आज जुन १६ शनिबार बिहान सान्फ्रन्सिस्कोमा एन आर ए अमेरिकाको नेपाल पर्यटन प्रबर्द्धन समितिको तर्फबाट एक प्रतिनिधि मण्डलले मानानीय पर्यटन मन्त्री रबिन्द्र अधिकारी ज्यु सँग भेट गरी निम्न सुझाबहरु पेश गरियो:

इनेप्लिज २०७५ असार ३ गते १६:२० मा प्रकाशित
मानानीय पर्यटन मन्त्री रबिन्द्र अधिकारी ज्यू।
नेपाल सरकार
सिंह दरबार काठमान्डु, नेपाल
बिषय: नेपालको पर्यटन ब्यबसाय बिकासको लागि सुझाब पेश गरिएको।
हाम्रो देश नेपालको आर्थिक स्तर उकास्न, बेरोजगार घटाउन तथा देशको चौतर्फी बिकासको निमित्त पर्यटन क्षेत्रको बिकास गर्नु महत्वपूर्ण रहेको देखिन्छ। हामीले बिदेशमा रहँदा आफ्नो देशको प्रचार प्रसार गरी सक्दो पर्यटक भित्र्याई नेपाल र नेपालीलाई सहयोग  पुराउने हाम्रो लक्ष्य रही आएको छ। हामीले हाम्रो तर्फबाट गर्ने प्रचार प्रसार आदिको आलावा हामीले बिदेशीहरुसँग गरिएको कुराकानी, बिदेशी सरकारहरुले नेपाल भ्रमणबारे आफ्ना देशका नागरिकलाई जारी गरिएको सूचना तथा बिभिन्न श्रोतबाट प्राप्त प्रतिकृयाहरुको आधारमा हाम्रो देश नेपालले केही सुधारहरु गर्नु आवश्यक देखिएको हुँदा नेपाल सरकारलाई सहयोग गर्ने उद्धेश्य अनुरुप निम्न सुझावहरु पेश गरिएको छ:
१ बिमान स्थल तथा सडक मार्गहरुको सुधार: नेपालका एर्पोर्टहरु खतराको सूचिमा रहेको, सडक मार्ग साघुरो तथा जताततै पहिरो जाने गरेकोले नेपाल यात्रा गर्न निर्धक्क नभएको भन्ने कुराहरु बिदेशी वेब साईटहरु उल्लेख भएको र यदी नेपाल भ्रमण जाने भए स्वयम् आँफै जिम्मेवार हुने र कतिपय अवस्थामा ईन्सुरेन्स समेत कभर नहुने आदि कुराहरु सचेत गराएको देखिएको हुँदा तत्काल सुधार गर्नु पर्ने आवश्यक देखिन्छ।
२ शान्ति सुरक्षाको ग्यारेन्टी: पर्यटकहरु लुटिने, कुटिने तथा चन्दा उठाउने आदि कुराहरु बेलाबखत संचार माध्यममा आउने गरेको छ। यसले नेपालको पर्यटनमा सुरक्षा स्थिति राम्रो नभएको भनी बिदेशमा नकारात्मक प्रभाव पर्न गएको छ। काठमाडौं तथा पोखरा जस्ता शहरहरुमा पर्यटक प्रहरी तथा देशको हरेक पर्यटक मार्गमा नेपाल प्रहरीलाई सकृय गराई सुरक्षाको अनुभुति दिनु आवश्यक देखिन्छ।
३ प्रभावकारी उद्धार ब्यबस्थापन: कुनै पनि पर्यटक बिरामी, दुर्घटना परी घाईते भएको अवस्थामा तत्काल उद्धार गरिने ब्यबस्था हुनु पर्ने आवश्यक देखिन्छ। नेपाल सरकारको मातहातमा एक प्रभावकारी उद्धार ब्यबस्थापन स्थापना गरी कुनै पनि अवस्थामा तयारी अवस्था राखिनु पर्दछ र कुनै पनि घट्ना भएको खण्डमा जसले केही घण्टाभित्र तत्काल उद्धार गरी पर्यटकको ज्यान जोगाउन सकियोस् । साथै पर्यटक हटलाईनको ब्यबस्था गरिनु पर्दछ।
४ पर्यटन क्षेत्रको होटल, रेस्टुरेन्ट तथा पसलहरुको अनुगमन: होटल ब्यबस्थापन, रेस्टुरेन्ट ब्यबस्थापन तथा पसलहरुको निरीक्षण तथा अनुगमन गरी गुणस्तरिय सेवा सुबिधा प्रदान गरिनु पर्दछ। होटल तथा लजहरु कमजोर ब्यबस्थापन, खानाहरु मिति सकिएका पुराना तथा पसलहरु जथाभावी मूल्य कायम गर्ने कार्यहरु रोक्नु पर्दछ। नेपाल सरकारले होटल ब्यबस्थापन तालिम, फुड ह्यन्डलिङ तालिम आदि प्रदान गरिनु पर्दछ।
५ नेपाल आउने पर्यटकहरुले ट्रेकिङ कम्पनीबाट गाईड वा भरिया लिनु पर्ने: बिदेशी पर्यटकहरु आफुखुशी आउने मनपरी ढंगले हिंड्ने गरेको हुँदा बेला बखत बाटोमा हराउने, लडेर मर्ने, आक्रमण हुने तथा अन्य समस्या पर्ने त्यसले गर्दा बिदेशी संचार माध्यममा समाचार भन्ने गरेको हुनाले यसले नेपालको पर्यटनमा नराम्रो असर पारेको छ। यदि कुनै पनि कम्पनी मार्फत गाईड्  या भरिया सेवा लिई गएको अवस्थामा यस प्रकारका समस्या रोकिने र पर्यटकको सुरक्षा हुने गर्दछ, यसले हाम्रो देशको बेरोजगार घटाउन समेत मद्धत पुर्याउछ। त्यसैले यो प्रकृया प्रभावकारी रुपमा लागू गरिनु आवश्यक देखिन्छ।
६ नयाँ पर्यटकीय गन्तब्य तथा पदमार्गको खोजी तथा प्रचार प्रसार गरिनु पर्ने: नेपालको धेरै जसो ट्रेकिङ गन्तब्य र पदमार्गहरु सधैं एउटै हुने गरेको हुँदा नेपालको पुर्व पश्चिमका बिभिन्न क्षेत्रमा अति सुन्दर तथा मनमोहक द्रिश्य अवलोकन तथा प्राकृतिक मनोरमता रहेको हुनाले ति ठाउँहरुको पहिचान गरी पद मार्ग तयार गरी नयाँ पर्यटकीय गन्तब्यको रुपमा बिकास गरिनु पर्दछ। जसले गर्दा थप पर्यटक भित्राउन मद्धत पुग्दछ र कुनै पर्यटक नेपालको मूख्य पुरानो ट्रेकिङ पद मार्ग सबै गैसकेको र नयाँ ठाउको ट्रेकिङ पद मार्गको चाहना गरेको  हुन सक्दछ।
७ वाताबरानीय सम्रक्षण तथा सगरमाथा सर सफाई अभियान: ग्लोबल वर्मिङका कारणले हुने वातावरण बिनास हुनाबाट जोगाउन पर्यटकिय क्षेत्रको बातावरण सम्रक्षण गर्नु जरुरी देखिन्छ। अर्को महत्वपूर्ण कुरा नेपाल सरकारले सगरमाथा अभियान चलाउनु पर्ने आवश्यक देखिन्छ, सगरमाथामा प्रसस्त फोहोर थुपारेर रहेको भन्ने समाचारले ब्यापकता पाएको छ। त्यसैले सगरमाथा सफाई अभियान  सरकारले चलाएको अवस्थामा विश्वमा राम्रो समाचार प्रबाह हुने भएको र विश्वको संचार माध्यमहरुको ध्यान त्यसतर्फ जाने भएको हुँदा विश्वमा नेपालको टुरिजमबारे ब्यापक प्रचार हुन गै देशलाई ठुलो फाईदा पुग्ने देखिन्छ। त्यसैले नेपाल सरकारले यो गरिनु आवश्यक देखिन्छ।
८ बिबिध: पर्यटकहरुलाई पछ्याएर पैसा मागेर हैरान पार्ने कार्य नियन्त्रन, पछ्याएर सामान बेच्ने नियन्त्रन, पर्यटकिय मार्गहरुमा चन्दा, फरक शुल्क लिने आदि पूर्ण रुपमा बन्द गरिनु पर्दछ।
यी माथि उल्लिखित कुराहरुको समाधान गरी, बिदेशीहरुलाई विश्वाश दिलाई अमेरिका, युरोपियन युनियन तथा सबै देशहरुलाई नेपाल यात्राबारे नकारात्मक प्रभाव पर्ने खालको त्यो देशको नागरिकलाई जारी गरिएको यात्रा सूचनामा परिवर्तन गर्न कुटनीतिक माध्यम पहल हुनु आवश्यक देखिएको हुनाले मनानीय पर्यटन मन्त्री ज्यू मार्फत यो सुझाब नेपाल सरकारमा पेश गर्दछौँ।
संयोजक
आङ जाङ्बु शेर्पा
नेपाल पर्यटन प्रबर्द्धन समिति
एन आर एन अमेरिका राष्ट्रिय समन्वय परिषद।

प्रतिक्रिया