शिशिर सिंखडा
खोलेसिमल, चितवन, २६ जेठ ।
चितवनको कालिका नगरपालिकाका उपमेयर कमला भट्टराईले विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गर्न नगरपालिका तयार रहेको बताएकी छन् । विभिन्न संस्थाहरुले समाजमा काम गर्ने बहानामा कागजमा मात्र सीमित नहुन भन्दै उनले समाजमा देखिने र प्रभाव पर्ने खालको काम गर्न समेत अनुरोध गरिन् ।
महिला समूह समन्वय समिति भरतपुर ८ पारसनगरको आयोजना तथा हेफर इन्टरनेशनल नेपालले आज आयोजना गरेको परियोजना अनुगमन तथा समन्वय समिति गठन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपमेयर भट्टराईले सबै गैर सरकारी संस्थाहरुलाई नगरसँग समन्वय गरी कार्य गर्न समेत उनले अनुरोध गरिन् । कार्यक्रममा नगर प्रमुख संयोजक र नगर उपप्रमुख उपसंयोजक रहने गरी अनुगमन तथा समन्वय समिति समेत गठन गरिएको थियो ।
महिला समूह समन्वय समितिकी अध्यक्ष गोमा देवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पशु वस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानहरुको संस्था सवलीकरण परियोजनाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष इम प्रसाद अधिकारी, समितिका परियोजना संयोजक सीता पौडेल, हेफर इन्टरनेशनल भरतपुर कार्यालयका कार्यक्रम प्रबन्धक प्रेम कुमार सामबयु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया