पुष्पलाल स्मृति प्रतिष्ठानको केन्द्रिय बैठक चितवनमा बस्दै

इनेप्लिज २०७५ असार १० गते १५:२० मा प्रकाशित

चितवन, असार १० ।

पुष्पलाल स्मृति प्रतिष्ठानको केन्द्रिय समितिको बैठक सोमवार नारायणगढमा बस्ने भएको छ । बैठकका लागी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल सहित अधिकांश सदस्यहरु चितवन आईपुगेका छन् । बैठक नारायणगढ स्थित पुष्पलाल स्मृति प्रतिष्ठन चितवनको कार्यालयमा सोमवार विहान ७ बजेवाट शुरु हुनेछ । प्रतिष्ठानमा २४ सदस्यीय केन्द्रिय समिति रहेको छ ।

बैठकमा विभिन्न जिल्ला शाखाका प्रतिनीधिहरु समेत सहभागी हुने प्रतिष्ठानका सचिव एवम् नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालले अघि सारेका बैचारिक कार्यदिशालाई थप व्यवस्थित बनाई कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा मुल रुपमा छलफल हुने सचिव रिजालले जानकारी दिनुभयो । सो क्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् नेकपाका स्थायी कमिटि सदस्य बेदुराम भुषालले “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । सो कार्यपत्र माथी घनिभुत छलफल हुने रिजालले जानकारी दिनुभयो ।

बैठकको स्थानिय व्यवस्थापन गरेको जिल्ला शाखाले सवै तयारी पुरा गरेको प्रतिष्ठान चितवनका प्रचार प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो । बैठक अघि नारायणगढमा रहेको पुष्पलाल स्मृति प्रतिष्ठानको परिसरमा निर्माण गरिएको पुष्पलालको शालिकको नेकपा बरिष्ठ नेता नेपालले अनावरण गर्ने कार्यक्रम छ ।

यसै बैठकका लागी चितवन आउनु भएका नेकपाका बरिष्ठ नेता नेता सोमवार दिउसो गोपाल थपलिया स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी बन्नुहुनेछ । दिउसो ३ बजे निर्माण व्यवसायी संघको हल भरतपुरमा हुने सो कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य र जेष्ठ सदस्यहरुलाई सम्मान गरिने जनाईएको छ ।

प्रतिक्रिया