हार्दिक धन्यबाद / आभार

इनेप्लिज २०७५ भदौ ९ गते १८:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यसमितिको निर्वाचन २०१८ सम्पन्न भएको छ | निर्वाचनमा अनेसासलाई अनेसास नै बनाउने अठोटका साथ मैले अध्यक्षको उम्मेदवारी दिएको थिएँ |

निर्वाचनका क्रममा थुप्रै असल मनहरूसंग सम्पर्क हुन पुग्यो, जुन मेरो जीवनको अत्यन्तै मीठो र महत्वपूर्ण पलका रुपमा लिएको छु |
धेरैले सहयोग र सद्भाव व्यक्त गर्नु भयो , म आभारी छु | म बिशुद्द साहित्यकार भएकाले मलाई साहित्यकार र साहित्यिक उत्थानमा लागि परेका साहित्यसेवीहरूको मत प्राप्त भयो | आफ्नो अमूल्य मतका लागि ती प्रिय मनहरूलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु |

निर्वाचन एउटा परिवर्तनशील प्रक्रिया हो | यो प्रक्रियामा राम्रो नारा र असल विचार पनि कहिले काहिँ छायामा पर्न सक्छन , तर विलाउन सक्दैनन् | यस पटक मेरो अभियान र बिचार बहुमतले पारित हुन सकेन , प्रस्ताव तपाईहरूको थियो, म केवल संवाहकको मात्रै थिएँ | निर्देशन तपाईहरूको थियो, अभिनय मात्रै मेरो थियो |

प्रत्येक घटनाले सकारात्मक र नकारात्मक शिक्षा दिएकै हुन्छ , मैले यसबाट सकारात्मक मात्रै लिने प्रण गरेको छु | यसबाट चिसिएको मेरो र मेरा शुभ चिन्तकको मनलाई समयको घामले न्यानो माया दिनेमा विश्वस्त छु |

घाउ त समयको मल्हमले निको हुन्छ भने यो त सानो खोस्र्याई मात्रै हो | निर्वाचनका क्रममा मैले कसैको मन दुखाएँ होला, यसप्रति क्षमाप्राथी छु |
म कविता लेख्ने मान्छे , सिधा प्रतिक्रिया दिन मनले मान्दैन , आगामी दिनमा मेरा सिर्जना नै मेरा बिचार हुन्, हुनेछन |

निर्वाचन समितिका आदरणीयहरू भीम कार्की , चुडा खनाल, प्रविण भण्डारी र बिमल नेपाल सबैसबै साहित्यिक मन भएकाले उहाँहरूको निक्ष्पक्षतामा मेरो कुनै शंका छैन | सबै अनेसासका च्याप्टर अध्यक्षज्यूहरूले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुभयो , हार्दिक धन्यबाद | क्रिया प्रतिक्रिया नियमित क्रमता सम्झेर सबैसंग उस्तै दुरुस्तै सहकार्य हुनेमा कुनै शंका रहने छैन |

मैले चारवर्ष सहकार्य गरेको केन्द्रीय कार्यसमितिका सहकर्मीहरूसंग मेरो अगुल्टो ठोसाई अनेसासको राम्रो पक्षको पकवान्न पकाउने उर्जाको खोजी मात्रै थियो भनेर लिन अनुरोध गर्दछु |
र अन्त्यमा,

निर्वाचित सबैमा बधाई , सफल कार्यकालका लागि शुभकामना !!!
~गोवर्धन पूजा
[email protected]

प्रतिक्रिया