सोमबार, असोज २९ २०७५
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

तमिलनाडुका पूर्वमुख्यमन्त्री करुणानिधीको मृत्यु

इनेप्लिज २०७५ साउन २३ गते २२:४४ मा प्रकाशित

चेन्नाई, २३ साउन । भारतको तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधीको मंगलबार मृत्यु भएको छ । चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मृत्यु भएको हो ।

तमिल नाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत जुलाई २८ मा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो ।

करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार गराइरहेका थिए । उनी खराब स्वास्थ्यका कारण दुई वर्षयता राजनीतिमा भने निष्क्रिय थिए ।

सन् २०१६ मा उनका छोरा एमके स्टालिनले कार्यकारी अध्यक्षको रूपमा डीएमके पार्टी सञ्चालन गरेका थिए । करुणानिधि सन् १९६९ को जुलाई २७ मा पार्टीको अध्यक्ष बनेका थिए ।

मंगलबार उनको मृत्युको खबर सार्वजनिक भएसँगै अस्पतालबाहिर उनका समर्थकको भीड लागेको थियो ।

करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि ५ पटकसम्म तमिलनाडुको मुख्यमन्त्री भए । १३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेनन् । उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवादसमेत लेखका थिए । एजेन्सी

प्रतिक्रिया