चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका, एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

इनेप्लिज २०७४ चैत २२ गते ११:०२ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २२ चैत्र ।
चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए । सो लामिछाने पोल्ट्री फर्म द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएपनि फर्मको सबै कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले हेर्दै आएका छन् ।

विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा पाई आज बिहिबार दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सोही फर्ममा पुगेका थिए । कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको छ तर रिपोर्ट आएपछि यथार्थ भन्न सकिने उनको भनाइ थियो ।

कसरी शुरु भयो त रोग ?

गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौं गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनले तत्काल कुखुराको परीक्षणको लागि भरतपुर पुगे । १६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । सो रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौ पठाउनुपर्ने थियो । उनीहरुले पठाइदिएनन्, लामिछानेले दुःखेसो गरे । मैले पटक पटक काठमाडौको रिपोर्ट नआएको गुनासो गरेपछि सुनुवाई भएन । त्यसको लगत्तै मैले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि स्याम्पल लिएर गएको थिए, उनले भने । त्यतिखेर खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेका थिए, लामिछानेले भने । त्यस दिनको रिपोर्टमा पनि पहिलाको जस्तै पोजिटिभ रिपोर्ट आएपछि बल्ल परीक्षणको लागि जिल्लाबाट स्याम्पल काठमाडौ पठाइएको थियो, उनले भने । पटक पटक हामीले जिल्ला पशु सेवा कार्यायलमा निरीक्षणको लागि अनुरोध गर्दा पनि यसतर्फ सुनुवाइ नभएको उनले गुनासो पोखे । आज वहाँहरु निरीक्षणमा आउँदा ढिलो भइसकेको थियो । करिब करिब सबै कुखुराहरु सकिने अवस्था थियो ।
कुखुरा फर्म सञ्चालकलाई भएको क्षति

 

लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ ।
उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरु थुप्रा थुप्रा लगाई राखिएको छ । अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा देखिन्छन् भने मरेका कुखुराहरु थुप्रो थुप्रो र ठाउँ ठाउँमा खोरभित्रै ढलेको देखिन्छ भने केही ढल्दै गरेको पनि देखिन्छ ।

सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा कुखुरा सबै सकिने अवस्थामा छ, उनले दुखेसो पोखे । कृषि विकास बैंक भरतपुर शाखाबाट ४७ लाख रुपैया ऋण लिई कुखुरापालन गर्दै आएका लामिछाने परिवारले अब ऋण कसरी तिर्ने भन्नेमा समस्या भएको बताए । सामान्यतया प्रति कुखुरा ८ सयको दरले पनि करिव ४० लाख रुपैया भन्दा बढी क्षति भएको समेत उनले बताए ।

बर्ड फ्लुको आशंकामा परिवारजनले घर छाडे

१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् । रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् । विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ ।

सञ्चालक लामिछानेलाई ३ दिनदेखि मरेका कुखुरा गाँड्न भ्याईनभ्याई

फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता हुनै लाग्यो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाई कुखुरा गाँडेका छन् । उनले शुरुमा खाल्डो खनी ४ सय कुखुरा गाँडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनी करिव ७–७ सय कुखुरा गाँडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनी १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेका थिए । उनले आज पनि आफु, श्रीमती र खाडल खन्ने खेताला समेत लगाई गहिरो इनार जस्तो खाडल खनेका छन् । हालसम्म उनले ५ वटा खाडल खनेर कुखुरा गाडेको देखाएका थिए । सो कुखुरा पुरेको ठाउँ वरपर दुर्गन्ध समेत फैलिएको छ भने अब उनको बारीमा थप कुखुरा गाँड्ने ठाउँ समेत अभाव देखिएको छ ।

मरेका कुखुराको ल्याव परीक्षण कहाँ हुँदैछ त ?

२ पटकसम्म १६ गते र २० गते भरतपुर स्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो । सो रोग देखिएपछि काठमाडौ पठाइएको स्याम्पल छिटो छिटो भन्दा परीक्षण गर्न पटक पटक काठमाडौं स्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए । आजपनि धेरैपटक मैले फोन गरे, ३ बजे दिउसो आउने भनेको रिपोर्ट आएको छैन, १ हप्ता भयो खोरको कुखुरा मरेर सकिइ सक्यो, उनले भने ।

प्रतिक्रिया