शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०१:३०
वासिङटन डिसी 15:45

पावर लिफ्टिङका स्वर्ण पदक बिजेता रुप कार्की मातृभूमि नेपाल पुगी के के गरे ?

इनेप्लिज २०७५ साउन १ गते २३:२८ मा प्रकाशित

काठमाडौ,पावर लिफ्टिङका अन्तर राष्ट्रिय च्याम्पियन रुप कार्की गत जेठ २९ गते वाशिंगटन डलस अन्तर राष्ट्रिय विमानस्थल बाट नेपाल प्रस्थान गरेका थिए । कार्कीलाई विदाई गर्न भर्जिनिया एनआरएन /अन्य संघ संस्थाका प्रतिनिधि तथा समाजका अगुवाहरू बिदाईका लागि विमानस्थल पुगेका थिए ।

उनि जेठ ३० गते बुधवार (तदनुसार १३ जुन २०१८) विहान अमेरिकाबाट नेपाल आई पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्या सहित खेलाडी र खेलप्रेमीहरुले भव्य स्वागत गरेका थिए । गैरआवासिय नेपाली संघ अमेरिकाकाको विशेष सहयोगमा पावर लिफ्टिङ खेल प्रवर्द्धन र प्रशिक्षण एवं कार्यशाला संचालन गर्ने उद्देश्यले कार्की नेपाल आएका थिए ।

 

उनको स्वागतमा आएका खेलप्रेमी र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै कार्कीले आफूले आफ्नो क्याटागोरीमा विश्वका तीन दर्जन भन्दा बढी प्रतिष्पर्धीहरुलाई उछिनेर विश्वविजेता बन्न सफल भएको बताएका थिए । कार्कीले नेपालमा पनि यो खेलको संभावना राम्रो भएकोले यसको प्रवर्द्धन गर्न आफू नेपाल आएको बताएका थिए ।

उनलाई स्वागत गर्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले अमेरिकाको व्यस्त जीवनमा पचास वर्षको उमेरमा पावर लिफ्टिङ जस्तो खेलमा विश्वविजेता बन्नु अत्यन्तै कठीन र सबै नेपालीहरुका लागि गौरवको कुरा भएको बताएका थिए । अर्का खेलप्रेमी बुद्धी कार्कीले विश्वविजेता रुप कार्कीले नेपालमा रहँदा काठमाडौं, वुटवललगायतका स्थानमा पावर लिफ्टिङ खेलको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम गरिने जानकारी गराएका थिए ।

विमानस्थलमा स्वागतका लागि शेखर बुढाथोकी, पत्रकार सोम सुसेली, स्वीकृति अधिकारी, पुर्व प्रहरी वरिष्ठ अधिकृत किरणजंग थापा लगायतको उपस्थिति थियो ।

बाग्लुङमा जन्मिएर रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ कुञ्जलापुरमा बसोबास गर्दै आएका कार्की विगत १५ वर्षदेखि अमेरिकाको भर्र्जीिनयामा बसेर पावर लिफ्टिङका विभिन्न प्रतिष्पर्धाहरुमा भाग लिँदै गत बर्ष विश्व च्याम्पीयन बन्न सफल भएका थिए ।

गत वर्ष जर्जियाको एटलान्टामा सम्पन्न भएको पावर लिफ्टिङ प्रतियोगितामा प्रथम स्थान हासिल गरि स्वर्ण पदक जित्न सफल कार्की सन् २०१५, २०१६, २०१७ र २०१८ मा उत्तर अमेरिका च्याम्पियन पनि बनेका थिए ।

छोटो बसाईका क्रममा काठमाडौंको महाराजगंजस्थित अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न जीमखाना मुअ थाईमा कार्कीले एक भब्य कार्यशाला, प्रशिक्षण एवं पावर लिफ्टिङका तीनवटै चरणका खेलहरुको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरुलाई एक एक गरि प्रशिक्षण प्रदान गरेका थिए । कार्कीले खेलका सबै नियमहरुको सविस्तार व्याख्या गर्दै पहिले आफूले गरेर देखाए पछि प्रशिक्षार्थीहरुलाई सबै खेलका सबै चरणको अभ्यास गराएका थिए ।

उक्त कार्यशालामा नेपालमा पावर लिफ्टिङका अत्तिरिक्त बडी विल्डिङ, भारोत्तोलन, कराँतेलगायतका खेलसम्बद्ध तीन दर्जन बढी कीर्तिमानी खेलाडी, प्रशिक्षक र प्रशिक्षार्थीहरुको सहभागिता एवं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा बरिष्ठ कलाकार सरोज खनाल, खेलकुद परिषद्का सदस्य रीम रानाभाट, मदन भण्डारी स्पोटर्स एकाडेमीका अध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्ष ध्रुव आचार्य, पावर लिफ्टिङका एशियाली च्याम्पीयन ज्ञानेन्द्र नकर्मी, भारोत्तोलनका एशियाली च्याम्पीयन बुद्धीजंग कार्की, काठमाडौ बडी बिल्डिङ एशोसिएसनका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडी बिल्डिङ एशोसिएसनका अध्यक्ष बाबुकाजी मानन्धर, बडि विल्डिङका धर्मश्री च्याम्पीयन जीवन गिरी, भारोत्तोलनका एशियाली च्याम्पीयन महेश महर्जन, फूल कन्ट्याक्ट कराँते कोच केदारमान स्थापीत, समाजसेवी तथा पूर्व प्रहरी नायव उपरिक्षक किरणजंग थापा, सामाजिक कार्यकर्ता बुद्धी कार्की, पत्रकार प्रदीप घिमिरे, जीमखानाका सञ्चालक राउल मोक्तान लगायत तीन दर्जन खेलाडीहरुको सहभागिता एवं उपस्थिति थियो ।

स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसक्नु भएका ओलम्पिक कमिटीका महासचिव टेण्डी शेर्पा तथा साहित्यिक व्यक्तित्व कृष्णधरावासीले फोनमार्फत शुभकामना दिएका थिए ।

आयोजकका तर्फबाट पत्रकार प्रदीप घिमिरेले पावर लिफ्टिङ खेल, यसको विधी र प्रकृया एवं रुप कार्कीले हासिल गर्नु भएको विश्व कीर्तिमानलगायतका विषयमा प्रकाश पारेका थिए । उनले उपस्थित सबैलाई स्वागत गर्दै विश्व कीर्तिमानी रुप कार्कीलाई उपस्थित सबैका तर्फबाट बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरि रुप कार्कीको नेपाल भ्रमणका लागि सहयोग गर्ने गैर आवासीय नेपाली संघ अमेरिका, संघका अध्यक्ष डा. केशव पौडेल, कार्कीका लागि नेपाल बस्दासम्म होटल सुविधा प्रदान गर्नु हुने वरिष्ठ समाजसेवी तथा चिन्तक कर्ण शाक्य र होटल व्यवसायी सुवास के.सी, यातायात सुविधा प्रदान गर्नु हुने प्रकाश राई, कार्यक्रमका लागि जीम हल प्रदान गर्नु हुने तथा कार्यक्रम आयोजना गरिदिने जीमखाना मुअ थाई र सञ्चालक राउल मोक्तानलगायत उपस्थित सबैलाई धन्यवाद एवं आभार प्रकट गरेका थिए ।

बुटवल र नारायणगढमा पनि रुप कार्कीले स्थानीय खेलाडीहरुलाई विभिन्न चरणमा प्रशिक्षण प्रदान गर्नुका साथै खेल प्रदर्शन र कार्याशालाहरु सञ्चालन गरेका थिए ।

वुटवलमा रुप कार्कीका नजिकका साथी तथा सहयोगी रुपन्देही बडिविल्डिङ एशोसिएसनका अध्यक्ष शिवध्वज राई, सचिव राजकुमार श्रेष्ठ, खेलाडी तथा खेलप्रेमीहरु सितु श्रेष्ठ, अनुप सैजु ,सोभित थापा, उत्तम प्रधान, खिमानन्द भटराई, गिरेन्द्र सुवेदी (सरोज), दिनेश श्रेष्ठ, नरेश श्रेष्ठ, गोपाल टन्डन, एम. बी. विश्वकर्मा, ज्ञानु मगरलगायत झरना स्पोटर्स क्लब, कुञ्जलापुरका खेलडी तथा खेलप्रेमीहरुको सक्रिय सहभागिता एवं साथ सहयोग रहेको थियो ।

भलबाडी जीमका बीरु गुरुङलगायत बुटवल ए.एन.ए फीटनेशका सबै खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुको साथ सहयोग रहेको थियो । यसै क्रममा कार्कीलाई विभिन्न स्थानमा विभिन्न संस्थाका पदाधिकारीहरुले सम्मान गरेका थिए । सहयोगी तथा शुभचिन्तकहरुमा रुप कार्कीले विशेष धन्यवाद एवं आभार प्रकट गरेका छन् ।

बसाईका क्रम छोटो भएका कारण राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम स्थगीत गर्नु परे पनि उहाँले प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरि नेपालमा पावर लिफ्टिङ खेलको संभावना, भविष्य र आफूले गर्न चाहेको योगदानका विषयमा गहन छलफल गरेका थिए ।

उक्त भेटघाटमा प्रधानमन्त्रीले कार्कीलाई बधाई एवं शुभकामना व्यक्त गर्दै एक जना नेपालीले पावर लिफ्टिङ जस्तो खेलमा विश्वकीर्तिमान राख्नु आफू र सम्पूर्ण देशबासीका लागि गौरवको कुरा भएको बताएका थिए । प्रधान मन्त्रि ओलीले भविष्यमा पावर लिफ्टिङ खेलका लागि रुप कार्कीले गर्ने हरेक प्रयास र कार्यमा आफ्नो र नेपाल सरकारको पूर्ण साथ सहयोग रहने प्रतिवद्धत्ता व्यक्त गरेका थिए ।

कार्कीले आफूले नेपालमा यो खेललाई संस्थागत गर्न चाहेको बताउँदै निकट भविष्यमा नै राष्ट्रव्यापी प्रतियोगिता सञ्चालन गर्ने सोचका साथ आफू नेपाल आएको बताउँदा प्रधानमन्त्रीले सरकारले त्यस्ता कार्यक्रमका लागि पूर्ण सहयोग गर्ने वचनबद्धत्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया