जहाज दुर्घटना बारे युएस बंगलाले मुख खोल्यो, काठमाडौँ एयरपोर्टलाई यस्तो आरोप

इनेप्लिज २०७४ फागुन २९ गते १३:१२ मा प्रकाशित

काठमाडौँ, २९ फागुन । सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ ।

बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको दोष दिएका छन् ।

कन्ट्रोल रुमको गलत निर्देशनका कारण जहाज दुर्घटनाग्रस्त भएको भन्दै उनले भने – ‘हाम्रो जहाजमा कुनै प्राविधिक खराबी थिएन । तर काठमाडौं टावरले गलत सिग्नल दिएपछि दुर्घटना भएको हो, चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा पाएनन्, जसका कारण अकल्पनीय दुर्घटना भयो ।’

एयरलाइन्सका अनुसार, दुर्घटनाग्रस्त बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाज क्याप्टेन अबिद सुल्तानले उडाएका थिए । उनी नेपाल उडानमा अनुभवी पाइलट मानिन्छन् ।

कोपाइलट पृथुला रसिद भने पहिलोपटक उडान गरेर नेपाल आउँदै थिइन्। तर, उनले काठमाडौँ टेक्न नपाउँदै भयानक दुर्घटना भयो । उनीहरु दुबै जनाको दुर्घटनामा ज्यान गएको छ ।

सोमबार दिउँसो सबा २ बजे भएको युएस बंगलाको जहाज दुर्घटनामा ४९ जनाको ज्यान गएको छ । २२ जनाको काठमाडौँका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया