पुल बगाएपछि समस्या

इनेप्लिज २०७५ भदौ २ गते ८:३० मा प्रकाशित

जाजरकोट, भदौ २ गते । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयाँै स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताउनुभयो । रुकुमको आठविसकोट नगरपालिकाबाट पढ्न आउने विद्यार्थीसमेत पढाइबाट बञ्चित भएका छन् । पुल नहुँदा साविकका लहँ र डाँडागाउँ गाविसका बासिन्दाको आवतजावत ठप्प भएको छ । खोलाले पानीघट्टसमेत बगाएकाले अन्न पिस्न नपाइ समस्या थपिएको डाँडागाउँका चन्द्र पुनले बताउनुभयो ।

झुम्रेखोलामा आएको बाढीले यहाँको कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । सयौँ यात्रु खोला तर्न नसक्दा समस्यमा परेका छन् । सडक अवरुद्ध हुँदा नलगाड हाइडा«ेपावरको काम समेत बन्द भएको छ । निर्माणस्थल दल्लीमा आउने सडक अवरुद्ध भएपछि आयोजनाको काम ठप्प भएको हो । सुरुङ निर्माणको काम अवरुद्ध भएपछि तीन दर्जन मजदुर बेरोगार भएको स्थानीयवासी लोकेन्द्रविक्रम शाहीले बताउनुभयो ।

त्यस्तै नलगाड–८ स्थित पञ्च भयार मावि र कायखेतस्थित मष्ट प्राविका विद्यार्थी पनि पुलको अभाबमा विद्यालय जान पाएका छैनन ।
बाढीले बगाएका ठाउँमा अस्थायी पुल निर्माण गरिने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको छ । करोडाँैको क्षति भएका कारण नगरपालिकाले मात्रै समाधान गर्न नसक्ने उहाँले बताउनुभयो ।

यता वनमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा भएको क्षतिका विषयमा यकिन विवरण सङ्कलन भइरहेको बताउँदै प्याकेजमा राहत तथा पुनःस्थापनाका काम गरिने बताउनुभयो ।
अहिले जाजरकोट सदरमुकामलगायत पूर्वको नलगाड नगरपालिकामा बाढी र पहिरोका कारण करोडौँको क्षति हुनुका साथै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जलवायु परिर्वतनका हिसाबले सङ्कटपूर्ण जिल्ला बनाएका बेला बाढी र पहिराले थप समस्या निम्त्याएकाले सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरिएको सांसद गणेशप्रसाद सिंहले बताउनुभयो ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

रुकुमको पश्चिम क्षेत्रमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–१ का ३८ वर्षीय राजकुमार विकको घटनास्थलमै मृत्यु भएको सोही नगरपालिका–२ का चालक बलजीत बिक भने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बिकको स्थानीय मेडिकलमा उपचार भइरहको बताइएको छ । बाफिकोट गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने स्पार्पू दह नजिकै चामल लिएर गइरहेको रा१त ३१०६ नं को ट्याक्टर करीब एक हजार मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया