रत्ननगर, चितवन, २४ असोज ।
रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बजारमा मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न
भएको छ । साधारण सभाको अवसरमा पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, संस्थाका अध्यक्ष हरिभक्त घिमिरे र संस्थाका कार्यकारी अधिकृत मेघनाथ लामिछानेले संयुक्त रुपमा पत्रकार सिंखडालाई सम्मान गरेका हुन् । पत्रकार सिंखडा विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पारदर्शी दैनिक, नारायणी अनलाइन, आभाष टेलिभिजन लगायत विभिन्न सञ्चारसँग सम्बद्ध संस्थाहरुमा कार्यरत छन् । सिंखडा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
सो सहकारीको ११औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शेयर सदस्यका छोराछोरीहरु मध्ये स्वेता गिरी, सुरभी चपाई, आभाष श्रेष्ठ र नितेश न्यौपानेलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी रञ्जना बस्ताकोटीलाई पनि सम्मान गरिएको छ । संस्थाका ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट बचतकर्ता, असल ऋणी, सदस्य विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
सहकारी क्षेत्रको विकासमा नगरपालिकाले हातेमालो गर्ने – मेयर वन
यूनिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारी क्षेत्रको विकासबाट नै नगरवासीको विकास पनि हुने बताए । देशको अर्थतन्त्रको मुख्य हिस्सा सहकारी भएकोले यस क्षेत्रको विकासको लागि नगरपालिका सधैँ सहकार्य एवम् हातेमालो गरेर अगाडि बढ्ने समेत उनले बताए । नगरपालिकाले यस क्षेत्रको लागि रु. १ करोड बजेट विनियोजन गरेको समेत उनले बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर बिमला दवाडी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का सदस्य शान्ति अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष तेजेन्द्र बहादुर खड्का, सहकारी अभियन्ता इन्द्रराज ज्योती पौडेल, संस्थाका संस्थापक अध्यक्ष कमलचन्द्र खनाल, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, शेयर सदस्य सरला सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका अध्यक्ष हरिभक्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष प्रेम कृष्ण खनालले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा लेखा संयोजक केशव राज रिजालले आन्तरीक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाका कार्यकारी अधिकृत मेघनाथ लामिछानेले संस्थाका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
यूनिक सहकारीको संचालन मुनाफा साढे २ करोड रुपैया
संस्थाले आ.व. २०७४÷७५ मा कारोवार गर्ने क्रममा रु. २ करोड ५० लाख ९४ हजार ५ सय ७२ संचालन मुनाफा गरेको छ । १ हजार ८ सय ६० जना महिला शेयर सदस्य सहित कुल ३ हजार ४ सय ८० जना शेयर सदस्य रहेको संस्थाको कुल सम्पत्ति ८४ करोड ८० लाख ७ हजार रहेको संस्थाका कार्यकारी अधिकृत मेघनाथ लामिछानेले बताए । संस्थाको शेयर पूँजी ८ करोड ४१ लाख ८२ हजार ६ सय रहेको उनले जानकारी दिए । चितवनकै उत्कृष्ट सहकारीको रुपमा रहेको यस सहकारीले चितवनको टाँडी बजारमा मुख्य कार्यलय र जयमङ्गला बजार तथा नारायणगढको लायन्सचोकमा सम्पर्क कार्यालय स्थापना गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा दिँदै आएको छ । २५ जना कर्मचारीहरु संस्थामा कार्यरत रहेका छन् । संस्थाले टाँडी बजार क्षेत्रमा आफ्नै भवनबाट कारोवार गर्ने उद्देश्यले भवन निर्माण कार्य समेत थालनी गरिसकेको संस्थाका कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए । संस्थाले यस अगाडि महिला हक, अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, सहकारी शिक्षा सम्बन्धि तालिम लगायतका विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ ।
प्रतिक्रिया