भुटनीज अमेरिकनहरुको आठौँ इन्टर स्टेट फुटबल प्रतियोगिता सम्पन्न

इनेप्लिज २०७५ असार २७ गते २२:१७ मा प्रकाशित

भुट्निज कम्युनिटी अफ सिन्सिनाटी ओहायो र भुटनीज अमेरिकन स्पोर्ट्स काउन्सिलको संयुक्त रुपमा आयोजना गरेको आठौँ इन्टर स्टेट फुटबल प्रतियोगिता सामान्य विवादकाबीच सफलतापुर्वक सम्पन्न भएको छ ।

जुलाई ६ देखि ८ तारिखसम्म भएको फुटबल प्रतियोगितामा केहि अनुशासनको प्रश्न गम्भीर रुपमा उठेको छ । प्रतियोगितामा आयोजक, खेलाडीले फुटबल खेलप्रति देखाउनुपर्ने अनुशासनलाई बेवास्ता गरेका छन् । जसका कारण अमेरिकाजस्तो विकसित र फराकिलो सोच भएको देशमा भुटानी खेलाडीहरूको ब्यवहार र चरित्रप्रति प्रश्न चिन्ह खडा भएको छ।

आयोजक कमिटीले भुट्निज अमेरिकन स्पोर्ट्स काउन्सिलले ख्याल गर्नुपर्ने सामन्य कुरामा ध्यान दिन नसक्दा प्रतियोगितामा समन्वय गर्न गार्हो भएको थियो। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट खेलाडीहरु फुटबल खेल्न सिन्सिनाटी आएका थिए । तर, खेलाडीहरुले खेलप्रतिको आफ्नो अनुशासन देखाउन नसक्दा आगामी दिनमा यस्तो प्रतियोगिता आयोजना गर्ने कि नगर्ने भन्ने गम्भीर प्रश्न चिन्ह लागेको छ ।

होस्ट भुट्निज कमिनिटी अफ सिन्सिनाटी ओहायोले ‘धुम्रपान र मादक पदार्थ सेवन नगरौं’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरेको थियो । युवा उमेर जीवनको सबैभन्दा महत्वपूर्ण समय भएकाले यस्तो उमेरमा धुम्रपान र मादक पदार्थमा फस्न हुदैन तथा खेलले जीवनलाई स्वास्थ्य र एकआपसमा भाईचारा विकास गराउछ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

भुट्निज कमिनिटी अफ सिन्सिनाटीका अध्यक्ष प्रकाश शर्मा (गड्तौला) ले खेलाडीहरुले अनुशासन पालना नगर्दा प्रतियोगितामा सामान्य विवाद भएको बताउनु भएको छ। उनले खेलाडीहरुले रेफ्रिसँग विवाद गर्ने, आयोजकसँग विवाद गर्ने तथा खेल मैदानमा जथाभावी फोहोर मैला गरेको बताए। उनले खेलाडीहरु आगामी दिनका प्रतियोगिताहरुमा अनुशासन पालना नगरे, अमेरिकामा भुट्निज कमिनिटीले कुनै पनि कार्यक्रम गर्न स्थान पाउन गाह्रो हुने दुखेसो व्यक्त गर्नुभयो।

प्रतियोगितामा २९ वटा पुरुष टिम र ६ वटा महिला टिमले सहभागीता जनाएको थियो । पुरुष तर्फ फुटबलको उपाधि अमेरिकाको जर्जियाले हात पार्न सफल भएको छ । जर्जियाले फाइनल खेलमा क्यानडालाई १–० गोलले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको थियो ।

उपाधि जितेको टिमले नगद ७ हजार ५ सय डलर, ट्रफी र प्रमाण पत्र तथा उपविजेता बनेको क्यानडाले नगद ५ हजार डलर, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै महिलातर्फको उपाधि नर्थ डोकाटोले जितेको छ । उसले फाइनल खेलमा केनटुकीलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । उपाधि जितेको नर्थ डोकाटोले नगद २ हजार डलर, ट्रफी र प्रमाण पत्र तथा उपविजेता केनटुकीले १ हजार ५ सय डलर, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो ।

खेलका प्रमुख रेफ्रीमा रुपमा प्रख्यात रेफ्री जितु बस्नेत हुनुहुन्थ्यो भने प्राबिधिक रुपमा टिका राम राईको सहयोग थियो | उक्त कार्यक्रममा भुट्निज अमेरिकन स्पोर्ट्स काउन्सिलका अध्यक्षलाई उहाँको लामो सामजिक योगदानका लागि लाईफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरियो ।

कार्यक्रममा अलिकति विवाद आए पनि सबैको सहयॊगमा सफलता पुर्वक सफल भएको भुट्निज कम्युनिटी अफ सिन्सिनाटीका महासचिवले बताउनु भयो

प्रतिक्रिया