नयाँ भवनमा पढ्न पाएपछि बालबालिका मख्ख

इनेप्लिज २०७५ वैशाख १५ गते ८:०२ मा प्रकाशित

स्याफ्रुबँेसी रसुवा, १५ वैशाख : रसुवाको उत्तरी क्षेत्रमा दुई दिन हिँडेर भएपनि विद्यालय गएर पढ्न बाध्य छन् बालबालिकाहरु ।

जिल्लाको उत्तरी क्षेत्र स्याफ्रुबँेसीमा रहेको कोमिन श्यामेवाङफेल माध्यामिक विद्यालयमा धादिङको सेर्तुङ, तिप्लिङ र रसुवाको गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिङबाट विद्यार्थी आएर पढ्ने गरेका छन् ।

धादिङको सेर्तुङबाट दुई दिन लगाएर १० कक्षामा पढ्न आउनुभएका नुर्वु शेर्पा गाउँमा विद्यालय नभएपछि आफू उक्त विद्यालयमा आउन बाध्य भएको बताउनुहुन्छ । “गाउँमा राम्रो विद्यालय छैन, त्यसैले हामी यहाँ आएर पढेका हौँ,”– उहाँ भन्नुहुन्छ ।

सोही गाउँबाट कक्षा ९ मा पढ्न आउनुभएकी जुनुका लामा भिरको बाटो दुई दिन हिँडेर पढ्न आउनुपरेको बताउनुहुन्छ । “कक्षा ५ सम्म गाउँको विद्यालयमा पढ्यौँ, ६ कक्षादेखि यो विद्यालयमा पढेका हौँ,”– उहाँ भन्नुहुन्छ । विद्यालयमा नयाँ भवन निर्माण भएपछि उहाँ मख्ख हुनुहुन्छ ।

नुर्वू र जुनुकाजस्ता धादिङबाट मात्र १६ विद्यार्थी सो विद्यालयमा पढ्न आएका छन् । यसैगरी रसुवाको गत्लाङ, गोल्जुङ, थुमन, ब्रिदिङबाट समेत झण्डै १०० विद्यार्थी पढ्न आएका छन् ।

उनीहरु बेलुका घर जान टाढा भएकाले विदेशी सहयोगमा निर्माण गरिएको टिनको जस्तामुनिको होस्टलमा बस्ने गरेका छन् । घरबाट ल्याएको अन्नबालीलाई आफैँ पकाएर खाने गरेका छन्, उनीहरु ।

विद्यालयका प्राचार्य माधव लामिछाने विद्यालयमा भएका ४७६ विद्यार्थीमध्ये आधाजसो विद्यार्थी टाढाटाढाबाट आएर पढ्ने गरेको बताउनुहुन्छ । विसं २०७२ वैशाख १२ को भूकम्पले उक्त विद्यालय क्षतिग्रस्त भएको थियो । विद्यालय भत्केपछि लामो समयसम्म त्यहाँ पढाइ हुनसकेका थिएन । शुरुमा जिल्ला शिक्षा कार्यालय र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दिएको त्रिपालमुनी विद्यालयलाई पढाएकोमा पछिल्लो अवस्थामा टिनको जस्तामुनि मात्र पढाइ सञ्चालन भएको प्राचार्य लामिछाने बताउनुहुन्छ ।

भूकम्प गएको ठ्याक्कै तीन वर्ष पुगेको छ । रसुवा जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयको दुर्दशा देखेर जर्मन विकास सहयोगले १२ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण गरिदिएको छ । जर्मन विकास सहयोग (जिआइजेड)ले नेपालका लागि जर्मन र नर्वे राजदूतावासको आर्थिक सहयोगमा रु तीन करोड ६८ हजार ६७० लागतमा सो भवन निर्माण गरिदिएको हो ।

जिआइजेड पुनःनिर्माण क्षेत्रका उपप्राविधिक सल्लाहकार सन्तोष विष्ट भूकम्पपछि जिआइजेडले धादिङ, रसुवा र नुवाकोटमा ३७ स्वास्थ्य चौकी, १४ विद्यालय भवन र ४० सामाजिक तथा उत्पादनमूलक भौतिक संरचना निर्माण गरिएको बताउनुहुन्छ ।

रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको विद्यालय भवनको शुक्रबार नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न योहानेशन र नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शाफरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

सो अवसरमा राजदूत योहानेशन नेपालको शिक्षा क्षेत्रको विकासका लागि नर्वेले सन् १९९९ देखि सहयोग गर्दै आएको उल्लेख गर्दै गरिबीको उपचार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।

राजदूत शाफरले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा जर्मन सरकारले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै “शिक्षा क्षेत्रको विकास र विस्तारका लागि जर्मन सरकारले नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ भन्नुभयो ।”

गोसाइकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले विद्यालय भवन निर्माण गरेर राजदूतावासले बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको बताउँदै “गुणस्तरीय शिक्षा प्रदान गर्न यो अभियानले सहयोग पुग्नेछ ।”

अपांगता भएका छात्रछात्रासमेतलाई पठनपाठनमा सहज वातावरण मिलाउने उद्देश्यका साथ निर्माण भएको सो भवन ७६२ वर्गमिटर क्षेत्रफलमा ओगटेको छ ।

भूकम्पले स्याफ्रुबँेसीका विद्यालयमा ठूलो क्षति पु¥याएपछि सम्भावित भू–धरातलको जोखिमलाई समेत मध्यनजर राख्दै स्याफ्रुबँेसीमा रहेको स्यामेवाङ्फेल मावि र कोमेन प्राविलाई एकै ठाउँमा समायोजन गरी निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्पु छिरिङ तामाङ बताउनुहुन्छ ।

प्रतिक्रिया