शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १७:१६
वासिङटन डिसी 07:31

जरुरी महत्वका कानुन निर्माण पहिलो प्राथमिकता: सभामुख महरा

इनेप्लिज २०७४ चैत ६ गते १२:२९ मा प्रकाशित

काठमाडौँ, ६ चैत । सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुन बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् । घोराही उपमहानगरपालिकाले आज (मंगलबार) आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफू जिम्मेवार रहेको बताए ।

स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो बर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुने महराले बताए ।

दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले दङ्गाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने बताए । फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको भन्दै उनले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने प्रतिवद्धता जनाए । ‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि हुने छैनन् ।’

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्व घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । समग्र दाङको बिकासमा आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरे । यसैबीच मंगलबार नै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि घोराहीमा छुट्टै कार्यक्रमको आयोजना गरी सभामुख कृष्णबहादुर महरालाई स्वागत सम्मान गरेको छ ।

प्रतिक्रिया