म अनि मेरा गोरा छिमेकीहरू :शशी बस्नेत केसी

इनेप्लिज २०७४ चैत ३ गते १०:५९ मा प्रकाशित

बिहानै देखि गाडीको आवाजले निन्द्रा खुल्यो । यसो पर्दा खोलेर हेरेको छिमेकीको सामान हाल्दै रहेछन ।लौ ! अतोपतो केही थिएन हिँडन लागेछन त बुढाबुढी भन्ने लाग्यो। नौ बर्षदेखि छिमेकी भएर बसेका जानेबेलामा बाईबाई त गर्नै पर्यो भनेर निस्किए बाहिर ।

नौ -नौ बर्ष देखिका छिमेकी , यस्तै हाराहारी ७५-८० उमेरका होलान बुढाबुढीहरू, गज्जब छ यो अमेरीकाको समाज ,न तिनीहरू कहिले मेरो घरमा आए , न कहिले म तिनीहरूको घर गएँ । को हुन्, कहाँ काम गर्थे,केटाकेटीहरू कति छन् , न तिनीहरूको बारेमा मलाई केही थाहा छ , न तिनीहरूलाई मेरो बारेमा थाहा छ । तर यो छिमेकी हुँदाको नाता रमाइलो छ । बाहिर निस्किदाँ देखेको बेला , हाई भनिन्छ , हिँऊ सफा गर्न एक अर्काको मद्दत गरिन्छ। आपत पर्दा मद्दत चाहिए हामी छौं भन्ने पनि गरिन्छ ।

म आएको नेपाली समाजबाट , हामी एकअर्काका सुख दु:खका साथी , बिबाहका जन्ति, मर्दाका मलामी हाम्रा छिमेकी त्यहा । तर यँहाको समाज नै अर्कै छ । एक अर्काको निजी ज़िन्दगी, गोप्य नै राख्न खोज्छन् ।

बाहिर निस्किए अनि जान लाग्नुभएछ भने , बुढीले भनिन हामी त बुढाबुढीहरू बस्ने “ सिनिएर सिटिजन अपाट्मेन्टमा” जान लागेको नी , अनि सोधें यो घर ? यो घर सामान सबै सारेपछि सफा गरेर बेच्न राख्ने रे , हामी धेरै बुढाबुढी भयौं , यो घर सम्हाल्न गार्हो भयो रे, अनि नौ बर्षमा कहिले नसोधेको प्रश्न केटाकेटी छैनन तपाईँहरूको ,किन त्यता जानु हुन्न भनेको त , छन नि दुई छोराहरू , एक छोरी अनि पाँचजना नातीनातीनाहरू तर सबै अमेरीकाको फरक फरक राज्यमा बस्छन् ।

उनीहरू आ-आफै व्यस्त छन् , कहाँ दु:ख दिन जानु । कहिले उनीहरू आँउछन् कहिले हामीहरू जाने भेट्न रे । हामी त यसमै खुशी छौँ ।

अनि लौ शुभकामना छ तपाईँहरूलाई नयाँ जिन्दगीको भने र लागे भित्र । हुन त हो यो ठाँऊमा नौ बर्ष अगि आँउदा ८-९ परिवारका बुढाबुढीहरू छिमेकी थिए , अहिले २-३ होलान्। जिन्दगी आ-आफ्नो हो अनि जिउने तरीका पनि आ-आफ्नै ठाँऊ अनुसार ।

हाल भर्जिनिया

प्रतिक्रिया