बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०८:१४
वासिङटन डिसी 22:29

च्याम्पियन्स लिगमा मड्रिडको संघर्षपूर्ण जित

इनेप्लिज २०७५ वैशाख १३ गते १४:२६ मा प्रकाशित

लण्डन, १३ वैशाख । साबिकको बिजेता तथा स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको पहिलो लेगमा रियलले जर्मन क्लब वायर्न म्युनिखलाई २ – १ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा वायर्न रियलसँग स्तब्ध बनेको हो । रियललाई जित दिलाउन मार्सेलो र मार्को एसेन्सियोले समान एक एक गोल गरे । वायर्नका जोशुवा किमिचले एक गोल गरेका थिए ।

एलिनाज एरिनामा खेलको २८ औं मिनेटमा किमिचको गोलबाट वायर्नले सुरुवाती अग्रता बनाएको थियो । जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्नले त्यसलाई जोगाउन सकेन । खेलको ४४ औं मिनेटमा रियलका मार्सेलोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलका एसेन्सियो चम्किए । खेलको ५७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई २ – १ को महत्वपूर्ण जित दिलाए । च्याम्पियन्स लिगमा वायर्न्विरुद्ध रियलको यो लगातार छैटौं जित हो । यस्तै रियलको यो च्याम्पियन्स लिगमा १५० औं जित हो ।

यो जितसँगै रियलले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अनब रियललाई दोस्रो लेगमा बराबरी खेले फाइनलमा पुग्न प्रयाप्त हुने छ ।

वायर्नलाई भने जित बाहेक अन्य विकल्प रहेको छैन । रियलको मैदानमा हुने दोस्रो लेगमा वायर्नलाई जित निकाल्न मुश्किल भने हुनेछ । दोस्रो लेग अर्को साताको मंगलबार हुने छ ।

प्रतिक्रिया