हनुमन्ते सफाइ अभियान १० टन फोहर संकलन

इनेप्लिज २०७५ साउन १२ गते ११:३६ मा प्रकाशित

भक्तपुर, १२ साउन । हनुमन्ते नदी सफाइ अभियानको आज २२ औं हप्ता अरनिको राजमार्ग खण्ड अन्तर्गत चारदोबाटो चोकदेखि गठ्ठाघरसम्मको सरसफाइ गर्दा १० टन फोहोर संकलन गरिएको छ ।

सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाईमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले आज यस क्षेत्रमा जथाभावी फालिएको १० टन फोहर संकलन गरिएको सफाइ अभियन्ता अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल चलचित्र कलाकार संघकी वरिष्ठ उपाध्यक्ष एवं अभिनेत्री लक्ष्मी गिरीको आतिथ्यमा भएको सफाइ अभियानमा चार सयभन्दा बढीको सहभागिता थियो ।

अभियानमा प्रतिनिधिसभा सदस्य बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीहरु सफाइ अभियानमा सहभागि थिए ।

प्रतिनिधिसभा सदस्य बस्नेतले खोला मिच्ने प्रबृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर हनुमन्ते खोलाको जग्गालाई व्यक्तिको नाममा गरिएकाको जग्गा फिर्ता गराइने बताउनुभयो ।

उहाँले हनुमन्ते करिडोर निर्माणको लागि सरकारले रु ८१ करोड बजेट बिनियोजन गरेर काम शुरु गरेको बताउँदै करिडोर निर्माणपछि डुबानमा नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

फोहोर संकलनको क्रममा गठ्ठाघरमा भएको नागरिक अस्पतालले आफ्नो फोहर लुकाएर सडकको किनारामा फाल्ने गरेको भेटिएको छ । अस्पतालमा प्रयोग भएका सिरिञ्ज, अन्य सामानसमेत फालिएको पाइएपछि अस्पतालले लापर्वाही गरेको भन्दै अभियन्ताले आक्रोश व्यक्त गरेका थिए । एक पटकलाई सचेत गराइएको र फेरि अस्पतालको फोहर सडकपेटीमा फालिए कडा कारबाहीको माग गरिने अभियन्ताले बताएका छन् ।

प्रतिक्रिया