नेपाल सांस्कृतिक संघ द्वारा नेपाली कांग्रेस विधान मस्यौदा समितिलाइ १५ बुदे सुझाब तथा मागपत्र हस्तान्तरण

इनेप्लिज २०७५ भदौ २१ गते १०:५२ मा प्रकाशित

काठमाडौँ : नेपाल सांस्कृतिक संघले विभिन्न आफ्ना १५ बुदे माग तथा सुझाब सहित नेपाली कांग्रेस विधान मस्यौदा समितिका संयोजक तथा नेपाली कांग्रेशका महामन्त्री पूर्ण बहादुर खड्कालाइ मागपत्र हस्तान्तरण गरेको छ l उक्त अबसरमा नेपाल सांस्कृतिक संघका टोलीले नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधि, नेता रमेश लेखक लगायतका अन्य नेताहरुलाई भेटि आफ्ना मागहरुको बारेमा प्रष्टाएको थियो l नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा नेतृत्वको टोलीले नेपाली कांग्रेसको अब बन्ने विधानमा आफ्ना मागहरु समेटिनु पर्ने र नेपाल सांस्कृतिक संघलाइ पार्टीले पहिचान सहित अगाडी बढाउनु पर्ने कुराको माग राखेको थियो l बिस्तृत विवरणको लागि यहाँ हेर्नुहोस :

श्रीमान् संयोजकज्यू,
विधान मस्यौदा समिति
नेपाली कांग्रेस
बीपी स्मृति भवन, सानेपा, ललितपुर
महोदय,

संस्कृति, साहित्य, नाट्य, कला (नृत्यकला, वास्तुकला र चित्रकला) धर्मपरम्परा, भेषभूषा, रीतिथिति, खानपान,रहनसहन, जस्ता सांस्कृतिक वाङमयका विविध विधाका माध्यमबाट नेपाली कांग्रेस पार्टीको आदर्श, मूल्य–मान्यता एवं यसका तीन महत्वपूर्ण आधार– राष्ट्रियता, प्रजातन्त्र, समाजवादबारे आम जनतालाई सुसूचित गर्दै पार्टीका पक्षमा व्यापक जनमत सिर्जना गर्ने उद्देश्यका साथ २०६३ सालमा पार्टीको शुभेच्छुक संस्थाका रूपमा गठन गरिएको ‘नेपाल सांस्कृतिक संघ’आज आएर एउटा मजबुत र प्रभावशाली संगठन बनेको छ ।भनिन्छ, संस्कृतिले नै मानव जाति र राष्ट्रको सार्वभौम चिनारी बोकेको हुन्छ । समाजको प्राण र आत्माका रूपमा स्वीकारिन्छ संस्कृतिलाई । संस्कृति र सभ्यता एक अर्काका पूरक मानिन्छन् । संस्कृति आत्मा हो भने सभ्यता शरीर हो । संस्कृतिले मानसिक एवम् बौद्धिक विकास गर्छ भने सभ्यताले भौतिक तथा शारीरिक । यसप्रकार सांस्कृतिक क्षेत्रको महत्व र गरिमालाई सूक्ष्मतापूर्वक अध्ययन विश्लेषण गर्दा नेपाल सरकार र राजनीतिक दलहरूले पनि यस क्षेत्रलाई प्रहार होइन, संरक्षण र सम्बद्र्धन गर्न आवश्यक छ । राष्ट्रको पहिचान र अस्मितालाई बचाउने हो भने सांस्कृतिक क्षेत्रलाई उपेक्षा गर्न मिल्दैन । नेपाली कांग्रेस बहुभाषी, बहुजातीय एवं बहुसांस्कृतिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने महान् ऐतिहासिक–लोकतान्त्रिक संगठन हो । लोकतान्त्रिक पद्धतिको स्थापना र रक्षामा नेपाली कांग्रेसको मात्र महत्वपूर्ण भूमिका रहेको छ । तसर्थ नेपाली कांग्रेसले सांस्कृतिक क्षेत्रको गरिमा र महत्वलाई मनन गरेर जनताका घर आँगनमा पुग्न सकेका खण्डमा लोकतन्त्रको रक्षा हुने कुरा सुनिश्चित छ । जनतालाई आश्वासन र नारा मात्र प्रवाह गर्ने होइन, लोक जीवनका दुःख, दर्द, पीडा, कष्ट, अभाव, कठिनाइ, विरह, वेदना, कुण्ठा वा हर्ष उमंगहरूमा आत्मसात गरेर साक्षात्कार गर्दै हातेमालो गर्ने माध्यम यसै सांंस्कृतिक क्षेत्रलाई बनाउन सकिन्छ । सांस्कृतिक क्षेत्रलाई अवमूल्यन गरेर जनताको साथी सहयोगी हुन सकिन्न । किनभने भाषा, साहित्य, कला, नृत्य, संगीत नाट्य, आदि क्षेत्रका विषयवस्तुहरू सांस्कृतिक धरोहरले मात्र समेट्न सक्ने हुँदा जनताका लोकलय र अभिव्यक्तीकरणमा सामेल हुने उत्तम माध्यम यसै सांस्कृतिक क्षेत्रलाई मात्र लिन सकिन्छ । समृद्धि र विकासको अभियान, सम्मान, सुरक्षा र पहिचान’को मूल नारासहित हालै सम्पन्न दोस्रो महाधिवेशनबाट यसको सांगठानिक स्वरूप मुलुकको वर्तमान संविधान र पार्टीको मौजुदा विधानअनुरूप संघीय ढाँचाको भएको छ । साथै संघ अब प्रतिनिधित्वका हिसाबले व्यापक र समावेशी त बनेको छ नै यो नेपाली समाजको पिँधको तहसम्म फैलिएको पनि छ । समाजको गहनाका रूपमा लिइने सांस्कृतिक अगुवा– कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता साहित्यकारहरूको यो संस्थाको विकास, विस्तार र सुदृढीकरणका लागि पार्टीका तर्फबाट हामीले आवश्यक संरक्षण र सहयोगको अपेक्षा गरेका छौं । यस संघको प्रभाव वृद्धि प्रकारान्तरमा मूल पार्टीकै मजबुतीको एउटा आधार हुनेछ भन्ने हामीले विश्वास गरेका छौं । यिनै कुराहरूलाई ध्यानमा राख्दै पार्टीका तर्फबाट निम्न निर्णय हुन विधान मस्यौदा समितिको माध्यमबाट अब नेपाली कांग्रेस महासमिति बैठकमा पेश गरी पारित गर्नका लागि तपसिल बमोजिमका विषयवस्तुहरू समावेश गर्न अनुरोध गर्दछु ।

तपसिल बमोजिमका विषयवस्तुहरू

१. नेपाली कांग्रेसबाट आगामी दिनमा निर्माण हुने विधानमा नेपाल सांस्कृतिक संघलाई भ्रातृ संस्थाका रूपमा मान्यता प्रदान गरी विधानमा समावेश गर्नुपर्ने ।

२. नेपाली कांग्रेसको विद्यमान विधानमा विभिन्न विभागहरूको संरचनामध्ये संस्कृति विभाग र सांस्कृतिक विभाग कायम रहेकोमा दुबैलाई एकै ठाउँ गाभी ‘सांस्कृतिक विभाग’ कायम हुनुपर्ने ।

३. पार्टी संगठनको सम्पूर्ण तह (तह र निकाय– गाउँपालिका, नगरपालिका, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र)मा नेपाल सांस्कृतिक संघको अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्ने ।

४. प्रत्येक गाउँ र नगरपालिकाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा सांस्कृतिक क्षेत्रको आरक्षण कोटाको सुनिश्चितता हुनुपर्ने । कम्तीमा एक–एकजना हुनुपर्ने ।

५. प्रत्येक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि नेपाल सांस्कृतिक संघका तर्फबाट आरक्षणका रूपमा कम्तीमा एक एक जना सुनिश्चित हुनुपर्ने ।

६. नेपाली कांग्रेसको विद्यमान विधानबमोजिम कायम भएका तीनजना महाधिवेशन प्रतिनिधिलाई बढाएर संघको विधागत संरचना वृद्धि भएको हुँदा सो तीनजनाका ठाउँमा कम्तीमा ११ जना कायम हुनुपर्ने ।

७. नेपाली कांग्रेसको तर्फबाट जिल्लाबाट वितरण हुने क्रियाशील सदस्य नेपाल सांस्कृतिक संघका तर्फबाट पनि वितरण गर्न पाउनुपर्ने ।

८. नेपाली कांग्रेसको कुनै पनि संरचनामा आरक्षणबाट गरिने मनोनयन, नियुक्ति एकपटक भन्दा बढी दोहर्याएर दिन नमिल्ने कुरा विधानमा उल्लेख गर्नुपर्ने ।

९. नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन तल्लो तह तप्काबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिनुपर्ने ।

१०. नेपाली कांग्रेसको सिफारिसमा राज्य वा पार्टीले प्रदान गर्ने सम्मान, पुरस्कार, नियुक्ति, मनोनयन, सुरक्षा, पदवी नेपाल सांस्कृतिक संघको सिफारिसमा मात्र प्रदान गरिनुपर्ने ।

११. गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ नेपाल सांस्कृतिक संघको सिफारिसमा उम्मेदवारीको प्रतिनिधित्व चयन गर्ने प्रबन्ध मिलाउनुपर्ने ।

१२. पार्टीको नीति र कार्यक्रम निर्माण प्रक्रियामा नेपाल सांस्कृतिक संघलाई पनि समावेश गराउनुपर्ने ।

१३. देशको असल छवि निर्माण गर्न पार्टीको तर्फबाट सिफारिस गर्दा नेपाल सांस्कृतिक संघको सिफारिसमा स्रष्टा, कलाकार, साहित्यकारहरूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय सांस्कृतिक दूत नियुक्ति गर्न पहल गर्ने विषयमा पनि व्यवस्था मिलाउनुपर्ने ।

१४. नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बढीमा १५० सदस्य हुनुपर्ने । प्रत्येक प्रदेशमा केन्द्रीय समितिको सदस्य सरह बढीमा २१ सदस्यीय प्रदेश समिति हुनुपर्ने, त्यसमा एकजना संयोजक हुनेछ ।

१५. नेपाली कांग्रेसको सदस्यहरूमा तलदेखि माथिसम्म मर्यादाक्रम निश्चित गरी विधानमा उल्लेख गर्नुपर्ने ।
दोस्रो महाधिवेशनपछि नेपाल सांस्कृतिक संघको विधान बमोजिम विभिन्न विधागत संरचना तयार गरी सो बमोजिम संगठन निर्माण भई कार्य गर्दै आएको छ । ती विधागत संरचना यसप्रकार छन् :

क) भाषा साहित्य संघ
ख) ललितकला संघ
ग) चलचित्र कलाकार संघ
घ) संगीतकर्मी संघ
ङ) नाट्यकर्मी संघ
च) चलचित्र प्राविधिक संघ
छ) वाद्यवादन संघ
ज) लोकदोहोरी संघ
झ) नृत्यकार संघ
ञ) वैदेशिक सम्पर्क समिति संघ

यसमा विधागत रूपमा रीतिरिवाज, भेषभूषा, परम्परा, धर्म संस्कृति आदिलाई पनि समेट्दै संगठन निर्माणमा योजना अनुरूप सहभागी हुँदै जाने जानकारी गराउन चाहन्छौं । राजनीतिक एवम् सामाजिक रूपमा राज्यस्तरीय रूपबाट सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा नराखिएको र सांस्कृतिक पक्ष भनेको नाच्ने र गाउने मात्र विषयमा सीमित तुल्याइएको परिप्रेक्ष्यलाई स्मरण गर्दै सांस्कृतिक क्षेत्रभित्र माथि उल्लेखित विषयहरू रहेको पुनः स्मरण गराउन चाहन्छौं । विश्वमा जुन राष्ट्रमा सांस्कृतिक क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ र लगानी पनि गरिएको छ, ती राष्ट्रहरू नै बहुआयामिक दृष्टिकोणबाट समृद्धिमा रहेको देखिन्छ । तसर्थ यो क्षेत्रलाई उपेक्षा, अपमान, तिरष्कार नगरी नेपाली कांग्रेस जस्तो नेपालको भविष्य बोकेको पार्टीले सांस्कृतिक क्षेत्रलाई विशेष सम्मान र प्राथमिकता प्रदान गरी नेपाली कांग्रेसका हरेक संरचनामा महत्वपूर्ण स्थान दिनेछ भन्ने विश्वास लिएका छौं ।
आदरणीय संयोजकज्यू,

हामी संस्कृतिकर्मी, कलाकर्मी, स्रष्टा, कलाकारहरूलाई नाच्ने, गाउने र नौटंकी गर्ने दृष्टिकोणबाट मात्र हेरिने र यो सम्पूर्ण क्षेत्रको अपमान उपेक्षा र अवमूल्यन गरिँदै आएको परिवेशमा यहाँहरूले पनि हाम्रा उपरोक्त मागहरूलाई अध्ययन पनि नगरी, महत्व पनि नदिने परिस्थितिमा तपाईंहरूलाई यसतर्फ विशेष ध्यानाकर्षण गराइन्छ । आशा छ विधान मस्यौदा समितिका संयोजक एवं पदाधिकारीज्यूहरूबाट देशका समग्र सांस्कृतिक स्रष्टाकर्मीहरूको भावनाको कदर गर्दै नेपाली कांग्रेसको नीति र उद्देश्य परिपूर्ति गर्न यी महत्वपूर्ण पक्षहरूलाई सहभागी गराउन अनुरोध गर्दछु । स्मरण रहोस्, समावेशी र समानुपातिकको सिद्धान्तलाई नेपालको संविधानमा समेत प्राथमिकताका साथ समावेश गर्न सक्ने नेपाली कांग्रेसले पक्कै पनि नेपाल सांस्कृतिक संघलाई पनि नेपाली कांग्रेसको विधानमा सोही अनुरुप सम्मानपूर्वक समावेशी र समानुपातिक आधारमा समावेश गर्नेछ ।

धन्यवाद ।
जय नेपाल
तीर्थबहादुर थापा
सभापति

प्रतिक्रिया