शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०१:३८
वासिङटन डिसी 15:53

कर्मचारीमा जनताका सेवक हौं भन्ने भावना हुनपर्छ : प्रधानमन्त्री ओली

इनेप्लिज २०७५ साउन १० गते १३:०७ मा प्रकाशित

ललितपुर, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताएका छन् ।

प्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अकिृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई बिहीबार जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका छन् ।

नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिए । ‘तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर, अब वास्तविक परीक्षामा सहभागी हुदैहुनुहुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ, पारदर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’

 

प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरे । ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’, प्रधानमन्त्री ओलीले भने, ‘देशभित्र समाज छ, विभिन्न जातजाती छन् । धर्म संस्कृति छन् । ती सबै कुराको जानकारी राख्नु पर्दछ ।’

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको ओलीले बताए । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने ‘सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।’

देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘तपाईंहरु नयाँ परिस्थितीमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ’, उनले भने, ‘देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ ।’

प्रतिक्रिया