन श्रीपुरका ३२ वर्षीय राकेश पासवान, २८ वर्षीय सन्दीप पासवान र २६ वर्षीय अवधेश चौरसिया तथा धनुषा जिल्लाको फुलबरिया गाउँपालिका १ का ३१ वर्षीय रोहित साह र काभ्रेपलाञ्चोक जिल्ला टिमालका २५ वर्षीय मनोज तामाङ रहेका छन् ।

यसैबीच शुक्रबार बिहान ४ बजेतिर नेपालबाट भारततर्फ बीआर १ यू २७५७ नम्बरको सेन्ट्रो कारमा लैजाँदै गरेको अवस्थामा रौतहट प्रहरीले करिब ५ लाख मूल्य बराबरको ४९ कार्टुन मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि केदार ढकालले जानकारी गराएका छन् ।

प्रतिक्रिया