बिहीबार, मंसिर २७ २०७५
काठमाडौं ०९:४४
वासिङटन डिसी 22:59

अमेरिकामा नेपाली बाल बच्चाहरु हुर्काउने बारे चिन्तन: एक कार्यशाला गोष्ठी

इनेप्लिज २०७५ असोज २३ गते १:२३ मा प्रकाशित

 


प्रस्तुति: प्रकाश नेपाल
संयोजन: अंशु बस्न्यात, डा. डि.के. गुरुङ

सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको भर्जिनिया स्थित आर्लिंगटन काउन्टीको एउटा ठिक्कको घर भित्र तातो-तातो भएतापनि बाहिर चाहिँ गुम्म परेको आकासले झरी बर्साई थियो। त्यो सानो शहर वरिपरि नेपालीहरुको सानो जमघट थियो। तर त्यो जमघट भने सामान्य खालको देखिएता पनि सामान्य चाहिँ थिएन। किनभने त्यो जमघटले एउटा विशिष्ट किसिमको भलाकुसरी बोकेको थियो – अमेरिकी भूमीमा नेपाली केटाकेटी हुर्काउने बारे चिन्तन ।

नेपालमा जन्मेर अमेरिकामा बसोवास गर्ने हामीहरु सबै चुनौतीहरूको संघारबाट गुज्रिनुपर्छ। देख्दा अति सामान्य लाग्ने तर वास्तवमा एउटा चुनौतीपूर्ण पक्ष आफ्ना छोराछोरीहरुलाई यो नयाँ वातावरणमा कसरी शिक्षा दिने, नेपाली संस्कार कसरी जोगाई राख्ने, अनि नेपाली संस्कार र अमेरिकी संस्कारको चपेटामा पिल्सिएका आफ्ना छोराछोरीहरुलाई कसरी सामान्जस्य गरि लैजाने भन्ने कुरालाई मुख्य बिषय बनाएर Society of American Nepalese Nurses र Be Well Initiative को आयोजनामा आयोजित यो कार्यशाला गोष्ठीले निकै महत्वपूर्ण काम गर्यो।

यो कार्यशालामा १४ वर्षका ब्रायन कार्की देखी ७० वर्षका अभिभावकहरु हुनु हुन्थ्यो। कुनै-कुनै अभिभावकहरु भर्खरमात्र नेपालबाट बसाई सराई गर्नुभएको थियो भने कुनै अभिभावकहरु केही बर्ष बिताइसकेर अमेरिकाबासी भइसक्नुभएको थियो। उहाँहरु सबैको आफ्नो आफ्नो अनुभव यस कार्यशाला गोष्ठीमा उपलब्धीपूर्ण रह्यो।
नेपालीहरु संसारका बिभिन्न देशहरुमा बसाइँसराइ गर्ने क्रम नयाँ होइन ता पनि अमेरिकामा बसाइँसराइ गर्नेक्रम चाही १९९५ पछि मात्र बढेको हो। डी.भि. भिसा आएपछि त यो क्रम ह्वात्तै बढ्यो। अहिले अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संख्या करिब ३ लाखको हाराहारीमा छ भनिन्छ। यो बसाइँसराइले उब्जाएका दुईवटा देशका संस्कारहरूको बीचमा भर्खरै हुर्कँदै गरेका आफ्ना केटाकेटीहरु दुई वटा संस्कारको चपेटामा पर्नु स्वाभाविकै हो।

हाम्रो नेपाली संस्कारमा बच्चाहरूलाई “हुँदैन”, “चुप लाग”, “बढी नबोल”, “अझै सुन्दैनस्” जस्ता शब्दहरूले सम्बोधन गर्ने हाम्रो पुरानो संस्कार हो। तर अमेरिका समाजमा बच्चाहरूलाई छुट्टै प्रकारले आदर पुर्वक सम्झाउने बुझाउने गरिन्छ- मानौं बच्चा नभएर ठूलै मान्छे हो। यिनै कुराहरूको विषयमा विचार मनन् गर्नलाई यो कार्यशाला गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको कुरो मैले देखे।

सानो सानो झूण्ड-झूण्डमा बाँडिएर यिनै विषयमा रही आफ्ना विचारहरू सबैले राखे। नेपाली समाजमा बालबच्चा हुर्काउन आमाको भूमिका मुख्यरुपमा हुने कुरा आए भने बाउको भूमिका गौण हुन्छ भन्ने बुझाई रहेता पनि अमेरिकी समाजमा कुन भूमिकामा कसरी बाबु आमाको भूमिका बराबर गरी निभाउन सकिन्छ? दुई संस्कार बोकेका बच्चाहरूलाई अनुशासनका कुराहरूदेखि लिएर कसरी उनीहरूसित कुरा गर्ने, कसरी ब्यबहारिक बनाउने र कसरी नेपाली संस्कृतिको हो संरक्षण गर्ने भन्ने कुराहरु चुनौतीको रुपमा रहेको कुरा सबैले स्वीकार गरे। तिनै समूह मध्यको एक समूहले विदेशमा नेपाली भाषाको प्रवर्दन र संरक्षणमा देखिने कठिनाई, अभिभावकहरुले छोराछोरीहरुलाई कामका कारणले चाहिनेजति समय दिन कठिन साबित हुने अवस्था र नेपाली शिक्षा प्रणालीमा हुर्किदै आएका युवा वर्गले अमेरिकी प्रणालीमा जाँदा सामना गर्नु पर्ने चुनौतीहरुका बारेमा चर्चा गरेको थियो।

छोरा छोरीहरुकोलागि सम्पूर्ण चुनौतिहरु मध्ये सबभन्दा ठूलो चुनौती भाषाको चुनौती रह्यो। बच्चाहरु स्कुलमा जान्छन् उनीहरुको स्कुलमा अंग्रेजी बोल्छन्, घरमा आउँछन् अनि बुवाआमा छुट्टै नेपाली भाषा सुन्छन र बुवाआमाले पनि बच्चाहरुलाई नेपाली सिकाउन कोसिस गर्छन्। यसले गर्दा बच्चाहरु असमञ्जसमा पर्छन् -कुन भाषा ठिक वा बेठिक, यी कुराहरुले उनीहरु अप्ठ्यारोमा पर्छन। नेपाली भाषालाई बचाइराख्न नेपालीहरूको लागि ठूलो चुनौती भएको छ।

यस कार्यशाला गोष्ठीमा १४ वर्षका ब्रायन कार्कीले सबैको मन जिते। चौध वर्षको सानो उमेरमा पनि उनले धेरै कुराहरु गहिराईमा गरे। हरेक नयाँ पुस्ता आफ्ना बाबुआमाको पुस्ताभन्दा धेरै कुरा अगाडि धेरै कुरामा अगाडि हुन्छन, तर बाबुआमा त्यस अनुसार बहन नसक्नु र बाबुआमाले त्यहीअनुसार आफ्नो आफ्ना केटाकेटीलाई वब्यबहार दिन नसक्नु स्वाभाविकै हो। अर्को कुरा स्कुलमा सिकाएका ब्याबहार र घरमा बाबुआमाले सिकाएका कुराहरु नितान्त फरक हुन्छन्। यी कुराहरुलाई पनि सजिलो रूपमा बच्चाहरुले ग्रहण गर्न सक्दैनन्। यसलेगर्दा हुर्कँदै गरेका बच्चाहरूलाई एककिसिमको मानसिक तनाव भइरहन्छ।

यहाँका स्कूलहरुमा बच्चाहरुसंग खुल्ला संवाद गरिन्छ। अर्थात बच्चाहरूलाई सिकाउनु पर्ने कुराहरु वा अनुशासनका कुराहरु प्रष्टरुपमा बुझाउने गरिन्छ। त्यही कुरालाई हाम्रो संस्कारमा गाली गरेर बुझाउने चलन छ। यो कुरालाई बाबुआमाले मनन गरि कन प्रष्टरुपमा आफ्नो बच्चासित कुरा गर्ने, यो होइन अथवा यो हो भन्ने कुरा प्रस्ट रुपमा भन्ने, जिज्ञासा प्रष्टरुपमा सोध्ने र बच्चाहरुलाई डर त्रासको वातावरणमा पटक्कै राख्नु दिनु हुँदैन भन्ने कुराहरु कार्यशालाबाट निस्के। बाबुआमा र बच्चाहरूको निर्धक्क वार्तालापबाट धेरै कुराहरु को समाधान निस्कन सक्छ भने त्रासबाट भर्खरै वयस्क अवस्थामा प्रवेश गर्न लागेका केटाकेटीहरुलाई यो बसाइँसराइको पीडा अझै चुनौतीपूर्ण हुनसक्छ। खराब साथीहरुको संगतले जिन्दगी तहसनहस बनाइदिन्छ भने राम्रो साथीको संगतले अमेरिका जस्तो देशमा प्रशस्तमात्रामा सम्भावनाहरु आफ्नै अगाडि राखिदिन्छ।
भर्खर उमेर पुग्न लागेका छोरा छोरीहरुल्लाई बिशेष ध्यान दिनु जरुरि छ। उनीहरुले चाहेका कुराहरुलाई विचार गरी सन्तुलनमा राख्न महत्वपूर्ण हुन्छ। नेपाली संस्कार र अमेरिकी जीवनको बीचको संघर्षपूर्ण यिनी चुनौतीहरूको बीचमापनि हाम्रो नेपाली समाजका बालबच्चाहरु हरेक क्षेत्रमा राम्रो गरिरहेका छन्- सफल छन्। यो हामी सबैकोलागि खुशीको कुरा भने अबस्य हो।

उक्त कार्यशालामा हुर्कदै गरेका केटाकेटीहरुलागि खाना कसरी सन्तुलित बनाउन सकिन्छ, सन्तुलित खाना पनि विषयगत रुपमा आए। यसरी परदेशिएका बाबुआमाको आफ्नै चुनौती हुँदाहुँदै पनि आफ्ना छोराछोरीहरूको बेग्लै चुनौती खेपिरहेको अवस्थामा आफ्ना बच्चाहरुसित राम्रो किसिमको सम्बन्ध बढाएर, उनीहरूले चाहेका कुराहरु उनको मनमा लाग्ने किसिमले सामना गर्नु चुनौतीपूर्ण हुन्छ- तर गर्नुपर्छ।

अत्यन्त राम्रो काम गर्दै आएका यी दुवै संस्थाहरुले आगामी दिनहरुमा यस्तै प्रकारका कार्यशाला गोष्ठीहरु गर्ने कुरा यो समाजकोलागि धेरै आशाप्रद कुरा हो। बेला बेलामा यो हुनु जरुरि पनि छ।

Be Well Initiative का संस्थापक डा. डि. के. गुरुङको भनाई जस्ताको तस्तै राख्ने हो भने “अमेरिकी जीवन मा झेल्नु पर्ने चुनौतीहरु मध्हे “बाल बच्चाहरु हुर्काउने” ठुलो चुनौती भएको र यो राम्ररी निदान गर्न नसक्दा हाम्रो मानसिक स्वास्थ्य मा पनि असर पर्ने हुनालेनै यो अन्तरक्रिया को आयोजना गरिएको हो” भन्ने कुरा मनबाट बुझेर यो सृखला सुरु गरिएको बताउनु हुन्छ।

यसो त अमेरिकामा थुप्रै नेपाली संस्थाहरु छन। अधिकांश संस्थाहरु नामकोलागि मात्रै भएपनि केहि संस्थाहरु भने राम्रो काम गर्छन। यसका अग्र हस्तीहरु मंजु संग्रौला, डा. डि.के. गुरुङ, अंशु बस्न्यात, प्रज्वल दंगाल लगायत टिमका सबै सधुबाद्का पात्र छन्। यी दुइ संस्थाहरुलाई यस्ता कार्यक्रमहरु गर्ने सधै साहस मिलोस।

थप जानकारीको लागि:

www.bewellinitiative.com, www.sannnurses.org)

प्रतिक्रिया