अमेरिका आएको ३-६ महिना भित्र के पुरै अमेरिका कप्लक्क खान सकिन्छ र ?

इनेप्लिज २०७४ चैत १५ गते २३:३७ मा प्रकाशित

विजय थापा ,भनिन्छ ,जति बुझ्यो त्यति नै बुझ्न गाह्रो हुन्छ । त्यसमा पनि अमेरिकाको त कुरै गरेर साध्य नै छैन ? यति बिशाल छ फेद र टुप्पा बुझ्न नै दशकौ बिताउनु पर्ने हुन्छ । त्यतिले सामान्य जानकारी हासिल गर्न सकिने मात्र हुन्छ ।

अमेरिकामा जति गहिराई गयो त्यतिनै अझ गहिरो जानु पर्ने हुन्छ । दशकौ सम्म अमेरिकामा बसेर सामान्य कुराहरुमा हामी अल्मलिएका हुन्छौ । अमेरिका बुझ्न अध्ययन जस्तै हुन्छ ।

बुझेर नसक्नु को छ अमेरिका । तर आश्चर्यको कुरा के छ भने अमेरिका आएको ३-६ महिना भित्र पुरै अमेरिका कप्लक्क खाएको जस्तो कुरा गर्ने नेपाली फेला पर्दछन । नया नया आउनेलाई कति छिटो अमेरिका बुझेको जस्तो पनि लाग्दछ । ३-६ महिना सम्म अमेरिका आएकाले अमेरिकाको आकाश देखि पाताल सम्म को कुरा सुनाउदा अल्बर्ट आइन्सटाईन र १३ बर्ष को उमेरमा बिश्व बुद्धिचाल बिजेता बबी फ़िशर भन्दा पनि विद्वान जस्तो पनि लाग्न सक्छ ।

नलाग्नु कसरी ? सवै कुरा फरर भने पछि अबुई जस्तो लाग्छ । नजान्ने भन्ने कुरा चाही हैन । कैयौ मानिस ,युवा युवती विलक्षण प्रतिभाका हुन्छन । जे कुरा पनि टपक्क टिप्ने ।

भनिन्छ आधा गाग्रो छचल्किन्छ । शायद यस्तै हो कि । अमेरिका आएको ३-६ महिना सम्म कसरी अमेरिकाको सबै ज्ञान हासिल गरेको भन्ने प्रश्न उब्जिन्छ । अमेरिकामा बिभिन्न राज्यहरुमा भर्खर अमेरिकामा आएर भारी बिसाएकाले यस्तो कुरा गर्दा ट्वाल्ल परिन्छ ।

सामाजिक संजालको चमत्कार तथा मार्क जुकरवर्गले अविष्कार गरि दिएको सामाजिक संजाल फेसबुक ( मुहार पुस्तिका ) को माध्यम बाट अथाह ज्ञान हासिल गर्न पनि सकिन्छ । तर छोटो समयमा बेली बिस्तार लगाएर सवै कुरा भन्न सक्नु नै ठूलो कला तथा बिशेषता मान्नै पर्छ ।

आफु अमेरिका आए पछि १ बर्ष भित्र एक नेपाली समुदाय कै एक सदस्यले चन्द्रमा सम्म को कुरा बताउदा म जिल्ल परे । यो युवाले कति जानेको जस्तो लाग्यो । आफु पनि नया भएकोले जे भने पनि होला भन्ने ठानियो । चर्चा परिचर्चा पनि चल्यो ।

तर बिस्तारै कुरा बुझ्दै जाँदा र अमेरिकाको बसाईको अवधि थप संगै अमेरिकाको केही कुराहरु बुझ्न पाउँदा हर्ष लागेको छ । अमेरिका आएका नेपाली समुदायले यस्ता मानिस पनि भेट्ने गर्छन । हरेक राज्यमा यस्ता कुरा गर्ने मानिस फेला पर्न सक्छन । कैयौ यस्ता कुराहरु दोचार्ने मानिस हुन्छन ।

मेधावी मानिसले छिटो टिप्न पनि सक्दछन । असम्भव भनेको हुदै हुदैन । हरेक कुरा सम्भव हुन्छ । तर बिचार गर्नु पर्ने कुरा भनेको के अमेरिका आएको ३-६ महिना मै आकाश देखि पाताल सम्म का कुराहरु जान्ने मानिस फेला पर्दछन त ?

आफू यस्ता मानिस संग ३ पटक भेट्ने मौका प्राप्त गरे । शायद तपाई पर्नु भएको छैन होला । न पर्नु नै राम्रो । यस्ता कुराहरु गर्ने अन्य मानिसको मुख बाट पनि सुनेको छु अमेरिकामा ।

साधारण सिद्दान्त भनेको झुठ नबोलौ । सामाजिक संजाल को युग भएकोले अरुले पनि थाहा पाउने छन् र जान्ने होलान भनि बोल्दा नियन्त्रण गरेर बोल्ने गरौ । यसैमा आफ्नो भलाई छ । सवैको कल्याण छ ।

३- ६ महिना भित्र नै आकाश देखि पाताल सम्म कप्लक्क खान सकिदैन । सवैको जौ होस् ।

प्रतिक्रिया