सुमार्गी दम्पत्ति सम्मानित

इनेप्लिज २०७५ साउन २६ गते १३:३२ मा प्रकाशित

हेटौंडामा नेपाल र भारतीय कविहरुको शनिबार जमघट भएको छ । तीन दिने नेपाल भारत साहित्य महोत्सव अन्तर्गत पहिलो दिन हेटौंडामा भारतीय र नेपाली कविहरु सुनिएका हुन् ।

हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा नेपालका बरिष्ठ साहित्यकार तुलसी थापाको प्रमुख आतिथ्यता तथा भारतीय बरिष्ठ साहित्यकार डा. विजय पण्डितको विषेश आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा भारतीय कविहरु डा. सरोजनी तनह, दिलदार देहल्वी, बीर सिं मारतण्ड र सुरेखा कादियानले कविता वाचन गरका थिए ।

साथै नेपाली कविहरु पुरुषोत्तम आचार्य, छवि अनित्य, सुवास खनाल, भावना सापकोटा, ह्याग्रिव आचार्य र अंकिता सुमार्गीले कविता वाचन गरे । ७५ जना भारतीय कविहरु साहित्यिक कार्यक्रमसँगै हेटौंडाको पर्यटकीय तथा धार्मिक क्षेत्र सहिद स्मार घुमेका थिए ।

हेटौंडाको कार्यक्रमपछि भारतीय कविहरु आजै बीरगंज जाने बताइएको छ । त्यहाँ भोली साउन २७ र २८ गते साहित्यीक महोत्सव हुनेछ स्थानीय आयोजक हेटौंडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले बताए ।

नेपाल भारत सहयोग मञ्च, ग्रिन केयर सोसाईटी भारत र हिमालिनी मासिकको पहलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा भारतीय साहित्यकारहरुले कान्तिधारा साहित्य एकेडेमीको तर्फबाट हेटौंडा एकेडेमीका अध्यक्ष तथा उद्योगी अरुणराज सुमार्गी र एकेडेमीकी निर्देशक अंकिता सुमार्गीलाई नेपाल भारत अन्तराष्ट्रिय रत्न सम्मान प्रदान गरेका छन् ।

साथै उनीहरुले तीन दिने महोत्सव अन्तर्गत पहिलो दिनको कार्यक्रम हेटौंडा एकेडेमी परिसमा बृक्षारोपण गरेर सकाएका थिए । भारतीय साहित्यकार मनोज कुमारले चम्पारणबाट ल्याएकोे अशोक, चम्पा लगायतका बिरुवा रोपिएको हो ।

प्रतिक्रिया