भाषा र संस्कृतिको जगेर्ना गरौ नत्र ढिलो होला ! ,बाबा राजेश्वरी थापा

इनेप्लिज २०७४ चैत ११ गते १६:२२ मा प्रकाशित

मैले सकेसम्म शुद्ध नेपाली भाषाका शब्द जो लोप हुने अवस्थामा छन तिनको प्रयोग ज्यादा गर्न थालेको थिए तर परिवारबाट एउटा आलोचना आयो, मैले तल्लो स्तरको नेपाली शब्द प्रयोग गर्छु भनेर, यति मात्र नभई यस्ता शब्दहरु प्रयोग नगर्न चेतावनी समेत आयो। मैले सोधे “पोई, आईमाई, खप्पर, गिदी, चाक के यी अश्लील शब्द हुन?” उताबाट जवाफ आयो “होइन तर यी नराम्रा शब्द हुन”। मेरो परिवारले यो मामिलामा बढी बोल्न र सवालजवाफ गर्न चाहेन तर मेरो मनमा एउटा खुल्दुली मेटिएन। हामीले राम्रा र माथिल्लोस्तरका शब्द प्रयोग गर्ने क्रममा नेपाली भाषामा धेरै हिन्दी र अंग्रेजी भाषाको मिसाबट गरेका छौं। यसको शिकार नेपाली भाषा मात्र नभई अन्य भाषा, नेवारी, मैथली, तामागं, गुरुगं लगायत थप्रै मातृभाषाहरु भएकाछन।

हामी आफै आफ्नो खुट्टामा बन्चरो हानीरहेका छौ, एकतिर राष्ट्रीयता र देशभक्तिको नारा गाउदैछौ अर्कोतिर बिदेशी सभ्यता र भाषाको जगेर्ना गर्दैछौ। जब छोराछोरीले खरर अंग्रेज़ी बोल्छन वा अंग्रेजीमा राम्रो नम्बर ल्याउछ तब आमाबा फुरूगं पर्छन, अनि त्यही आमाबा छोराछोरी नेपाली विषयमा फेल हुदा वा कम अंक ल्याउदा केके नै पुरुषार्थ गरेको झ्याली पिटाउदै हिड्छन्। छोराछोरी अमेरिका अस्ट्रेलिया पठाउन घरखेत बेच्न बन्धक राख्न समेत पछि पर्दैनन्। तिनै आमाबाहरु सामाजिक स्थलमा, भेला वा जमघटमा कुर्लिने गर्छन,”युवापुस्ता बिग्रिए, खाली पश्चिमी संस्कृति अंगाल्छन, फलानोको छोरोले राती बियर खाएर आयो, फलानो कि छोरी डिस्को जान्छे आदिइत्यादी।”

हामीमा चेतना कहिले आउछ? भाषाको सम्बर्धन गर्नुपर्छ, संस्कृतिको सम्बर्धन गर्नुपर्छ देशको अस्तित्व बचाउनुपर्छ भन्ने चेत कहिले आउछ? क्रिसमस, अंग्रेजी नया वर्ष मनाउदा किन आनन्द लाग्छ हामीलाई, अझै आजभोली चलेको संस्कार विवाहमा मेहन्दी लगाउने, ब्याचलर पार्टी, बेबी सावर आदि। हामी कुन दिशातिर जादैछौ? अरुको भाषा, संस्कार र धर्मको सम्मान गर्नु उदारता हो तर आफ्नो भाषाको, संस्कार र धर्मको अवहेलना गरेर आफ्नो अस्तित्व नै मेटिने अवस्थामा पु्ग्नु कहाको बुद्धिमानी हो?

नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारी हो, यहाँ अनेकौ भाषाभाषिका छन, सार्है राम्रा कलासंस्कृति र भोजनका परिकारहरु छन तर हाम्रो समस्या भनेको एक जातिले अर्को जातिको भाषा र संस्कृतिलाई सम्मान नगर्ने, एकले अर्कोलाई शंकाको दृष्टिले हेर्ने, सोझो अर्थमा भन्नुपर्दा “तं भन्दा म के कम” को अहंमकारी भावना हो। हाम्रो “भाई फुटे गँवार लुटे” को लडाईको फाइदा अरु कसैले उठाईरहेकोछ। हामीले अफगानिस्तान, टुनेजिया, इजिप्ट, लिबिया, सुडान र सिरिया धेरै देशको गृहयुद्धको परिणाम देखिसकेकाछौ। जब भित्री शक्ति आफुमा फुट्नथाल्छ तब सलबलाउने मौका बाहिरी शक्तिले पाउछ।

फेरि कहिलेकाही संस्कृतिको जगेर्ना गर्ने होडमा अति गरेको पनि भेटिन्छ, उदाहरणको लागी “टोपी दिवस”। टोपी र जुगां पुरुषको पहिचान हो तर टोपी दिवसको दिन नेपाली महिलाहरु ढाका टोपी भादगाउले टोपी लगाएर फोटो खिच्ने होडबाजी गर्छन, यदि श्रावण महिनामा पुरुषहरुले हरियो चुरा लगाएर निस्केभने चर्को स्वर तिनै महिलाहरुको हुन्छ, त्यसैले केही गरौ तर अति चाहि नगरौं।

हामी मध्ये धेरैलाई आभाष होला संसारका कतिपय विकसित देशहरु छन, जसको आफ्नै भाषा छ र आफ्नै संस्कृति छ। त्यो भाषा र संस्कृतिको जगेर्ना गर्न उनीहरु अप्रवासीहरुलाई आकर्षण गर्ने हरप्रयास गर्छन। तर बिदेशी भाषा र संस्कृतिको अतिक्रमण हुनदिदैनन्। बरू त्यसको सट्टा उदार वैदेशिक व्यापारनीति अपनाउछन तर हामी कहा ठीक विपरित छ।

हरेक चेतनशील नागरिकको दायित्व बन्छ परिवार र समाज बदल्ने। स्वस्थ परिवारले स्वस्थ समाजको निर्माण हुन्छ र त्यही समाजले विकसित देशको निर्माण गर्छ। परिवर्तनको शुरुवात आफुबाट गरौ। एकले अर्काको भाषा र संस्कृतिको सम्मान र संम्बर्धन गरौ। जातियविभेद छोडेर, हरेक चेतनशील नागरिकमा “म मरेपनि मेरो देश बाचिरहोस” भावना पैदा होस्!

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया

प्रतिक्रिया