साकेला उभौली अमेरिका विभिन्न शहरहरुमा मनाइदै

इनेप्लिज २०७५ वैशाख १४ गते २३:०५ मा प्रकाशित

सुरेश चाम्लिङ्ग/न्यु हेम्प्शायरबाट ,किरात राईहरुको महान चाड साकेला (उभौली ) युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यहरुमा मनाउने भएको छ। साकेलालाई भव्यता पुर्वक मनाउन बिभिन्न समितिहरु गठन गरिएको र उक्त समितिहरुले आ-आफ्नो तोकिएको काम सम्पन्न गरि रहेको कुरा अर्गनाइजेसनका सभापति बिष्णु राईले बताउनु भएको।

उहाका अनुसार केन्द्रिय समितिले मेरिल्याण्ड राज्यको बाल्टिमोरमा डीएमभीपी (वाशिङ्गटन डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभानिया) लोकल च्याप्टरसंग संयुक्त रुपमा साकेला मनाउने भएको छ भने च्याप्टरहरु न्युयोर्क, न्युजर्सीले क्विन्स ब्रिज पार्क न्यु योर्कमा र न्यु इंग्ल्याण्ड, म्यासाच्युसेट्स, न्यु हेम्प्शायर, कनेक्टिकट, च्याप्टरले बोस्टनमा त्यसैगरी क्यालिफोर्निया च्याप्टरले सान फ्रान्सिस्कोमा कार्यक्रम गर्ने भएका छन्।

सल्लाहकार तथा साकेला कार्यक्रमको केन्द्रिय संयोजक मिलन राईका अनुसार कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर हन्ट भ्याली स्थित होटल म्यारियटको कन्भेन्सन हलमा अर्गनाइजेसनको कन्भेन्सन मे २६,२०१८ हुने र साकेला कार्यक्रम भ्याली स्टेट पार्क उडलावनमा मे २७, २०१८ मा हुने भएको छ। साकेलामा आउने पाहुनाहरुको लागि सोहि होटलमा कोठाहरु बुक गरिएको छ।

त्यसैगरी कार्यक्रमको प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदूतलाई निमन्त्रणा पठाई सकिएको कुरा उहाले बताउनु भएकोछ। अर्गनाइजेसनका केन्द्रिय उपसभापति मुना राईका अनुसार अमेरिकामा जन्मेका वा नेपालबाट सानो उमेरमा अमेरिका आएर स्कुल कलेज पढ्ने बिद्यार्थीहरुलाई किरात मुन्धुम, साकेलाको महत्व र तीन चुलाको महत्व सम्बन्धि बिभिन्न लेख रचना वा स्पीचको लागि आव्हान गरिएको छ।

सल्लाहकार शिब कुमार राईका अनुसार विभिन्न स्कुल तथा कलेजमा ग्राजुएसन गर्नेहरु तथा अर्गनाइजेसनको संरक्षक आजीवन मानार्थ सदस्यहरुलाई प्रमाण पत्र दिइने छ। सलाहकार धौलबीर राइको अनुसार बिभिन्न राज्य देखि आएर साकेला पर्फर्मेन्स गर्ने टोलीहरुलाई तयारी अवस्थामा राखिएको छ।

न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष मुक्ति नारायण राईका अनुसार मे १९, २०१८ बोस्टनमा हुने कार्यक्रमको लागि बोस्टन र न्यु हेम्प्शायारमा योङ्ग जेनेरेशनहरुले साकेला सिल्लीको अभ्यास गरि रहेका छन्। प्रत्येक वर्ष साकेलाको उपलक्षमा गरिने रक्तदान कार्यक्रम अमेरिकी रेडक्रसको व्यस्तताले गर्दा सेप्टेम्बरमा गरिने भएको छ।

यसरी नै क्यालिफोर्निया च्याप्टरबाट बोर्ड मेम्बर जी एस राइका अनुसार सम्पूर्ण नेपाली संघ संगठनहरुलाई निमन्त्रणा गरिने र भब्यरुपमा जुन ९, २०१८ मा साकेला गर्ने कार्यक्रम रहेको छ।

न्यु योर्क च्याप्टरका अध्यक्ष केशब राम राईका अनुसार न्युयोर्कमा जुन २३, २०१८ मा साकेलाको मैजारो गरिने भएको छ। उहाका अनुसार नक्छुंगको ब्यबस्था भुटानी कम्युनिटीबाट गरिने छ।

प्रतिक्रिया