फेसबुकका भित्ताहरूमा बग्छे
रात दिन
एक दिन होइन
दुई दिन होइन भन्दै
छोराको दु:ख वेदना कन्दै
कति कराउन सकेकी तिमी
चुप्प लागेर बस बुढी !
चुप्प लागेर बस्न नसके
भान्छा भित्र पस बुढी
रात दिन फेसबुक चलाउँदा
लाइक, कम्मेन्ट गर्दा
चौबिसै घण्टा अनलाइनमा पर्दा
क कसले फोटो टाँसे भन्दै
घोप्टी मुन्टो लगाएर
मेसेन्जरका बक्समा
च्याट भर्दा भर्दा
फेसबुकको पेज रोल गर्दा गर्दा
थकित बुहारीलाई
बिचरा दु:ख पाई भन्नु छैन !
बुहारीको रोजाइका
मिठा मिठा परिकार पकाएर
खुवाउनु छैन
अझ टिमुर्कीन्छ्यौ तिमी
कति कराउन सकेकी तिमी
चुप्प लागेर बस बुढी !
चुप्प लागेर बस्न नसके
भान्छा भित्र पस बुढी !!
छोरो दङ्ग छ
बुहारी उमङ्ग छ
नाति नातिनाको मुखको बोली
जे माग्छन् पाउँछन्
बजारका चिज बीज सबै
बोले घरमा आउँछन् !
म जस्तो कन्जुस छैन छोरो
पहिला पहिला पो
म र तिमी जस्तै थियो छोरो
डार्लिङ्ग ल्याए पछि फेरिएको छ
उदार भएको छ
सुधार भएको छ
तिम्ले मैले भनेको नमान्ने छोरो
सिन्को नभाँच्ने छोरो
अहिले टाउको न उठाएर काम गर्छ
बुहारी कै भर पर्छ
के भो त !
छोडिदेऊ कराउन
कति कराउन सकेकी तिमी
चुप्प लागेर बस बुढी !
चुप्प लागेर बस्न नसके
भान्छा भित्र पस बुढी
सुस्त सुस्त बोल बुढी
बुहारी स्काइपमा
भिडियो च्याट गर्दैछिन
कतिखेर फेसबुक
कतिखेर स्काइप
कतिखेर भाईबर
कति खेर फोन
उनलाई फुर्सद छैन !
बरु बिचमा प्याच्च नबोल
खाना खान बोलाउँदा इसाराले बोल
छोडिदेऊ कराउन
कति कराउन सकेकी तिमी
चुप्प लागेर बस बुढी !
चुप्प लागेर बस्न नसके
भान्छा भित्र पस बुढी
ए साँच्चै !
हिंजो बुहारीले पोस्ट गरेको
सेल्फी फोटो देख्यौ तिमीले ?
वाह कति लाइकका वर्षा
कम्मेन्ट पनि कति कति !
राति कामबाट फर्केर आए पछि
छोरो भन्दै थियो
वाह डार्लिङ्ग जता हेर्यो तिमी तिमी !
छोरो दङ्ग थियो
तिमी आफै भनत बुढी
मैले फोटो पोस्ट गरेर
छोराले फोटो पोस्ट गरेर
कसैले लाइक गर्छ
कसैले कम्मेन्ट गर्छ
तर हाम्री बुहारी कति पपुलर
वाह लाइक र कम्मेन्टका वर्षा
यस्तोमा त गर्व पो गर्नुपर्छ
बरु बिस्तारैमा पुर्याउ खाना, चिया र नास्ता
त्यसो गरेपो छोराले गर्ला हामीलाई वास्ता
छोडिदेऊ कराउन
कति कराउन सकेकी तिमी
चुप्प लागेर बस बुढी !
चुप्प लागेर बस्न नसके
भान्छा भित्र पस बुढी
– जुन १६ , २०१८, हाल अमेरिका
प्रतिक्रिया