थाइल्यान्डको गुफामा फसेका थप चारजनाको उद्धार

इनेप्लिज २०७५ असार २६ गते १२:२७ मा प्रकाशित

बैङ्कक, असार २६ गते । करिब दुई हप्तादेखि थाइल्यान्डको चियाङ री प्रान्तस्थित एक गुफामा फसेका १२ जनामध्ये थप चार जनालाई सोमबार साँझसम्म सकुशल गुफा बाहिर ल्याइएको छ । सोमबारसम्म उद्धार गरिएकाको सङ्ख्या आठ पुगेको छ बाँकी चार जनालाई भने मङ्गलबार बाहिर ल्याउने तयारी भइरहेको समाचार संस्थाहरूले जनाएका छन् ।
सोमबार उद्धार गरिएका चार जनालाई पनि स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्समार्फत् अस्पताल लगिएको समाचारमा जनाइएको छ । १७ दिनदेखि गुफामा फसेका फुटबल खेलका प्रशिक्षकसहितका बालबालिको यो उद्धार कार्य संसारकै निकै चुनौतीपूर्ण उद्धार अभियानका रूपमा लिइएको छ उक्त उद्धार कार्यमा थाइ सेना तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका उद्धारकर्मी र गोताखोरहरू संलग्न छन् वर्षा मौसम भएकाले सो गुफाभित्र तीन चार स्थानमा पानी भरिएकाले साँघुरो भागमा पानी भित्र पौडिएर बालबालिकालाई बाहिर ल्याउन निकै कठिन मानिएको थियो ।
उद्धारमा ९० जना विशेषज्ञको टोली सक्रिय थियो जसमा ४० थाई र ५० जना विदेशी उद्धारकर्ता रहेको र उक्त टोलीले बालकलाई पूरै मुख छोप्ने अक्सिजन मास्क लगाउन लगाएर दुई जना तालिम प्राप्त गोताखोरहरूले पच्छयाउँदै बाहिर निकालेको थिए ।
गुफाभित्र पानी जमेको स्थानमा डोरी राखेर उनीहरूलाई डोरीको सहायताले बाहिर ल्याइएको थियो ।

प्रतिक्रिया