स्वदेशी वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुन्छ : मन्त्री यादव

इनेप्लिज २०७४ फागुन २८ गते ११:५९ मा प्रकाशित

काठमाडौँ, २८ फागुन: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले स्वदेशमा उत्पादित वस्तुलाई प्रोत्साहन गरेमात्र देश विकास हुने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २४औँ साधारणसभा तथा २१औँ राष्ट्रिय महिला उद्योगी सम्मेलनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विकास नै यो सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । “अबको राजनीतिक देश समृद्धतर्फ लैजाने हुनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री यादवले सरकारले निजी क्षेत्रमा गर्नुपर्ने कामबारे योजना बनाएर ल्याउन आग्रहसमेत गर्नुभयो । उद्योग मन्त्रालय सबैसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको उहाँको भनाइ थियो । “मिडिया क्षेत्रमा समेत अनुगमन हुन्छ, अपराध गर्ने जो कोहीलाई कारबाहीको घेरामा ल्याइन्छ”, उहाँले भन्नुभयो ।

उहाँले उद्योग क्षेत्र मुलुकको आर्थिक विकासको मुख्य आधार भएको भन्दै सरकार घर घरमा उद्योग पु¥याउने प्रतिबद्धताअनुसार अगाडि बढेको स्पष्ट पार्नुभयो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले देश विकासको मुख्य आधार नै साना तथा घरेलु उद्योग भएकाले उक्त क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रका आधारभूत क्षेत्रहरु कृषि, वन, खनिज, पर्यटन, जलस्रोत क्षेत्रलाई अधिकतम प्रयोग गर्न सकेमात्र मुलुक विकास हुने भन्दै सरकारले उक्त क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा घरेलु तथा साना उद्योगमार्फत महिलालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा गहन छलफल हुने महासंघका महासचिव डम्बरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया