शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ००:४९
वासिङटन डिसी 15:04

वासुशशीको ८२औं जन्मजयन्तीमा उनको सम्झना

इनेप्लिज २०७४ चैत १३ गते १:५२ मा प्रकाशित

गोविन्द गिरी प्रेरणा ,नेपाली साहित्य जगतमा वासुशशीको नामले सुपरिचित आधुनिक कवि साहित्यकारको वास्तविक नाम वासुदेव वैद्य हो । उनको जन्म विसं १९९२ चैत्र १३ गतेका दिन भएको थियो । मूलतः कवि तर साहित्यको क्षेत्रमा उनको कलम भने धेरै विधामा चलेको थियो । उनले कथा लेखे, नाटक लेखे, उपन्यास लेखे, फिल्म लेखे, अनुवादको काम गरे, सम्पादनको काम गरे । आफ्नो जीवनकालमा उनी तत्कालिन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा तथा परिवार नियोजन संघमा काम गरेका भए पनि जीवनको पछिल्लो समयमा पूर्णतः लेखनमा मात्र समर्पित भएका थिए ।

नेपाली साहित्यमा रोदीघर नामक एक साहित्यिक जमात स्थापना भएको थियो जसले साहित्यिक क्रियाकलापहरु गर्ने गर्दथ्यो । त्यो समूहमा कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन हिमाँशु थापा थिए र थिए वासुशशी पनि । तर पछि त्यो समूह विघटनपछि उनी साहित्यिक संघसंगठनमा लागेनन् । कवि सिद्धिचरण श्रेष्ठलाई यिनी निकै श्रद्धा गर्दथे र उनको जीवनकालमै सिद्धिचरण प्रतिष्ठानको परिकल्पना वासुशशीले नै गरेका थिए ।

उनको विशौं शताव्दीको गीत शिर्षकको कविता माष्टरपिस कविता हो । उनले नेपाली भाषामा मात्र होइन नेपाल भाषामा पनि नाटक लेखेका थिए र मञ्चन भएका थिए । उनको एउटा नाटक नारायणगोपाल राष्ट्रिय नाचघरको महाप्रवन्धक भएको वेला सवथोक गर्नुपर्छ शिर्षकमा मञ्चन भएको थियो व्यावसायिक रुपमा । उनले माया चलचित्रको कथा पटकथा तथा सम्वाद लेखेका थिए भने लोभीपापी चलचित्रको कथा । त्यस्तै मान्छेको मूल्य, कृष्ण दर्शन, विर्सनै नसकिने मान्छे, तेश्रो वच्चा, उपहार, आफ्नो घर, रातो पुल लगायत टेलिफिल्महरु पनि लेखेका थिए ।

उनले धेरै उपन्यास शुरु गरेको तर पूरा नभएको वताउने गर्दथे । तर २०३९ सालमा फूल ओइलाएपछि उपन्यास प्रकाशित भएपछि उनको त्योे उपन्यासलाई अत्यधिक रुचाइयो र पहिलो संस्करण छिटै सकियो । तर दोश्रो उपन्यास भने उनको देहावसानपछि मात्र प्रकाशित भयो ।

वासुशशीका जीवनकालमा प्रकाशित कृतिहरु यस प्रकार रहेका छन्ः

कविता सङ्ग्रह

१, मेरी उषा (२०१६)
२, केही कविता (२०१७)
३, पानी गल्दैन(२०१७)
४, एउटा यस्तो फूल चाहिन्छ (२०२३)
५, वासु शशीका कविता (२०३६)सम्पादकः कुमारवहादुर जोशी

गीत सङ्ग्रहः

१, शशीका केही गीत

नेवारी नाटकः

१, ताचा प्वायँ (२०२३)
२, झूमि यँम्ह मनु (२०४२)

नेपाली नाटकः

१, तीन नाटक(इरा, अपमानित आत्मा र संरक्षण) २०२४
२, वाँसुरीमा नअटाएका धूनहरु (२०४२)

उपन्यासः

फूल ओइलाएपछि (२०३९)
अनुवादः

१, विश्वका श्रेष्ठ कथा (२०३०)
२, जाँवार्वा (२०३१)
३, सारा मेरा सन्तान (२०४४)
४, जापानको सवभन्दा लामो दिन (२०४५)

वासुशशीको देहान्तपछि उनको नाममा खोलिएको वासुशशी स्मृति परिषदले वर्षेनी वासुशशी जयन्ती मनाउनुका साथै वासुशशीका अप्रकाशित पुस्तकहरु पनि प्रकाशन गर्ने वा प्रकाशनको चाँजो पाँजो मिलाउने गरेको छ । जसको फलस्वरुप वासुशशीको देहान्तपछि वासुशशी स्मृति परिषद र अन्य प्रकाशनवाट निम्न कृतिहरु प्रकाशित भएका छन् ः

कविता सङ्ग्रहः

यौटा नदी छ मभित्र (२०५१)

गीत सङ्ग्रहः

जहाँवाट तिमी आइनौ (२०५३)

मुक्तकः

मान्छेको ह्ृदयवाट गएको मान्छ (२०५०)

नेपाली नाटकः

१, उपहार (२०५१)
२, वासुशशीका नाटक (२०६१)
३, वुद्ध (२०६६)

उपन्यासः

संसारमा सवभन्दा एक्लो जीव (२०५२)

अनुवादः

उमर खैयामका रुवाइहरु (२०६०)

वासुशशीको देहान्त पछि प्रकाशित पुस्तकहरुमा उनको परिवार र आफन्त वाहेक उनको कृतित्वलाई उजागर गर्ने एक मात्र वासु शशी भक्त थिए कैलाश भण्डारी । उनी वासु शशीको जीवनकालमा उनको साथमा हिंडे, उनको साथमा यात्रा गरे, संगत गरे, सहयात्रा गरे । गान्धी शैलीको जीवन थियो यिनको ।

यिनैले वासुशशीको जीवनीको पुस्तक तयार गरे र वासुशशी स्मृतिपरिषदले प्रकाशन ग¥यो वासु शशी व्यक्तित्व र कृतित्व ।

यिनले वासु शशीका ३ कृति सम्पादनमा पनि योगदान पु¥याए । यौटा नदी छ मभित्र कविता सङ्ग्रह, मान्छेको ह्ृदयवाट गएको मान्छे मुक्तक सङ्ग्रह उनले एकल सम्पादन गरे भने वासु शशीका नाटक प्रद्युम्न जोशीका साथ सम्पादन गरे । त्यति मात्र नभई उनको आफ्नो प्रकाशनवाट मान्छेको ह्ृदयवाट गएको मान्छे प्रकाशन समेत गरे ।

यो ठूलो भक्ति हो वासु शशी प्रति, यो यौटा ठूलो योगदान हो नेपाली साहित्यलाई । तर मृगौला रोगका कारण यिनको पनि देहान्त भैसकेको छ तर वासु शशीको चर्चा गर्दा एक प्रकारले अभिभाज्य नाम हो भन्ने ठान्दछु म कैलाश भण्डारीलाई ।

विसं २०६३ सालमा वासु शशीका गीतहरुलाई प्रख्यात साहित्यकार तथा गीत संगीतका हस्ती गणेश रसिकले आफ्नो संगीतमा तिम्रो सपनाहरु सिडी एल्वम प्रकाशन भयो ।

वासु शशी जीवन कालमा जति जीवन्त थिए, देहावसानपछि पनि उनका कृतिहरुले जीवन्त राखेकै छन् । अझ उनका अप्रकाशित रचनाहरुको सिलसिलावद्ध प्रकाशनले उनले दिएर गएका रचनाहरुको लालन पालन भइरहेको भन्ने वुझ्न सकिन्छ ।

वासु शशीको देहान्त वम्वईको अस्पतालमा भयो २०४९ चैत्र ४ गते । तर जीवनको अन्तिम वेला उनी नेपाल आउन चाहन्थे, तर उनको त्यो चाहना भने अधूरै रह्यो |

प्रतिक्रिया