बागलुङमा ११ झोलुंगे पुल निर्माण

इनेप्लिज २०७५ असार ३० गते ८:०९ मा प्रकाशित

बागलुङ, ३० असार ।  झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् ।

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो ।

रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ । जिप्राकाको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ ।

त्यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङको सुप्राङ सिप्रुघाट, बरेङ गाउँपालिका, सल्यानको थप्लुङघाट र धुल्लुबाँस्कोटको लुग्दीखोलाघाटमा पुल बनेको हो ।

स्वीट्जरल्याण्ड सरकारको दातृ निकाय ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका–६ को गादीखोला र ओख्रेनीघाटमा पुन निर्माण भएको हो ।

ती दुवै पुलमा ढोरपाटन नगरपालिकाले पनि १५ प्रतिशतका दरले आर्थिक सहयोग गरेको छ भने दुई प्रतिशत जनश्रमदान परेको छ । दुई वर्षअघिको बाढीले दुवै पुल बगाएपछि सोही ठाउँमा नयाँ पुल निर्माण गरिएको हो । गादीखोला र तीनखेत जोड्ने झोलुंगे पुल बनेपछि भण्डारी गाउँ, कुदुम, पानीपोखरालगायत बस्ती लाभान्वित भएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

एघार वटै पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गरेको थियो । क्लबका सामाजिक परिचालक प्रेम केसीका अनुसार चालू आवभित्रै पुल निर्माण गर्ने लक्ष्य पूरा भएको बताउँदै आगामी आवमा थप छ पुल निर्माणका लागि सर्वेक्षण भइसकेको जानकारी दिनुभयो ।

‘बिवाइसी’ बागलुङले गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१० झोलुंगे पुल छन् । तीमध्ये २०० पुल जीर्ण भई पुनःनिर्माणको पखाईमा छन् । बजेट आएमा आगामी आवमा पनि पुल निर्माणको काम अघि बढ्ने जिप्राकाका इञ्जिनीयर बलविक्रम दाहालले बताउनुभयो ।

प्रतिक्रिया