बाटो मर्मतपछि सहजता

इनेप्लिज २०७५ साउन २४ गते १२:२४ मा प्रकाशित

बैतडी, २४ साउन : दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो ।

गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजाँदा नदीमा खस्ने डर हुन्थ्यो । अहिले सो क्षेत्रमा गाउँपालिकाले बाटो मर्मत गरेर फराकिलो पारेपछि सहज भएको छ । हिउँदमा खच्चरमा सामान बोक्ने गरेकामा वर्षातमा बाटोको समस्याले खच्चरमा सामान ढुवानी गर्न सकिँदैनथ्यो ।

अहिले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मानमती कार्कीले भन्नुभयो । दोगडाकेदार–६ मा करीब एक हजार ३०० मिटर बाटो मर्मत भएको छ । यो रिम र सित्तडलाई जोड्ने मुख्य बाटो हो । गाउँपालिकाको रु २० लाख सहयोगमा पन्ज्युनयाँ–खौला बाटो मर्मत गरिएको हो ।

“वर्षातमा भारी बोकेर आउन निकै समस्या थियो, अहिले त्यो समस्या हटेको छ,” दोगडाकेदार–१ रिमका प्रेमराम भुलले भन्नुभयो । पहिला वर्षाका बेला हिँड्डुल गर्न नसकिने अवस्था थियो । दैनिक उपभोग्य समान किन्न बजार जानुपर्ने हुन्छ । बाटो अप्ठेरो हँुदा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । सरोकारवालाले ध्यान नदिँदा स्थानीय बासिन्दाले गुनासो गर्दैआएका थिए ।

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरेर बाटो मर्मत गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । आवश्यकताका आधारमा योजना छनोट गर्ने गरिएको उहाँको भनाइ छ । विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना छनोट हुने गरेको कार्कीको आरोप छ । “योजना सम्पन्न भएपछि अनुगमनलाई कडाइका साथ लागू गरेका छौँ”, कार्कीले भन्नुभयो ।

प्रतिक्रिया