म, फेसवुक र महिला दिवस :शशी केसी

इनेप्लिज २०७४ फागुन २६ गते २३:३४ मा प्रकाशित

म एक बिदेशमा बस्ने नेपाली महिला । यँहाहरू सबैका जस्तै दिनचर्या हुन मेरा पनि । घर,परिवार, सुखदु:ख, काम, किनमेल, मिठो मसिनो खाने, रमाइलो ठाँउहरू घुम्ने, कहिलेकाहीँ साथीहरूको जमघटमा सरीक हुने ,अनि यसो फुर्सद मिलेको बेला फेसबुक चलाउने ।

आज महिला दिवस । अनि भाग्यले मेरो छुट्टीको दिन ! बिहान हतार हतार काममा जानु नपर्ने र अरू केही चटारो पनि नभएकोले आरामले उठें।एककप चिया बनाएर बसेँ फेसवुक हेर्न । मेरो फेसवुकमा अहिले यस्तै ५०० जना संसारभरी बसोबास गर्ने साथीहरू हुनुहुन्छ। साथीहरू : बुबा, श्रीमान, छोरा, दाजुभाई, इष्टमित्र ,छरछिमेकी ,स्कुल, क्याम्पसका साथीहरू, सर, मिस, साथीका पनि साथी , आफन्तहरू , चिनजानका आफ्ना लाग्ने कोमात्र छैनन होला र।

अरूले के कति कारणले फेसवुक चलाउनु हुन्छ थाहा भएन। मैले यो विदेशको बसाई, साथीहरू एकैठाँउमा भेटिने, दु:ख हालखबर सब थाहा पाइने हुनाले चलाउने गरेको हुँ। मेरो फेसवुकको भित्तामा धेरै जसो साथीहरूले मात्र देख्न मिल्ने गरेर पोष्ट गर्छु। मेरा पोष्टहरू समय सान्दर्भिक, सन्देशमुलक, केही समारोहमा गएको , भेटघाट, घुमेको ठाँउको, मिठामिठा आफैले पकाएका परिकारका तस्विरहरू पनि हुन्छन ।

नराम्रोलाई गाली र राम्रोको प्रशंसाका ताली पनि हुन्छन कहिलेकाहीं। यस्तै हो म र यस्तै छ मेरो फेसवुकको कथा । अनि म भ्याएसम्म र देखेसम्म जन्मदिन, वषगाँठहरूमा साथीहरूलाई शुभकामना र दु:खमा समवेदना दिने गरेको छु। नभ्याउँदा फेसवुकका सबै खाले आईकनको प्रयोग गर्छु ।

ल अब कुरा गरौँ आजको महिला दिवसको । महिला दिवस संसारभर मार्च ८ तारिख मनाइन्छ । यसो साथीहरूको फेसवुकको भित्तामा रहेका साम्रगीहरू हेर्न थाले , शुभकामनाका सन्देशहरू , कतै कुनै समारोहमा महिलाहरू अभिन्नदन गरिएका तस्विरहरू, कसैले आमाका फोटो राखेर प्रशंसाका केही शव्दहरू लेखिएको , कतै महिलाहरूलाई होटेलमा लगेर खुवाएर मनाएको पाँए , “अरू खुशी आफुपनि खुशी “ मनै हर्षले गदगद भयो। लौ समय फेरिएछ ,

महिलाहरूका महत्व बुझ्न थालेछन जस्तो लाग्यो ।

अनि यसो हेर्दै थिएँ, कसैले पोष्ट गरेको दुईवटा सामग्रीमा आँखा गए । पहिलो थियो : नेपालको पर्सामा सानी आठ बर्षको बालिका सामुहिक बलात्कारको शिकार र दोस्रो : आज महिला दिवसकै दिन एक २० वर्षीया युवतीलाई कैलालीमा बोक्सीको आरोपमा मरणाशन्नहुने गरेर कुटपिट।

कस्तो भयावह , झसँग भयो, एकछिन अगाडीको खुशी त कता गयो कता। खिन्न, दिक्क, दु:खी , रीस सबै उठ्यो । कस्तो समाज हाम्रो , कहाँ छौं हामी ।

अनि यसो सोचे आफ्ना बाल्यकाल, कलेज पढ्दाका दिनहरू सजिलो पनि कहाँ थियो र , समाज त्यही हो , छोराछोरी, महिला पुरूषको भेदभाव सर्वत्र थिए नै । फरक यति हो परिवार हेरी कतै धेरै कतै कम । तर समयसँगै हामीहरू पनि परिवर्तन हुँदै गयौं, कतै लड्दै र कतै सम्झौता गर्दै ।

कुनै दिन यी बालिकाहरूले न्याय त पाउँछन नै र पाउनु नै पर्छ । मेरो फेसवुकका साथीहरूलाई अनुरोध महिलाहरूलाई ससम्मान मान्छेहरू भएर बाँच्ने अधिकारबाट बन्चित नगरौ न। सकिन्छ सहयोग गरौं , सकिन्न बाधा सक्किन् बाधा अड्चन नगरौं ।

सबैलाई मेरो महिला दिवसको शुभकामना

शशी केसी ( हाल अमेरीका)

प्रतिक्रिया