शिक्षामन्त्रीबाट विद्यालय भवन हस्तान्तरण

इनेप्लिज २०७५ वैशाख १२ गते १५:३८ मा प्रकाशित

पालुङटार, गोरखा, १२ वैशाख : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धर्मोदय माध्यमिक विद्यालयको पुनःनिर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगजाइकाको ऋण सहयोगअन्तर्गत रु पाँच करोड ६१ लाखमा १८ महिनामा निर्मित कूल १३ कक्षाकोठाको पाँच भूकम्पप्रतिरोधी भवनको मन्त्री पोखरेलले उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गर्नुभयो ।

मन्त्री पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा अत्याधुनिक र बालमैत्री भवनको आवश्यकता पर्ने भन्दै आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले जिम्मा लिएर समयमा पुनःनिर्माण नगर्ने दाताको विकल्पकाबारेमा पनि सरकारले सोच्ने उल्लेख गर्नुभयो । उहाँले संविधानको कार्यान्वयनका क्रममा आगामी पाँच महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षकलाई गुणस्तरीय शिक्षा दिन नसक्ने भएमा विद्यालयबाट बिदा लिन सुझाव दिनुभयो । मन्त्री पोखरेलले अपांगता भएका विद्यार्थी साजन कुमाललाई विद्यालयमा नयाँ भर्ना गराइ अभिभावकत्वसमेत लिनुभयो ।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट जिल्लाका क्षतिग्रस्त ४४३ मध्ये हालसम्म २५४ विद्यालय पुनःनिर्माण भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० निर्देशक इमनारायण श्रेष्ठले विद्यालय पुनःनिर्माणले मुलुकभर क्रमशः गति लिन थालेको बताउनुभयो ।

मन्त्री पोखेरलले आजै सो नगरपालिकास्थित भवानी मावि, अमरज्योति जनता मावि, शारदा मावि र गोरखा पोलिटेक्निकल इन्स्टिच्युटको अवलोकन र निरीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया